Skip to main content

टाउके, मोदी र नेपाली राजनीति

पर्वतका गणेशकुमार एकवारको जिन्दगीमा मैले भेट्न पाएका एकजना अद्भूत चित्रकार हुन् । मोफसलमा रमाएका यि मनुवा छन् अचम्मका र चित्र आफूभन्दा पनि अचम्मका बनाउन सिपालु छन् फेरि । तर हेर्दा लाग्छ– यिनलाई विहान कस्तो हुन्छ थाहा छैन । हुन त म विदेसिएको पनि वर्षौं भयो । यिनले झुल्के घामको चित्र बनाएको मैले देखेको छैनँ । यिनी अस्ताउन आँटेको घामको चित्र बनाउँछन् । पहेंलो पात भएको विरुवाको चित्र बनाउँछन् । सुनौलो क्षितिज ढाकेको कालो वादलको, साँङ्लोमा बाँधिएकी इन्द्रियहीन पारिजातको, दशरथको ठेडि खुस्केको रथको, आकाशजेलीले जेलिएको टाउकोको एस्तैएस्तै ।

हुन त अस्ताएपछि भोली अवश्य उदाउँछ घाम । पात पहेंलिएर झरेपछि न आगमन हुन्छ अर्को हरियालीको ।

क्याम्पस पढ्दाताकाको कुरा । एकदिन अचानक भयानकसँगले लिपपोत गरिएको एउटा ठूलै क्यानभास कवी भवभिन्नको कोठाको भित्तामा तुर्लुङ्गियो । तलपट्टिको कुनामा दायाँतिर अंग्रेजीमा सेतो रङ्ले गणेशकुमार लेखेको सिवाए केहि बुझे मार्दिनू । गणेशकुमार नाम चलेका चित्रकार । उनको नाम देखेपछि मेरो मोटावुद्धिले त्यो चित्रको अर्थ खोज्न थाल्ने नै भयो । आफू परियो सुन्तला पनि अरुले छोडाएर दिए खाने । त्यो चित्र त झन् मलाई जति हेर्छु उति हाडे ओखरजस्तो लाग्न थाल्यो । जति टाउको ठोके पनि फोर्न सके पो ! अचम्म छ– रुचि फेरि किन लाग्छ कुन्नी मलाई?



source: yearofmagicalpainting.blogspot.com.au. This is not the painting which is mentioned in this article.
त्यैबेला भवभिन्न भने ठूलै ह्वाईट पेपर, पेन्सिल र रुलरसँग लडिरहेका थिए । भन्थे– ‘समानान्तर रेखाहरु एकापसमा ठोकिने विन्दु खोज्दैछु !’ केहिवेरपछि भने चित्र हेर्दाहेर्दा असिनपसिन मेरो थोपडामाथि दया गरेर उनले भने– ‘चित्रमा ठूलो गर्जन निकाल्दै एउटा भयानक टाउको भूमरिबाट बाहिर निस्कँदै छ, स्वतन्त्र हुँदैछ त्यो । यस्तो लाग्छ कि उसले भर्खर कुनै भिषण युद्ध बाँच्यो ।’ पछाडिबाट अरुण बोल्यो– ‘होईन होईन त्यो टाउको त डुब्दैछ नि ! हेर्नुस् न उ घाँटिसम्म त डुबिसक्यो ।’ म अक्क न बक्क । बुझ्नेले के के बुझिसकेछन् । मलाई खुर्पाको विँड । क्यै देखे पो !

त्यस्तै ‘खुर्पाको विंड’ मेरो लागि राजनीति पनि हो । कसको दाउपेच के हो म जानिटोपलिन चाहन्नँ । देसमा भर्खरै सम्पन्न भएको सार्क शिखर सम्मेलन सेरोफेरोमा भारतका प्रधानमन्त्री निकै चर्चामा रहे । तिनका एकेक वोली र भावभङ्गी मुख्य समाचार भए । मोदी नाम चलेका राजनीतिज्ञ भए । उनी मेरा लागि गणेशकुमार भए ।

मोदीका पक्ष–विपक्षमा लेखहरु छापिन्छन् । कसैलाई मोदीवाणी अमृत लाग्छ, ‘रकस्टार’ लाग्छन् उनी । अर्काथरिलाई फेरि उनले हाम्रो देशको सार्वभौमिकतामाथि नै क्रूर औला ठडाएजस्तो लाग्छ । लाग्छ त लाग्छ, कसैलाई डुव्दैछ जस्तो लाग्छ, कसैलाई उत्रदैँछ जस्तो लाग्छ । ठ्याक्कै भवभिन्नको कोठाको भित्तामा झुण्डिएको गणेशकुमारको ‘टाउके’ चित्रजस्तो मोदीवाणी ‘अभिव्यक्ति-चित्र’ बनेका छन्, बनाईएका छन् ।

शार्क शिखर सम्मेलनको भिभिआईपि परिदृश्यमा एकजना मजस्तै मान्छे पनि देखिए । लौन ! मेरा कुनैकुनै वानी त निकै ठूला मान्छेसँग पनि मिल्दा रैछन् गाँठे । फरक यत्ति हो यही वानीका कारण म सार्क शिखर सम्मेलन परदेशवाट हेरिरहेछु । अचम्म छ– रुचि किन लाग्छ कुन्नी मलाई? पाकिस्तानी प्रधानमन्त्रि नवाज सरिफ एकजना मात्र मान्छे हुन् जसलाई यो मोदीवाणी ‘खुर्पाको वींड’ लाग्यो । लागेको हुनुपर्छ । तर मलाईजस्तो नबुझेर होईन, उनले देखे नै ‘खुर्पाको वींड’ । मैले यस्तै देखेको हो ।

एउटै छिमेकमा होईन, एउटै छानोमुनी होईन, एउटै टेवलमा पनि होईन, एक पाईलाको दुरिमा आमनेसामने हुँदा हातसम्म नमिलाएर पनि कुटनीति हुँदो रहेछ त । देसको राजनीति आफ्नो पकडमा राखी छिमेकमा कार्यक्रम हुँदा एउटै मञ्चमा समानान्तर आसनमा बस्न सकिंदो रहेछ त । चुरो कुरो त अरु को हो भन्दा पनि आफूले कसरि हेर्ने भन्ने कुरा पो रहेछ त ।

नेपाली राजनीतिमा विस्तारवाद, औपनिवेसिकरण, रिमोट–कन्ट्रोल, विखण्डन आदी पदावलीहरु सुपरहिट छन् । आजको विश्व परिवेशमा मेरा मोटा वुद्धिले मोदीले सिमानामा अर्को काश्मिर र छिमेकमा अर्को पाकिस्तान सिर्जना गर्न सक्छन् वा चाहन्छन् जस्तो पटक्कै लागेन । आफ्नो देशको भूराजनैतिक अवस्थालाई कसरि देश र जनताको हीतमा सदुपयोग गर्न सकिन्छ भनेर सोच्नु त असल नेताको गुण हो । हाम्रा शुशील दा’ले त्यसो गर्न नसेको भए हामीले उनीमाथि गर्व गर्ने थियौं ।

एउटा सत्य त यो हो कि– स्वविवेकलाई अरुकै दृष्टिकोण र कुनै स्वार्थले किच्दा आफ्नो आँखाले देखेको देखिँदैन । अरुले देखाएको देखिन्छ । अनि हामीले निकालेको निष्कर्षमा सत्यको निकै थोरै मात्र अंश उजागर हुन्छ । खासमा त यो पनि हो, त्यो पनि हो, सवै हो । मान्छेको लागि एउटा सुन्दर अनि घमाईलो दिनको व्याख्या नाकको डाँडिमा अडिएको चश्माले फरक पारिदिन्छ । ठ्याक्कै गणेशकुमारको त्यही अमूर्त चित्रमा मैले पनि पछिपछि मान्छेको टाउको देखेजस्तै ।

हो समय वित्दै जाँदा मैले पनि त्यो क्यानभासमा एउटा मुख भयंकरसँग आँऽऽऽ पारेको मान्छेको टाउको देख्न थालें । तर मलाई भने त्यो भवभिन्नले भनेजस्तो विजयभावी पटक्कै लाग्दैनथ्यो, न त अरुणले भनेको जस्तो निराश नै लाग्थ्यो । त्यसका आँखा सारै भयभित थिए । कायर थिएनन् । तर निकै तर्सिएर भाग्न खोजेजस्ता थिए ।

एकदिन म मेरो छिमेकी अंकललाई सागर पुराएर आएपछि त मैले त्यसको आँखाबाट अचानक रगतका आँसु वगिरहेको देखें । अंकल निकै मायालु, इमान्दार र हट्टाकट्टा जवान हुनुहुन्थ्यो । वेरोजगार । अंकलले अराएर निदाएकी आमाको आँखा छलिछली मेरा कलिला हातहरुले गाउँका सेता छपनीहरुमा रगत रङले ‘किलो शेरा तू वन्द गर ।’, ‘वीर शहिद लाल सलाम ।’ ‘प्रहरी दमन मूर्दावाद ।’ लेखेको झल्झली सम्झना आउँछ ।

एउटामात्र कुरा थाहा थियो मलाईं– मेरा अक्षर अरुकाभन्दा राम्रा छन् ।

अंकल भने पछि शाही नेपाली सेनामा भर्ती हुनुभयो । सिन्धुलीतिर गस्ती जाँदै हुनुहुन्थ्यो रे । एम्वुसमा परेर कम्मरभन्दा माथिको भागमात्र भेटियो भन्यो रेडियोले । अंकलले वीरगती प्राप्त गर्नूभो । घरै वसेको भए सायद हताहत हुनुहुथ्यो होला । लाग्यो वाचाल गणेशकुमारले त्यो सबै देख्छ घरै बसिबसी ।

पछि मैले एउटा भेटमा स्वयम् चित्रकारलाई नै सोधें– त्यो चित्रमा आखिर के छ ? तिनले तुरुन्त भने– ‘एउटा मान्छेको टाउकोजस्तो छ ।’ ‘कसरि बनाउनु भयो एस्तो मान्छेपिच्छे अनुहारको भाव फेर्ने अद्भुत् टाउको ?’– मैले सोधें । एकछिन लाटो हाँसेजस्तो सवैकुरा विर्सिएर हाँस्यो गणेशकुमारको वास्तविक टाउको । मलाई चक्कर आयो । तुरुन्त फेरि सोधें– किन हाँसेको यसरी ? गणेशजी आज्ञा गर्नुहुन्छ– हे मुर्ख मनुष्य ! त्यो त मैले कवी भूपी शेरचनको टाउको बनाउन सुरु गरेको बेला मेरो छोराले रङ् छ्यापिदिएपछि विग्रिएको क्यानभास हो । पछि छोरीले पनि निकै प्य्राक्टिस् गरिन् त्यसमा । म डेरा सर्न पर्ने भएकोले मेरा सामान भवभिन्नको कोठामा राख्न पठाएको हुँ । त्यहाँ त क्यै पनि छैन !’

परेन फसाद? सोच्छु– सायद त्यहाँ केहि थिएन । एउटा प्रभावशाली चित्रकारको सिग्नेचर भएको चित्र देख्नासाथ हामीले आफै आफूअनुकूलको अर्थ पो बनाएका रहेछौं । बनाउन खोजेका रहेछौं । ठ्याक्कै मोदी र हामीजस्तै ।

धेरै पछिसम्म पनि त्यो क्यानभासमा गणेशकुमारको टाउको उत्पातसँग हासिरह्यो मलाई गिज्याएर ।

तर त्यो ‘टाउके’ आजभोली मसँग फेरि रगतको आँसु रुन्छ । मेरो अंकलको आलो रगत पाखाका सेता छपनीहरुमा निर्मम् छरिएको देख्छु चित्रभरि । हरिया बाँसका आँख्लाहरुले घोटेर मेरो काँध आलोआलो चस्किन्छ । वेनीवजारको खुल्लामञ्चमा प्रलयकारि गर्जन गर्दै वसेको त्यो नीलो हेलिकोप्टर, डुविसकेको घामको किरणले रक्तिम भएको म्याग्दी र काली खोलाको तरल तरङ्ग, रुँदै किनारमा पुगेका ति क्षण । अहो ति निष्पट रातहरु !

अरुणले त्यो टाउको अझै डुविरहेको देख्दो हो कि ? उसको भोगाई के भन्दो हो अचेल ? भवभिन्न जस्तोसुकै अवस्थामा पनि आशा सञ्चार गर्नसक्ने मान्छे । तिनले अझै पनि त्यो निस्कन्छ भूमरिबाट भन्दा हुन् कि अरुणपथमा पुगे होलान् तर विर्सन त कसरि सके होलान् र ?

हो हामी सबैसँग यस्तै विर्सन नसकिने थोरै मिठा धेरै तिता स्मृतिहरु छन् विगतका केही वर्षका । हाम्रो वर्तमान तिनै स्मृतिहरुबाट निर्देशित छन् । हामी सवैले विर्सनु पर्ने छ स्मृतिका तिताहरु । मुल्यांकन गर्नुछ कसैको चश्मा लगाउँदा आफ्नो आँखाको निर्णयक्षमता गुमाएका पराधिन क्षणहरु । तव पो भएको कुरा छ, नभएको छैन भन्न सकिएला । आफ्नो बाटो देखिएला । नत्र यो अमूर्त चित्र हाम्रो घरको भित्ताभित्तामा झुण्डिएर हाम्राबीच मतभेद सिर्जना गरिहनेछ अनन्तकालसम्म । नत्र त हामीले कसरि लेखौंला र पोहोर नलेखिएको संविधान एसपाली !


- bikram.bibas@gmail.com

Comments

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन...

म्याग्दी जिल्लाको दुर्गम गाउँ मराङमा दुनियाँकै सर्वशक्तिमान निर्देशकको एउटा 'रियालिस्टिक' नाटकको 'क्लाईमेक्स' मञ्चन हुदैछ । नाटकको केन्द्रीय भूमिका पाएको त्यही गाउँको एउटा १६ वर्षे अल्लारे युवक ब्रिटिस आर्मीको गल्लाले लिने सबै परिक्षा पास गरेर परदेश लाग्न खुट्टा उचालेको छ । 'वर्षदिन दुःख गरेर ६ महिना खान नपुग्ने' परिवारको ऊ महिनैपिच्छे लाखौं कमाउने आफ्नो लाहुरे सपना साकार हुन लागेको देखेर फुरुङ्ग छ । केहि समय पहिले भारतीय सेनामा झूठो बोल्न नजानेर फालिएको दिनको फ्लासव्याक सम्झेर मनमनै हाँस्दैछ ऊ । अब त अन्तिम पटक गाउँका साईली-माईलीसँग विदावारि हुनै कर लाग्यो । वनतिर एकभारी घाँस काट्न गए मनको यो तिर्सना पुराउन सकिने भो, गोठकी कोरलीको भोक पनि मेटिने भो । निर्देशकले उसलाई हठात् अराएको छ- भार थपेर हलुका हुने अभिनय । 'क्लाईमेक्स' न हो- लामो कसरि होस् - जव पुष महिनाको चिसो दिनमा पनि खुशीले उफ्रदै घर नजिकैको अर्लीभीर पुग्छ ऊ घाँस काट्न, अनि त शुरु भैहाल्छ भयावह 'फ़लिङ् एक्शन' । भीरमा घाँस काट्दै गर्दा अचानक उसको दुवै खुट्टाले सन्तुलन गुमाऊँछन्, समाएको फु...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...