Skip to main content

कथा- ...मेरो उठ्ने पालो

दिनभर हिँडेर कहिँ पुगिएन । जिन्दगीलाई रिज्यूमीमा खुम्चाएर क्याफे, होटल, रेष्टूराँ र कम्पनीका लकरहरूमा फाईलिङ् गरिरहें । महिनौं बितिसके यसरी । सयौं कपी बनिसके जिन्दगीका आजसम्म । लेखाजोखा छैन– कति प्रति जिन्दगीहरू रिसाईकल वीनमा आँसु चुहाइरहेका होलान् । केहि नखोजेर पनि खोजेजस्तो, केहि जानेर पनि नजानेजस्तो, बथान हराएको भेडोजस्तो यो शहर कैलेसम्म चाहार्ने होला मैले?

मध्यान्हको चर्को घाम छलेर वोटानिक गार्डेन छिरेपछि मेरा निस्तेज आँखाहरूले अलि उर्जा प्राप्त गरे । थोरै राहतको अनुभूति भयो । अब पलभरको लागि भए पनि आँखाभरि समुन्द्र हेरेर चिसो हावासँगै कल्पनाशून्य टोलाउँदा मैले जीवनका सारा दुःखहरू बिर्सन सक्थें । परिचितहरूको भिड छलेर पाखा लागेपछि मैले कसैसँग लाज मान्न पर्दैनथ्यो । मैले निर्धक्क आफूलाई रुझाउन सक्थें, सुकाउन सक्थें । लुकाउन सक्थें, फुकाउन सक्थें । तर आज लामो समयसम्म दिमागमा कुराहरू पोको परिरहे, गुजुल्टिरहे । निदाउँदै-व्यूझिँदै गरेर देखेको विश्रृङ्खलित सपनाजस्तो कुन फेद हो, कुन टुप्पो हो टुङ्गो लगाउनै सकिनँ । जिन्दगीको श्रृङ्खला भत्किँदै जाँदा सपनाको श्रृङ्खला चुलिँदै जाँदोरहेछ । मान्छे यही भएर दुःखमा पनि बाँच्छ सायद । सपनाहरूको लागि बाँचिरहेछु म पनि ।

वोटानिक गार्डेनभित्र फूलहरू हिजोजस्तै गरेर फुलेका थिए । तर आज तिनै फूलहरूलाई अनौठो गरी हेर्न मन लागेर आयो । फूलहरूले मलाई अनौठो गरेर हेरिरहेका छन् जस्तो लाग्यो । मैले त थाहै पाईनँ कतिबेला मेरी बैनीले ति फूलहरूको माला बनाई र पहिराईदिई गलाभरि । उसैले कानमा तेल राखिदिएपछि पो व्यूझिएँ । व्यूझँदा फूलहरू वोटमै थिए । मेरो निधार खाली थियो । मेरो गला उजाड थियो । म उदास थिएँ । नभैदिएको भए हुन्थ्योजस्ता लाग्ने धेरै कुराहरू थिए त्यहाँ तर हुनपर्ने तिहार थिएन । म नराम्रोसँग निचोरिएँ । सोचें– यसपालीको तिहार जसरी पनि बहिनीसँगै मनाउनुपर्छ ।

फेरि अचानक अनौठो झोक्का आयो हावाको समुन्द्रतिरबाट । रुखबाट हरिया पातहरू एकाएक गरी सबै खसे र पहेंला बने । ति रित्ता रुखहरूलाई मेरी आमाले देखे के भन्दिहुन् ? मैले भने ति रुखहरूमा आमाको आकृति देखेर हैरान भएँ । खैरेहरूले झरेका पातहरू र मलाई उस्तैउस्तै देखे हुनन् । तर म रुखको फेदभन्दा निकै टाढा पो छु । रुखकै फेदमा पहेंलिन पाउने पात दखेर मलाई इश्र्या लाग्यो । निकै पर भूमरिमा घुम्दै गरेको पहेंलो पात यूके पुगेको मेरो भाइजस्तै देखियो । ढिपी नपुगेर रिस उठ्यो । समुद्रको छालभित्र रिसाएको मेरो प्रतिछाया झन् नागवेली परेर नाचेको जस्तो पो देखियो । अचम्म ! मेरो परिचय नै विग्रने गरी यो कस्तो छाल आइरहेको होला !

आँखा अगाडि हार्वर बृजले विशाल समुन्द्रमाथि टाङ हालेको थियो । मलाई मानवीय शक्ति प्रदर्शनको त्यो चरमचुली कुल्चिन मन लाग्यो । तर बृजमाथिमाथि हिँडिरहँदा मैले अग्लिएको झिनो अनुभूतिसम्म गर्न पाईनँ । मेरो शीरमाथिको आकाश प्रचण्ड सूर्य बोकेर मलाई पगाल्ने प्रयत्नमा अनवरत लागिरह्यो । मैले माथि हेर्दा एक जोडि काग आकाश भेट्ने प्रयत्नमा कुहिरोभित्र पस्दै गरेको देखें । तलपट्टिको समुन्द्रमा मेरो प्रतिछाया प्रस्टसँग धमिलो लागिरह्यो मलाई । म मजस्तो लागिनँ । मैले मेरो स्पष्ट प्रतिछाया उतै धमिलो वागमतीमा बगाएर आएछु । छक्क परें– अर्काले उभ्याएको भर्याङ चढेर मैले मेरो उचाइ कहिलेसम्म नाप्ने होला? फेरि पलायनवादीको लामो सूचिमा दर्ता भएको मबाट सगरमाथाको उचाईप्रति गौरव गर्ने नैतिक अधिकार पनि त खोसिएको छ । के परिस्थितीवस परदेश पस्नेहरू पलायनवादीमा पर्छन् र?

चराहरूको सन्ध्याकालिन चिरिविरि समुन्द्रको गर्जनसँग मिसिँदै हराउँदै गरिरह्यो । मैले आँखा खोल्दा नजिकै सितलमा एक युगल जोडि प्रेमलापमा व्यस्त थिए । किनकिन आज पहिलो पटक मलाई यो ठाउँबारे राम्रो लाग्यो । मैले तिनीहरू चुच्चो जोडिरहेका ढुकुरजस्तो देखें । केहिवेरपछि ति उठे । केटीले क्रिम पाउडर लगाई । आँखीभौंमा काली पनि लगाई । ओंठमा लाली लगाई । कपाल कोरी, पछाडि पुराई र बाँधी । अलिकति कपालको मुठो अगाडिपट्टि निधारमा निकालेर गालानेर राखी । कपाल बाँध्न नपुग्ने गरी छोंटो थिएन तर अलिकति कानमा लगेर अड्याई । क्षणभरमै ऊ खोला किनारकी तृप्त मृगिणीजस्ती देखिई । उसको सुन्दर हुने प्रयत्न हेर्नलायकको देखियो । अपलक हेरिरहें मैले पनि । उसले फटाफट आफ्ना सुरिला हातहरू यन्त्रवत चलाएर एउटा कागजको फूल बनाई र आफ्नो प्रेमीलाई अर्पण गरी । केटोले कागजको फूल नजिकै फूलेको गुलावको फूलभन्दा राम्रो मानेर समात्यो ।

मलाई लाग्यो मभित्रको कुनै अस्पष्टता विस्तारै हराएर जाँदैछ । व्यवहारले मानवीय सम्वन्ध निर्धारण गर्दाेरहेछ । नाता चाहे रगतको होस् या भावनाको । गुलाव दिए ओइलाउने भनेर दुःख मान्ने, कागजको फूल दिए वासना नआउने भनेर मुख फाल्ने सबै उनी र मजस्ता नहुँदारहेछन् ।

सोचें– मैले उसलाई माया गरें, गरिरहें । अझै पनि गर्छु । मायालाई कुनै विशेषण जोड्न पर्ने आवश्यकता नै छैन । उचित समय मिलेपछि उसलाई मैले भन्ने छु कि मेरो जिन्दगीको पहिलो प्रेम तिमी हौ । त्यतिबेला उसले कस्तो सोच्ली मैले मतलव गर्ने छैन । मैले प्रतिक्षा गरी बसेको त्यो पल उतिबेला नै नआएकोमा मलाई पश्चाताप पनि छैन । स्कुले केटोसँग त्यति साहस नहुनु के अनौठो भयो र ? तैपनि मलाई यकिन छ– उसलाई थाहा थियो । बुझेर बुझपचाई उसले । उसले बुझिसकेपछि भन्नुको तात्पर्य पनि हराउँदै गएको थियो । तर मेरो मायाको वदलामा माया गरिन उसले मलाई । सायद सम्झिँदैन होला आजभोलि त । ऊ कसैको बगैचामा फुलिरहेकी छ भनेर म दुखेको पनि छैन । अर्काको अँगालोमा उसलाई देखेर पनि मलाई इश्र्या लाग्दैन । बस् माया लाग्छ । भेट हुने मौका पाए अपलक हेरिरहन्थें ऊबेलाजस्तै ।

मसँग उसको एउटा तस्विर पनि नहुनुको पीडाले समयसमयमा भतभति पोल्छ । हृदयको तस्विर हेरेर आँखा नअघाएको अनौठो अनुभूति छ मसँग । चञ्चल ऊ मेरो उपन्यास ‘पुष्पाञ्जली’ पढेपछि केहिवेर स्तव्ध थिई भन्ने सुनेर म कताकता दुखेको छु । ऊ राम्री छे । सुन्दर छे । असल छे । मैले जानेका कुनै विशेषणले उसको बयान गर्न सक्दैनन् । मैले उसको बयान गरें भने ऊ नराम्री होली भनेर डर छ मलाई । बस् कुनैदिन तिमीले मेरो मायाको उपहास गरेकी हौ भनेर गुनासो गर्ने दिन मात्रै आइदिए उसले पनि केहि भन्दी हो । सायद बिर्सन्थें त्यसपछि । मनको खिया मेटिन्थ्यो ।

मनमा अलि फूर्ति बढेजस्तो लाग्यो । कताकता आफै तृप्त भएजस्तो, ठूलै समस्याबाट मुक्ति पाएजस्तो अनुभूति भैरह्यो लामै समयसम्म । भोक लाग्यो । झोलाबाट आलुका चानाहरू निकालें र चपाएँ । खानेकुरा देखेपछि आगाडिदेखि मलाई उपहास गरिरहेका चराहरू रहरलाग्दो गरी मेरो नजिक आए । तिनीहरूको बथान खुव सुन्दर देखिन्थ्यो । मैले तिनीहरूलाई आलु फालिदिएँ । तर खानेकुरा भेटेपछि भने चराहरू लड्न थाले । अचानक मेरो देसको चित्र सजीव भएर अपसोस् लाग्ने गरी आँखामै आयो र मथिङ्गलमा भूमरी भयो । मलाई विरानो किनारमा हुत्याउने छालले घप्लक्कै ढोक्यो फेरि एकपटक । म आत्तिएर कराएँ । चराहरू भागे ।

मैलै फेरि बोलाएँ चराहरू । चराहरूको भिडमा एउटा बकुल्लो मैले फालेको आलुतिर दौडिन्थ्यो । प्रत्येक पटक ऊ नपुग्दै चलाख कोक्याटोहरूले त्यो खाइसकेका हुन्थे । यसपटक मैले आलुको टुक्रा बकुल्लोको नजिकै फ्याँकिदिएँ । बडो खुसी हुँदै आफ्नो लामो चुच्चोले आलु च्याप्यो । तर दुइओटा चलाख कोक्याटोहरूले दुईतिरबाट त्यो आलु थुते र खाईदिए । बकुल्लो निरिह पखेटा फटफटायो । त्यसको पखेटाको हावाले मेरो छातीको भित्रैसम्म चीसो पस्यो । मलाई आलु फ्याँकिरहेको मभन्दा गास खोसिएको बकुल्लो आफूजस्तो लाग्यो । बकुल्लाको विवश आँखामा आफ्नै प्रतिविम्व लखतरान परेको देखेर म थाकें । मलाई ति माँसहारि कोक्याटोहरू पटक्कै मन परेनन् । बाँच्नका लागि अब अर्काको भाग खोस्नैपर्ने भैसक्यो त?

सदाजस्तै आज पनि पर समुद्रमा सूर्य पहेंलियो र झर्यो । वगैंचाका पन्छीहरू गुँड फर्कन थाले । म बसेको पर्खाललाई भने छालले निरन्तर हानिरहेको थियो । मेरो धरातल हल्लाउन त छाल नै काफि छ यतिबेला । सोचें मान्छेहरूको भिडमा मजस्तै अरु कोही होलान् कि नहोलान् ? अरुहरू यतिबेला मजस्तै दुःख बिसाउन यहाँ आएका होलान् कि सुख साटासाट गर्न ? अचानक मलाई मान्छेहरूको अनुहार पढ्न मन लाग्यो । अलि पर सेतो गुलावको वोटमुनि एउटी सुन्दर केटी देखिई । त्यो फूलसँग खेल्दै फोनमा कुरा गर्दै गर्थी । गोरी, हिस्सी परेकी सुडाल तरुनी हरियो वस्त्रमा त्यही सेतो गुलावजस्तैजस्तै पो थिई । मैले हेरिरहें निकैवेरसम्म उसलाई । ऊ फूलसँग खेलिरही ।

संजोगवस एउटा भमरा त्यसको टाउकोमा बसेपछि त्यसले डराएर ‘आमा’ भनी । म पत्यार नलागेर छक्क परें । ऊ मेरो बथानकी होइन भन्ने मलाई पक्का थियो । उत्सुकतावस नजिकै गएँ । ‘हेलो’ भनें । उसले फर्केर हेरी र केही बोलिन । म सजिलै हार मान्नेवालामा थिईनँ । फेरि बोलाएँ ।


‘एस्क्यूज मी, आर यू स्टडिङ् एवाउट् हाइब्रिड रोज?’ ऊ झस्किई अनि असमञ्जस्यतामा परेझैं टाउको तलमाथि हल्लाई ।
मैले थपें– ‘इफ यू डन्ट माइन्ड आई नो समथिङ् अवाउट ह्वाईट रोज ।’ कुराको थालनी मात्रै थियो यो ।
‘नो थ्याङ्कस् ।’ उसले पूर्णविराम लगाई ।

पटक्कै ढीपी पुगेन । पटकपटक पढेको सलमान रुसदीको ‘ईमाजीनरी होमल्याण्ड’ हातमा लिएर भोलिपल्ट पनि म त्यही पुगें । पढ्ने त एउटा बाहाना मात्रै थियो । अपेक्षा गरेजस्तै त्यसदिन पनि उ त्यहीं भेटिई । मैले नै कुराको थालनी गरें । उसले मेरा पाँच प्रश्नहरूको एक जवाफ दिन्थी । साह्रै अन्तर्मुखि । यहि बाहानामा दिनहुँ भेट भैरह्यो उसको र मेरो । ऊ त्यही रुखमुनि हुन्थी । म उहि किताव समाएर दिनको उत्तरार्धतिर टुप्लुक्क पुग्थें । केहि दिनपछि मौका आउनासाथ मैले सोधें–
– ह्वाई यू अफन लभ टू किप क्वाईट् ?
– नट टू स्पिक इज वेटर द्यान अ फल्स स्माईल ।

सटिक प्रतिउत्तरले आज पनि कुराकानीमा पूर्णविराम लगाउने सङ्केत गरायो । मैले मूर्खतापूर्ण बहस गर्नु ठिक ठानिनँ । तर उसको कुरा सुनेर म छक्क परें । मलाई उसको आवाज पहाडको कन्दराबाट आएको प्रतिध्वनीजस्तो गहिरो र मिठो लाग्यो । यी कैलो आँखा हुनेहरू पनि मानवीय सम्वन्धलाई यति सूक्ष्मदृष्टि गरेर हेर्न सक्छन् र? म खिस्स हाँसें । सायद उसले भनेजस्तै ‘फल्स स्माईल’ । अनेकन् समस्याका पहाडहरूले किचिएको म निश्छल हाँसो त कसरी हाँस्न सकें होला र? फेरि जाल फ्याँक्ने गरी हाँस्नु मेरो उद्देश्य पनि थिएन । उसले अचानक बोलेको ‘आमा’ शव्दप्रति मेरो व्यग्र चासो थियो ।

मैले पछि कुरा बुझें । ऊ त तिबेटिएन रहिछ । आमा नेपालबाट तिब्वत पुगेकी, बाबु चाईनिज, अष्ट्रेलियाको स्थायी वासिन्दा । बाबुले उसलाई कहिल्यै माया गरेन रे । आमाले उसलाई बाबुसँग छोडेर तिब्बत फर्किएपछि उसलाई विरक्त लाग्न थालेछ । तर आमाले भने बाध्यतावस् छाडेकी रे उसलाई । जानेबेला आमाले छोरी म तँलाई मेरो हिस्साको दुःख बाँडेको हेर्न चाहन्नँ भनेर आँखा रसिला बनाउँदै हात हल्लाएको दिन उसका लागि जीवनको साह्रै दुःखद् दिन रहेछ ।


मैले उसबारे गरेका पूर्वानुमान सबै गलत गराएर ऊ एकसाँझ यसरी खुलेर प्रस्तुत भई । तर उसले ‘आमा’ बाहेक अरु कुनै नेपाली शब्द जान्दैनथी । म किनकिन आकर्षित भएँ उसँग । एकदिन उसको निर्दाेष, अवोध अनुहारमा मैले मेरी हुन नसकेकी प्रेमिकाको आकृति देखेर अक्कनबक्क परें । उसले मेरो आँखामा त्यो रुखमुनि समुन्द्र देखी रे त्यो साँझ । तर अचानक ममात्र बस्छु त्यो रुखमुनि आजभोलि । ऊ त किन हो आउँदिन । सायद योभन्दा अगाडि क्रसकल्चर र डायस्पोराका सिद्दान्तहरूमा फेरि कुनै पाठ थपिएला कि भनेर उसले अध्याय नै बन्द गरी ।

आज म त्यही रुखमुनि छु । वोटानिक गार्डैनभित्रको त्यही रुखले प्रायः मेरो ध्यान आकृष्ट गर्छ । एकातिरबाट मूलि जरा उखेलिएर झण्डै ढलेकोे फूलको रुख अर्को सानो जराको झिनो बलमा कोल्टे बाँचिरहेको छ । तारवारले संरक्षित त्यो रुखको नजिकै म पछाडि हात राखेर कोल्टे बसिरहेको छु ।


Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन...

म्याग्दी जिल्लाको दुर्गम गाउँ मराङमा दुनियाँकै सर्वशक्तिमान निर्देशकको एउटा 'रियालिस्टिक' नाटकको 'क्लाईमेक्स' मञ्चन हुदैछ । नाटकको केन्द्रीय भूमिका पाएको त्यही गाउँको एउटा १६ वर्षे अल्लारे युवक ब्रिटिस आर्मीको गल्लाले लिने सबै परिक्षा पास गरेर परदेश लाग्न खुट्टा उचालेको छ । 'वर्षदिन दुःख गरेर ६ महिना खान नपुग्ने' परिवारको ऊ महिनैपिच्छे लाखौं कमाउने आफ्नो लाहुरे सपना साकार हुन लागेको देखेर फुरुङ्ग छ । केहि समय पहिले भारतीय सेनामा झूठो बोल्न नजानेर फालिएको दिनको फ्लासव्याक सम्झेर मनमनै हाँस्दैछ ऊ । अब त अन्तिम पटक गाउँका साईली-माईलीसँग विदावारि हुनै कर लाग्यो । वनतिर एकभारी घाँस काट्न गए मनको यो तिर्सना पुराउन सकिने भो, गोठकी कोरलीको भोक पनि मेटिने भो । निर्देशकले उसलाई हठात् अराएको छ- भार थपेर हलुका हुने अभिनय । 'क्लाईमेक्स' न हो- लामो कसरि होस् - जव पुष महिनाको चिसो दिनमा पनि खुशीले उफ्रदै घर नजिकैको अर्लीभीर पुग्छ ऊ घाँस काट्न, अनि त शुरु भैहाल्छ भयावह 'फ़लिङ् एक्शन' । भीरमा घाँस काट्दै गर्दा अचानक उसको दुवै खुट्टाले सन्तुलन गुमाऊँछन्, समाएको फु...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...