Skip to main content

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन...

म्याग्दी जिल्लाको दुर्गम गाउँ मराङमा दुनियाँकै सर्वशक्तिमान निर्देशकको एउटा 'रियालिस्टिक' नाटकको 'क्लाईमेक्स' मञ्चन हुदैछ । नाटकको केन्द्रीय भूमिका पाएको त्यही गाउँको एउटा १६ वर्षे अल्लारे युवक ब्रिटिस आर्मीको गल्लाले लिने सबै परिक्षा पास गरेर परदेश लाग्न खुट्टा उचालेको छ । 'वर्षदिन दुःख गरेर ६ महिना खान नपुग्ने' परिवारको ऊ महिनैपिच्छे लाखौं कमाउने आफ्नो लाहुरे सपना साकार हुन लागेको देखेर फुरुङ्ग छ । केहि समय पहिले भारतीय सेनामा झूठो बोल्न नजानेर फालिएको दिनको फ्लासव्याक सम्झेर मनमनै हाँस्दैछ ऊ ।

अब त अन्तिम पटक गाउँका साईली-माईलीसँग विदावारि हुनै कर लाग्यो । वनतिर एकभारी घाँस काट्न गए मनको यो तिर्सना पुराउन सकिने भो, गोठकी कोरलीको भोक पनि मेटिने भो । निर्देशकले उसलाई हठात् अराएको छ- भार थपेर हलुका हुने अभिनय । 'क्लाईमेक्स' न हो- लामो कसरि होस् - जव पुष महिनाको चिसो दिनमा पनि खुशीले उफ्रदै घर नजिकैको अर्लीभीर पुग्छ ऊ घाँस काट्न, अनि त शुरु भैहाल्छ भयावह 'फ़लिङ् एक्शन' । भीरमा घाँस काट्दै गर्दा अचानक उसको दुवै खुट्टाले सन्तुलन गुमाऊँछन्, समाएको फुसफुसे उप्किन्छ र खस्छ धारिलो हसिया र समाएको फुसफुसे हातमै बोकेरै हरर्रर अर्लीभीरको फेदमा ।

यही भीरको फेदमा उसको मेरुदण्ड सँगै लाहुरे सपनाहरू पनि कच्याककुचुक हुन्छन्, भताभुङ्ग हुन्छन् । दुर्भाग्यवस 'फलिङ् एक्शन' लामो छ यो नाटकको । उपचार गराउने नाममा फुटीकौडि छैन उसँग । ममतामयी आमाले वर्षदिनसम्म रातदिन एक गरेर गरेको स्याहारसुसारले जडिबुटिको भरमा ऊ फेरि तङ्ग्रिएको छ, तर ढाडको चोटले कम्मरमुनिको भाग नचलेको भयावह अनि अकल्पनिय अवस्थामा !

साथीभाई अझै अर्लीभीरभरि चकचक गर्दैछन्, कति विदेस पुगिसके तर ऊ पिंढी र आगनको चारकुनामा थन्किएको छ । ज्यानभन्दा बढी मन दुखेको छ । दुःख पर्दा साथीभाई पनि पराई भएका छन् । मनको वह पोख्ने कोहि छैन उसँग आज । छ भने आफैले बनाएको एउटा मौरीवाजा छ । गीत छ आफ़्नै र रेडियो छ । घर हुँदै ओहोर दोहोर गर्ने गाउलेहरू उसले मौरीबाजा बजाउँदै गाएको सुनेर उसका बाबुलाई 'तिम्रो छोरो बौलायो, सम्झाईबुझाई गर' भन्न थालेका छन् । दुःखमाथि दुःख थपिएको छ । एउटी आमा थिइन् साहारा । तिनी पनि छिटै पक्षघातले ग्रस्त भएपछि ऊ आज सबभन्दा बढी दुखेको छ । चिच्याउन मन लागेको छ पापी अर्लीभीर गर्ल्यामगुर्लुम भत्किने गरी ।



(लोक गायक खड्ग गर्बुजा  आफ्नो प्रस्तुति पस्कदै अष्ट्रेलियाको सिड्नीमा)
 
दर्शकहरू सशक्त पटकथाको कारण मज्जाले बाँधिन्छन् र यो दुखान्त दृष्यपछि सहअनुभूतिले ओतप्रोत हुन्छन्, दुर्घटनामा आफू नै परेझै डरले आक्रान्त देखिन्छन् । कथानक साँचो अर्थमा अरिष्टोटलले भनेझैं 'विरेचन' उत्पन्न गराउन सक्षम छ ।

तर अरिष्टोटलले भनेझैं यो नाटकको अन्त्य 'अपरिहार्य दुखान्त' भने छैन । यसको पारा नेपाली छ । लाग्छ नाटकको अबको भागमा पुरानो निर्देशकको कम भूमिका छ । आफ़्नै परिश्रमले मुख्यपात्रले आफ्नो भूमिका आफै खोजेको छ । संघर्ष, सहिष्णुता, धैर्यताले गर्दा भएको सफलता प्राप्तिले गर्दा अनौठो 'आइरोनी' सिर्जना भएको छ यतिखेर ।उसको आफ्नो 'व्याकवोन' भाँचिएको छ तर काँधमा जुरुक्क बोकेको छ एउटा ईतिहासलाई र सबैलाई मोहनी लगाउने गरी भन्दैछ- 'भुईंमा धुलो छ संसारमा के छ र माया ठूलो छ ।'

सबैलाई लाग्छ एउटा युवकमा अपांगता ल्याईदिने त्यो निर्दयी घटना नभैदिएको भए हुन्थ्यो । तर नभैदिएको भए के हुन्थ्यो ? आफ्नै जीवनका उकाली-ओरालीहरू सम्झंदै गर्दा जीवनको एउटा महत्वपूर्ण घटना अझ भनौ दुर्घटना सम्झिएर लोकगायक खड्ग गर्बुजा निकैवेर टोलाऊँछन् र भन्छन् 'खै के हुन्थ्यो ?' अवश्य पनि लेखान्तको यो दुरुह प्रश्नको सहज उत्तर छैन तिनीसँग । त्रिचालिस साल पुष ८ को त्यो दिन उनको लागि के लिएर आएको थियो ? खुसी कि दुःख ? उनी अझै प्रष्ट छैनन् तर भन्छन् 'म त्यो घटनाबाट विक्षिप्त छैनँ' । यदी कसैले उनलाई यतिबेलाको जीवन र ब्रिटिस आर्मीको पेन्सन खाँदै गरेको जीवनबीच तुलना गराएको भए ह्विलचियरबाट पनि सायद उनले ढुक्कसँग भन्थे होला 'लेखान्तले मलाई राम्रै गरेछ ।' तर ति दुःखका दिन आँखाभरि सम्झदा उनले फेरि कहाँ भन्न सक्छन् र 'जे भयो ठिकै भयो ।' यतिबेला त उनी कहिले देश-विदेशमा हुने कार्यक्रमहरुमा नेपाली मनहरूलाई गाउपाखामै पुराउँछन् कतिबेला लोकगीतप्रोमी नेपालीहरूले उनलाई काधमा बोकेर धित नमरुन्जेल नाच्छन् । अझ भनौं तपाईं-हाम्रो हृदयमा बस्छन् उनी ।

त्यो दिन- जीवनका सारा संभावनाहरूको ढोका बन्द भएको त्यो बेला खड्ग गर्वुजाले घ्रिस्रिदै गएर आमाको पुरानो सन्दुकको ढोका खोलका थिए । आमाको बुलाकी चोर्न सन्दुकको ढोका खोल्दाको दिन उनैलाई पत्तो थिएन उनले एउटा नया जिन्दगीको ढोका खोलेका हुन् । यसो गर्नुपर्दा उनी दुःखी त पक्कै थिए तर साथसाथमा एउटा अठोट थियो अझ भनौं आफू र आफ्नो क्षमताप्रति बलियो आत्मविश्वास थियो । नभन्दै आमाको त्यो बुलाकी चोरेको पैसाले उनलाई आजभन्दा बीस वर्षअगाडि सदरमुकाम वेनीबजार पुग्न तीन दिनसम्म 'ओमेका बा'को पिठ्यूँमात्र चढाएन अहिले देस-विदेस पुग्ने हवाईजहाज, शीरमा थापेको सम्मान र काँधमा बोकेको ईतिहासको मूल्य चुकाएको छ । रेडियो नेपालमा गीत गाउने रहरले बाटो खर्च जुटाउन आफ्नै घर चोरी गर्दाको त्यो दिनले आजको दिनको संकेतसम्म पनि गरेको भए सायद उनले गाउने थिएनन्- 'साथीभाई हङ्कङ् र मलाय, यो मनमा हुण्डरी चलाए ।'

चारदिन लगाएर मराङ्देखि 'ओमेका बा'को पिठ्यूमा दरवाङ्, बावियाचौर, तातोपानी हुँदै वेनीबजार पुग्दा काठमाडौंको रेडियो कति दिनको बाटोमा छ? खर्च कति लाग्छ ? उनी वेखवर थिए । तर चार महिना वेनीका चोकहरूमा र एक महिना बागलुङ बजारको चोकहरूमा मौरीवाजा बजाउदै गुनुगनाएको पारिश्रमिकले उनी पुगेका हुन् आफ्नो जीवनको दुर्लभ लक्षसम्म । रेडियो नेपालको चौतारि' कार्यक्रममा काजी शेरचनको 'दशभाई छोरा घरैमा अटाउनी, एउटी छोरी नौडाडा कटाउनी' गीत रेकर्ड गराएर सर्टवेभको फ्रिक्वेन्सीमा आफ्नो आवाज सुन्दाको दिन उनलाई 'म यस दुनियाकै ठूलो मान्छे बनें' जस्तो लाग्यो रे । हुन पनि यत्रतत्र सर्वत्र हिन्दी गीतको एकछत्र राज भएको बेला नेपाली लोकगीतलाई एउटा नयाँ उचाईमा पुराएर उनी साच्चै ठूलो मान्छे बने ।

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन । २०४७ सालमा रेडियो नेपालको स्वर परिक्षा उत्तिर्ण भएपछि दुईदर्जनबढी लोकगीतका एल्वमहरूमा ऊ सालैजो, सोरठी, मारुनी, कौरा र लोकदोहोरी बोकेर अगाडि बढिरह्यो । नाटक अझै सकिएको छैन । बाँकी भाग काठमाडौंमा रेडियो नेपालको स्थायी जागिरका साथमा वर्षौं चलिरहने छ । यो जिन्दगी के रहेछ त भनेर हामीले सोध्दा उनैले भनेका हुन् 'जिन्दगी त नाटक हो, माथी बसेको दुनियाको सर्वसक्तिमान निर्देशकको अगाडि हामी कठपुतली पात्र मात्रै ।'

(करिव ३ वर्ष अगाडि नेपाली कला तथा साहित्य प्रतिष्ठानको एउटा कार्यक्रमका लागि सिड्नी आएको बखत लोकगायक खड्ग गर्वुजासँग गरेको कुराकानीमा आधारित)

Comments

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...