कथा- गरिमा

‘ए पानीपित्ते पत्रकार ! तिमीले ‘विधवा’ कथामा लेखेको नारिपात्र हो म । तिमी ईमान्दार वेईमान रहेछौ ।’ पहिलो मेसेजमा नै ऊ आक्रामक बनेर प्रस्तुत भई आज ।
‘तिमीले कसरी मलाई वेईमान भन्न सक्छ्यौ ?’ मैले आत्मरक्षाको भाव जाहेर गरें ।
‘तिमीले मेरो परिचय नखुलाउने सर्तमा मसँग कुरा गरेका थियौ ।’ ऊ त झन् कड्किन थाली ।
‘मैले सर्त पुरा गरेको छु । वाई द वे, ईमान्दार भनिदिएकोमा धन्यवाद ।’ मैले विषयलाई हल्का बनाउने असफल प्रयत्न गरें ।
‘बेइमानी त तिमी पत्रकारको रगतमै हुन्छ । तिमी त जिद्दि पनि रहेछौ । मैले तिमीलाई मेरो नाम नलेख भनेकी थिईनँ, परिचय नलेख भनेकी थिएँ । तिमीले किन मैले काम गर्ने रेष्टूराँ र मेरो घरवारे लेख्यौ ? त्यो ‘स्केच’ पनि मजस्तै लाग्छ ।’ उसले मेरो कानमै समाई ।
‘तिमीलाई त्यस्तो लागेको हो । किनभने तिमीलाई थाहा छ । अरु कसैले आजसम्म त्यस्तो प्रतिक्रिया दिएको छैन ।’ म सकेसम्म तर्किने प्रयत्नमा लागें ।
‘तिमी मलाई यसरी चुप गराउन सक्दैनौ । मैले तिमीले जस्तो जाली शव्दहरूको खेती गर्न जानेकी छैनँ । भन तिमीले किन दुनियासामु नाङ्गो पा¥यौ मलाई ?’ अब त ऊ विषय प्रवेश गरी ।

‘तिमीले त नाङ्गीनुमा गौरव मान्दै थियौ उतिबेला ??’ म तर्कका लागि तर्क गर्न थालें । सायद कुतर्क ।
‘तिमीले किन लुगा नलगाउनुमा र नाङ्गीनुमा भेद देख्न सक्दैनौ ? तिम्रो पनि लुकेको के छ मेरो सामु ? लुगा हामीले सँगै लगाएको हो । तिमी कसरी यत्रो इज्जतदार, साहित्यकार, पत्रकार बन्यौ ? अनि म कसरी...?’ उसले मेरो मर्ममा नै पुग्ने गरी प्रहार गरी । मसीको गन्ध ह्वास्स नाकमा पसेपछि लाजले नाक छोपेछु भनेर चाल पाएँ ।
‘तिम्रो प्रोफेसन...। तर म यसलाई सम्मानित र कानुनसम्मत बनाउन आवाज उठाउन सक्छु ।’ म ठूलो पल्टिन खोजें ।
‘तिमीलाई के लाग्छ चिडियाघर व्यवस्थित गर्न नसक्ने तिम्रो सरकारले यो ‘गुडियाघर’ व्यवस्थित गर्न सक्छ ?’ म निरुत्तरित भएँ एकछिन ।
‘सरकार त तिम्रो पनि उत्तिकै हो । राजनीतिमा चलाखजस्ती देखिन्छ्यौ । यो वारेमा त तिमीले पछिल्लोपटक कुरा गरिनौ ??’
‘म नेताकी छोरी हुँ ।’ उसले मलाई आश्चर्यमा पारी ।
‘कस्तो अचम्म । कुन चाहिँ नेता परे तिम्रा बाबु ?’
‘कुनचाहिँ भनेर चिन्न सकेकी भए मेरी आमाले मलाई मेरो बाबुको थर दिन्थीन् सायद ।’ ऊ अलि भावुक बनी । वेभक्याममा उ घोप्टो परेकी देखिन्थी ।
‘तिमी त खानदानी... रहिछौ ??’ मैले जिस्किएर हल्का पारामा फेरि लेखें ।
‘तिमी फेरि अर्काे समाचार बनाउने सुरमा छौ । तिमीसँग मेरो यसरी उपयोग गर्ने अधिकार छैन । तिमीले आफूले मेरा कुनै प्रश्नहरूको उचित जवाफ दिएनौ ।’ लामो समय लगाएर उत्तर पठाई उसले यसपटक ।
म नाजवाफ भएँ ।
‘तिमी शब्दहरूको प्रयोग गर्छौ तर तिनको मर्मथलो जान्दैनौ । त्यही हो तिम्रो इमान्दारिता ।’ यसपालीको फिचरले उसको मन बढी दुखाएको महसुस गरें मैले ।
‘आरोप लगाउन सजिलो छ । शव्दको सामथ्र्य शव्दहरू स्वयम् सिकाउन सक्दैनन् ।’
‘मैले बुझिनँ ।’
‘मेरो आशय स्पष्ट छ । कसैलाई दुख्दा कसैलाई आनन्द आउने प्रकृतिको नियम हो ।’
‘तिमीले त म र मेरो पेशाबीचको सम्वन्धलाई शब्दमा व्यक्त ग¥यौ । यही क्षमता मन पर्छ मलाई पत्रकारहरूको ।’
‘तिमी सन्तुष्ट छैनौ भनेर बुझें मैले ।’
‘जे भन्न तिम्रो च्याटवक्स् क्लिक गरेकी थिएँ, त्यो तिमीले बल्ल बुझ्यौ । आइन्दा यस्तो धृष्टता नगर्नु ।’
उ पहिले नै ‘इन्भिजिवल’ थिई । मैले प्रतिउत्तर पाउन छोडें । उसले झपारेर छोडी मलाई ।



धेरै समयपछि ऊ अचानक आज अनलाईन देखिई– ‘पानीपित्ते पत्रकार तिमीले जिन्दगीसँग गरेको सम्झौता र मैले गरेको सम्झौतामा केहि फरक पाउन सकेका छौ त ?’ युनिकोडले आजभोली नेपालीमै मनपरि लेखेर च्याट गर्न मिल्ने बनाइदिएको छ ।
‘तिमीले म विदेसीएको जानाकारि कहाँबाट पायौ ?’ म अचम्म परें ।
‘तिमी पथभ्रष्ट, पलायनवादी, वेइमान ।’ ऊ ‘कल’ नै गरेर झगडा गर्न थाली आज ।
‘तिमीजतिको त हैन ।’ मैले ऊभन्दा कम पथभ्रष्ट भएको स्विकारें ।
‘आफ्नो कर्तव्यकर्म भूली सत्य र इमान्दारिताको वाटोबाट स्खलित हाम्रो देसका राडिपदुवा नेताहरूबाट देसभित्र के आस गर्न सकिन्थ्यो र तिमी मलाई यी अपाच्य गालीहरू दिन सकेकी हौ ?’ मैले मेरो कमजोरी अर्काको टाउकोमा थुपार्ने सहज बाटो समाएँ ।
‘रिस त साह्रै उठेको रहेछ नी ?’ ऊ विगत सम्झाउने प्रयत्नमा लागी । ‘तिमी पनि ईमान्दार नेता बनेर देस बनाउने खुवी राख्न सक्थ्यौ !? म परिस्थितिवस यहाँ आइपुगें भन्दा त ‘जीऊ बेच्नुका अरु थुप्रै विकल्प छन्’ भनेर महान् आदर्शवादी बनेका थियौ त ? देख्यौ कस्तो हुँदोरहेछ वाध्यता??’ ऊसले मेरो मर्मस्थलमा थप प्रहार गरी । म अरु कमजोर भएको महसुस गरें ।
‘तिमी र मबीच भिन्नता रहेन भन्न खोजेकी तिमीले ?’ आरोप पहिल्यै स्वीकारेछु मैले ।
‘अफकोर्स ।’
‘प्रष्ट पार्न सक्छ्यौ ?’ मैले प्रमाण खोजें ।
‘आमाले टिका लगाएर आशिर्वाद दिँदासमेत कहिल्यै पाऊमा ननीहुरिएको तिम्रो शीर पराईको शौचालय र फोहोरका थुप्राहरूमा किन निस्फिक्री घोप्टिरहेको छ ? कस्तो अर्थ लगाउँछौ अब स्वाभिमानको ? मैले त बरु शरिर बेचेकी छु, तिमीले स्वाभिमान बेच्दैछौ ।’ उसले त सबै थाहा पाईछ । सत्य जानेपछि ऊ पत्रकारभन्दा तार्किक र बाठी निस्किई यसपाली ।
‘हामी पछि परेको कारण यही रहेछ मालीकनी साहेव । कामलाई सानो ठूलो भनेर ।’ म अझै लाहुरे बन्ने प्रयत्न गरिरहें ।
‘ओ महासय ! तिमीले जिन्दगीमा बल्ल एउटा पाठ नपढिकन सिक्ने अवसर पाएछौ । अब तिमी र मबीचको दूरि नजिकिएको स्वीकार्छाै होला सायद । कस्तो अचम्म तिमी विदेसियौ, दूरि घट्यो !’ उसले जितेर छाडी । उसका कालजयी जीवन अनुभवका अगाडि मेरा ‘रेडिमेड’ उत्तरहरू नतमस्तक बने । ‘समयले सिर्जना गरेका प्रश्नहरूको उत्तर समयसँगै होला । मसँग के सोध्छौ ?’ भनेर भन्ने आँट पलाएन मभित्र ।
‘अब त तिमी पनि ‘देसमा सबै कुरा ठिक्क पारिदेऊ हामी लगानी गरेर नाफा कमाउन आउँछौ’ं भन्ने गैरआवासीय भैसक्यौ होला । तिमी मल्टिनेसनल छेपारो । कृतघ्न । रङफेरुवा ।’ मैले सुन्न मात्रै सकें ।



गरिमाले भनेजस्तै एतिखेर स्वाभिमानको आफूसुहाउँदो अर्थ लगाएर छेपारो झैं रङ फेरिफेरि बाँच्ने मेरो प्रयत्न उदेकलाग्दो छ । संघर्षको नाऊँमा आफूसँग आफैले गरेको सम्झौता आफैलाई दुर्वाेध्य लाग्छ । आफूलाई आफ्नैवारेमा प्रश्न सोधेर अनुत्तरित युवराज सिद्धार्थ जंगल पसे र वुद्ध बनेर निस्किए । म भने धनी हुने सपनाहरूले लखेटेर यो मान्छेहरूको जंगल पसेको वर्षदिन बितिसक्यो झन् धेरै प्रश्नहरूको पहाडले किचिएर उठ्नै नसक्ने भएको छु ।

पहिलो पटकको अन्तर्वार्तामा उसले मलाई सुन्धारादेखिनै डो¥यााएर लगेकी थिई । काठमाडौंभित्र पहिलो पटक मलाई कसैले नयाँ मान्छेलाई झैं डो¥याउँदै थियो । शौचालय छिरेझैं गुप्ती बाटोबाट छिरेर अनेकौं ढोका र तलाहरु नाघेपछि बल्ल उसको रेष्टुराँको मुख्य कोठामा पुगिन्थ्यो । मुख्य कोठाभन्दा पनि भित्र आफ्नै कोठामा पुराएपछि उसले मलाई भनेकी थिई¬ ‘दुःख पर्नु मान्छेको जीवनको ठूलो उपलव्धी हो । यतिबेला जिन्दगीका ठूलाठूला भ्रमहरू भत्किन्छन् । आफन्तवारेका, साथीभाईवारेका ।’

साँच्चै हो जस्तो लाग्छ । कि आफन्तले चेपेको मान्छेले प्रगति गर्छ, कि शत्रुले हेपेको मान्छेले प्रगति गर्छ । म सम्झन्छु– मैले उसलाई बैनी भनेर बोलाएको थिएँ । उसले सिधै ‘शव्दको मर्म नबुझ्ने पत्रकार मेरो छेउ नआऊ’ भनी । त्यसो भए ‘बैनी होइन बैगुनी’– म मात्तिएको थिएँ । त्यतिखेर उसले मलाई घुरेर हेरी र मुसुक्क रिसाई । म डराएँ । ऊ असल चित्रकार हो भन्ने मलाई पहिल्यै थाहा थियो । एकपटक देखेपछि जेसुकैको पनि दुरुस्त चित्र बनाउन सक्ने उसको क्षमता मेरो एउटा समाचारको विषय हुनसक्थ्यो । हाम्रा देशका केही नेताहरूको निर्वस्त्र तस्विर उसले जस्ताको तस्तै बनाएर एल्वम तयार गरेकी छ ।

भन्छे– ‘यीनका भिआईपी देहको छलङ्ग नक्सा छ मसँग ।’ कुनैदिन पत्रकारहरूको लागि बनेको एल्वममा भिआईपी पत्रकारहरुसँगै म पनि पर्नेछु एउटा पृष्ठमा भनेर म डराएको थिएँ । त्यतिखेरको भेटमा ऊ विरामी परेकी थिई । मैले भनें– ‘ठूलाठूला मान्छेहरूलाई चिनेकी छौ, सहयोग माग ।’
‘मुखले ठिक्क, पेटले दिक्क पार्नेहरूलाई मैले राम्रोसँग चिन्न सक्छु ।’ ओंठेजवाफ दिएर अलमल्ल पारी उसले । उसलाई आज पहिलो पटक निराश देखेको थिएँ मैले ।
‘त्यसो भए तिम्रो साहूसँग त माग्न सक्छ्यौ !?’ स्वाभिमानी छौ भन्न खोजें मैले ।
‘दुनियामा मैले सबैभन्दा घृणा गरेको मान्छेसँग ?! बरु हाँकाहाँकी जीउमा सल्किएर रगत चुस्ने जुको जाती । अर्काको पसिनाको आर्जन छलेर खाने त नरभक्षी हो ।’
‘तिमी त साँच्चैकी बैगुनी पो रहिछौ त ।’ म साहूको पक्षमा उभिएँ ।

‘दुःखमा एकवचन ढाडसको बोली त जीवनभरको सम्झना रहन्छ भने दुःखमा लगाएको गुन चाहेर विर्सन सकिन्छ र ? म मासु खान पालेको जनावरजस्तो गुन–बैगुन छुट्टाउन नसक्ने हुँ ? ऊ रुनै आँटी । मैले आफ्नो दृष्टि अन्त कतै लैजाने प्रयत्न गरें । आँखाअगाडि ठूलो सुन्तलाको रुखमा तीते करेला झाङ्गीएको थियो । उसका असन्तुष्ट क्रुद्द आँखाहरूले जमीनमा आगो पार्लान्झैं अचम्मले हेरिरहेका थिए । सुन्तला र तीतेकरेलाको जराले माटोको कुन–कुन भाग निचोरेर रस लिँदा हुन् भनेर सायद ऊ छक्क परेकी थिई । मलाई सुक्दै गएको सुन्तलाको थाँक्रो चढेर झाङ्गिदै गएको तीतेकरेलाले हाम्रो समाज प्रतिविम्वित नगरिदिए हुन्थ्योजस्तो लागिरहन्छ ।

                                                                         
                                                                          समाप्त 

Popular posts from this blog

कथा- परदेश