Skip to main content

अष्ट्रेलिया आउनुअघि...

धैरै पहिलेदेखि यो विषयमा लेखौंजस्तो लागिरहेको थियो । आफ्नो भोगाईबाहेक अरु विज्ञता नभएको विषयमा जान्ने टोपलिनु राम्रो हैन कि भन्ने सोंचले हात बाँधिरह्यो । लेख विषेश गरी हाम्रा युवापुस्ताको लागि हुने भएकोले मैले दिने सूचनाहरू आजको स्मार्ट पुस्ताले कहीँ न कतैबाट लिएको छ भन्ने सोचाईले पनि जाँगरलाई थिचिरह्यो । तर आफूले सोचिरहेको विषयमा एकपछि अर्को दुखद् समाचारहरू आईरहँदा मैले लेख्दा एकजनामात्र लाई पनि सहि बाटो देखाएछ भने लेख्नुको सार्थकता हुनेछ भन्ने सोंच आएपछि केही लेख्न थालेको छु ।

हामी नेपालीहरू विभिन्न तौरतरिका अपनाएर अष्ट्रेलिया छिरेका छौं । यो लेख यहाँ पढ्न आउनेहरूको वारेमा केन्द्रित छ ।


Photo Source: www.isamigrations.com

देशमा ठूल्ठूला राजनैतिक परिवर्तनपछि केही आशाका किरणहरू देखिए पनि दशवर्षअघि म विदेशिँदाको समय र अहिलेको समय खासै फरक देखिदैन र उस्तै छ स्मार्ट भनिएका युवापुस्ताको सोंच र अवस्था । म जसरि दशकअगाडि विदेश आएँ, त्यसरि नै दिनानुदिन युवाहरू जहाज चढिरहेका छन् । अन्य देशका समस्याहरूसँग म परिचित छैन । फरक देशमा फरक समस्याहरू हुन सक्छन् । म विशेष गरी अष्ट्रेलियाको चर्चा गर्न चाहन्छु । नेपालको सरकारि तथ्यांक र विषयवस्तुमा पनि अष्ट्रेलिया, अमेरिका या अन्य ठूला भनिएका मुलुकमा जानेहरूलाई वैदेशिक रोजगारिका लागि विदेशमा गएकाहरूको तथ्यांकमा समेटिँदैन जस्तो लाग्छ किनकि उनीहरू कामदार भिषाभन्दा पनि विद्यार्थी या त्यस्तै अन्य भिषामा त्यहाँ पुगिरहेका हुन्छन् ।

३ महिनाअघि एकजना नाता पर्ने वहिनीलाई पिक गरेको थिएँ मैले विमानस्थलबाट । उनी भन्दै थिइन् हाम्रो प्लस टू यसपालि २३ जनाले पास गरेकोमा १८ जना अष्ट्रेलिया आएका छन्, ३ जना युएस गए र बाँकी २ जनाले क्यानडाको प्रोसेस गरिरहेका छन् । यो हो देशको वर्तमान अवस्थामा युवाको मनस्थिति । सरकार र अभिभावकले पनि अष्ट्रेलियामा हुनुलाई गौरवको विषय मान्छन् । तर म भने यस्तो नभैदिए हुन्थ्यो भनेर भगवान्को नाम लिँदै अवको केही वर्षपछिको नेपाली युवाहरूको अवस्थाको वयान गर्न चाहन्छु ।

हामीलाई नेपालबाट विदेश हिँड्दा जसरी हुन्छ विदेश टेक्न पाए हुन्छ । जेसुकै भिषा होस् । जस्तोसुकै अवस्था आओस् । त्यहाँ हुन्जेल हामीले पटक्कै सोच्दैनौं । म विदेश पुगेपछि के गर्छु? एउटै सोच हुन्छ सवै त गएका छन्, तिनीहरूले जे गरे म पनि त्यही गर्छु । यो कसैलाई दोष दिएको हैन । म पनि आएको त्यसरि नै हो । विदेशमा आएपछि यही कारणले दुर्घटनाहरू निम्तिन्छन् । यसले गर्दा देशबाट असिमित पूँजी विदेशिन्छ, युवाहरूको अमूल्य समय खेर जान्छ र हातमा न धन न सीप हुन्छ ।

एकजना विद्यार्थीलाई अष्ट्रेलिया किन जान लागेको भनेर सोध्ने हो भने उसको उत्तर हुन्छ पैसा कमाउन । सवै कुरा यहीँबाट विग्रन्छ । एकाधबाहेकले सस्तो फि भएको, सकेसम्म पढ्न जान नपर्ने, सजिलोसँग जाँच पास गर्न सकिने कलेज कुन् छ त्यही रोज्छन् । यहाँ आएपछि पनि पढ्नुभन्दा काममा व्यस्त हुन्छन् जो वाध्यता पनि हो । काममा नजोतिए सस्तो भनिएका कलेको फि पनि तिर्न हम्मेहम्मे हुन्छ । त्यसमाथि नेपालको व्यवहारिक समस्या त छँदैछ । यसो गरि नै लभगभ ३ देखि ५ वर्ष सकिन्छ । काममा जोतिँदै पढ्दै गर्दा ४ वर्ष पार गरेपछि विद्यार्थीले आइएलटिएस्मा इच व्याण्ड ६ ल्याएको खण्डमा १८ महिनाको लागि टिआर उपलव्ध हुन्छ । सो समयमा फुल टाईम काम गर्न मिल्छ । त्यसपछि पिआरको लागि प्रोसेस गर्न मिल्छ । हिजोआज पिआरको प्रोसेस यति गाह्रो हुँदै गएको छ कि औसत विद्यार्थीले पिआर पाउने कल्पना पनि नगरे हुन्छ । यस्तो परिस्थितिमा अवको केही वर्षपछि अहिले जसरि युवाहरू परदेसिएका छन्, त्यसरि नै नेपाल फर्कंदै छन् । फरक यत्ति हुनेछ, एतिबेला विदेश लाग्दा झूठै भए पनि जोश, जाँगर, उमंग लिएर हिँडेका छन् भने फर्कंदा निराश, अल्छि र थकित भएर फर्कने छन् ।

यस्तो भनिरहनुको मसँग आधारहरू छन् । जबसम्म नेपालबाटै म यस्तो शैक्षिक सँस्थामा गएर यो सीप हाँसिल गर्न अष्ट्रेलिया जाने हो भन्ने स्पष्ट सोंचका साथ विद्यार्थीहरू यहाँ आउँदैनन् तवसम्म यहाँ आएर उनीहरूले केही पनि सिक्नेवाला छैनन् । प्रत्येक वर्ष युनिभर्सिटी पास गरेका कति प्रतिशत इन्टरनेशनल स्टुडेन्टहरू सोही क्षेत्रमा जागिररत छन् भन्ने त्यस्तो सरकारि तथ्यांक त छैन तर म यो दावीका साथ भन्न सक्छु कि औसत नेपालीहरूले पढ्ने कलेजहरूबाट पास भएका अधिकाँश विद्यार्थीहरू उनीहरूले पढेको क्षेत्रमा जागिर गरिरहेका छैनन् । उनीहरूले अन्य कुनै अनस्किल्ड जव नै गरिरहेका छन् । यसको मतलव उनीहरूको पढाईले आवश्यक सीप, दक्षता र आत्मविश्वास उनीहरूमा भर्न सकेको छैन । भन्दा नराम्रो लागे पनि वास्तविकता यही हो । र यो अष्टेलियन सरकारलाई थाहा पनि छ । तितो यथार्थ त के हो भने हामी जसरी कामदारको रुपमा यहाँ आउन चाहेका छौं, त्यसरि नै यहाँको सरकारले कम खर्चमा अझ भनौं उल्टो शूल्क तिराएर यहाँको उद्योग धन्दा चलाउनको लागि अध्ययन भिषाको व्यापार गरिरहेको छ ।

पढाई सकिएपछि पनि जो मेहनती छ, मेधावी छ या अलि ट्यालेन्ट छ उसले पिआरको लागि सर्त पुरा गर्न सक्ने भएकोले उ यतै अल्झिन्छ । जसले तोकेको सर्त पुरा गर्न सक्दैन उ कि त गैरकानूनी रुपमा वस्न पर्छ कि त बसुन्जेल विद्यार्थी भिषा नवीकरण गर्दै बस्नु पर्छ । यस्तो अवस्थामा १० वर्षपछिको नेपालको अवस्था कस्तो होला त? अहिले जसरि प्लेनका प्लेन युवाहरू विदेश हिँडेका छन् त्यसरि नै १० वर्षपछि पराजित मानसिकता बोकेर, कमाएको केही पैसा युनिभर्सिटिलाई तिरेर, हातमा कुनै सिपविना, असाध्यै गर्न सके एउटो घर या घडेरि जोड्को लागि आफ्नो जीवनको सवैभन्दा उर्जावान समय विदेसमा विताएर, विदेशको रहन सहनले विग्रिएको वानी लिएर जव युवाहरूको हुल स्वदेस फर्कने छ त्यतिबेलाको परिस्थिति अहिलेको भन्दा साह्रै भयावह हुनेछ । यो परिस्थिती बदलिनु आवश्यक छ ।

मेरो आशय अष्ट्रेलिया आउन चाहने भाईवैनीहरूलाई निराश बनाउनु कदापी होईन तर कृपया विद्यार्थी भिषामा पढ्न नै आउनुस् । सस्तो, सजिलो कलेजभन्दा पनि आफूलाई मन परेको विषय पढ्नैको लागि आउनुस् । दुईचार वर्ष कमाउनभन्दा पनि सिप सिक्न आउनुस् जसले पढेर सकेपछि सोही क्षेत्रमा तपाईंलाई रोजगार दिन सकोस् र भोली स्वदेस फर्किएपछि पनि विदेशमा आर्जन गरेको ज्ञान काम लागोस् । यस्तो हुन सक्यो भनेमात्र यहाँको परवासी नेपाली समुदायको इज्जत पनि जोगिने छ र देशलाई पनि फाईदा हुनेछ ।

यहाँका कलेहरू बन्द भएर विद्यार्थीहरू अलपत्र परेका घटनाहरू पनि यही मानसिकताको उपज हुन सक्छ । तर यो विषयको म विज्ञ होईन । यस्तो विगतमा पनि भैसकेको छ तर नियम कानून भएको भनिएको यो देशमा कसैलाई त्यत्रो ठुलो अन्याय होला जस्तो लाग्दैन । यसको हल पक्कै पनि निस्कने छ । उसो त इन्टरनेशनल स्टुडेन्ट अष्टेलियन सरकारको आम्दानीको ठूला मुख्य श्रोतहरूमध्येको एउटा भएकोले पनि सरकारले यो व्यवसायको नक्कली साख घट्न नदिन पक्कै कदम चाल्ने नै छ ।

यो बाहेक पनि विद्यार्थीहरूको दैनिक जीवनमा आउने समस्याहरू पनि विकराल छन् । हामी विदेश नआउँदासम्म सामान्य घरायसी काम पनि जानेका हुँदैनौं । घर सफा गर्ने, भाँडा माझ्ने ढंगसम्म पनि हुँदैन हामीसँग । अंग्रेजी भाषामा दक्षता हुँदैन । यस्तोमा विदेशमा कस्तो काम पाईएला? धेरै पहिलेको कुरा हो भर्खर नेपालबाट आएका एकजना भाई भन्दै थिए- भाँडा माझ्ने काम त नगर्ने । मैले सोधें उसो भए तिमीलाई के काम गर्न आउँछ? उनले केही उत्तर दिन सकेनन् । जव हातमा सिप छैन जस्तोसुकै काम भए पनि गर्नुपर्ने हुन्छ । यस्तो परिस्थितीले कतिमा निराशा पलाएको पनि देखेको छु मैले ।

कामदार भिषामा विदेश जानु र विद्यार्थी भिषामा विदेश जानु नितान्त फरक कुरा हुन् । कामदार भिषामा जाँदा सामान्यतयाः गर्ने काम, खानेबस्ने ठाउँ, तलव आदि पहिले नै तोकिएको हुन्छ । तर विद्यार्थी भिषामा विदेश जानु भनेको कुनै दुरदराजको गाउँबाट एउटा गरीव युवक काठमाण्डौंको महंगो नीजी कलेजमा पढ्न आएजस्तै हो । काम, कोठा, पढाई, पढाईको शूल्क, घर व्यवहार सबै आफै सम्हाल्नु पर्ने हुन्छ । यस्तो अवस्थामा विदेश जाँदा जहाँसुकै गए पनि तत्काल र दुई चार वर्षको लागि योजना नबनाई ठूला सपनाहरू बोकेर हिँडियो भने दुर्घटना हुनेछ । यो कुरा आजको युवापुस्ताले र अभिभावकले आत्मसात् गर्न अत्यन्त जरुरि छ । कमसेकम आफूले प्रयोग गरेको कन्सलटेन्सीलाई आफूलाई देखाएको कलेज कस्तो हो? पढेर सकेपछि के के सीप सिकिन्छ? उक्त सीप अष्ट्रेलियाका सरकारको पिआर लिष्टमा छ कि छैन? जस्ता आफ्ना सरोकारका विषयहरू प्रष्टरुपमा सोधेर आउन सक्यो भने पनि त्यसले भविष्यमा हुने दुर्घटना र निराशाबाट बच्न सकिन्छ ।
ooo

Comments

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन...

म्याग्दी जिल्लाको दुर्गम गाउँ मराङमा दुनियाँकै सर्वशक्तिमान निर्देशकको एउटा 'रियालिस्टिक' नाटकको 'क्लाईमेक्स' मञ्चन हुदैछ । नाटकको केन्द्रीय भूमिका पाएको त्यही गाउँको एउटा १६ वर्षे अल्लारे युवक ब्रिटिस आर्मीको गल्लाले लिने सबै परिक्षा पास गरेर परदेश लाग्न खुट्टा उचालेको छ । 'वर्षदिन दुःख गरेर ६ महिना खान नपुग्ने' परिवारको ऊ महिनैपिच्छे लाखौं कमाउने आफ्नो लाहुरे सपना साकार हुन लागेको देखेर फुरुङ्ग छ । केहि समय पहिले भारतीय सेनामा झूठो बोल्न नजानेर फालिएको दिनको फ्लासव्याक सम्झेर मनमनै हाँस्दैछ ऊ । अब त अन्तिम पटक गाउँका साईली-माईलीसँग विदावारि हुनै कर लाग्यो । वनतिर एकभारी घाँस काट्न गए मनको यो तिर्सना पुराउन सकिने भो, गोठकी कोरलीको भोक पनि मेटिने भो । निर्देशकले उसलाई हठात् अराएको छ- भार थपेर हलुका हुने अभिनय । 'क्लाईमेक्स' न हो- लामो कसरि होस् - जव पुष महिनाको चिसो दिनमा पनि खुशीले उफ्रदै घर नजिकैको अर्लीभीर पुग्छ ऊ घाँस काट्न, अनि त शुरु भैहाल्छ भयावह 'फ़लिङ् एक्शन' । भीरमा घाँस काट्दै गर्दा अचानक उसको दुवै खुट्टाले सन्तुलन गुमाऊँछन्, समाएको फु...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...