Skip to main content

कथा- गरिमा

‘ए पानीपित्ते पत्रकार ! तिमीले ‘विधवा’ कथामा लेखेको नारिपात्र हो म । तिमी ईमान्दार वेईमान रहेछौ ।’ पहिलो मेसेजमा नै ऊ आक्रामक बनेर प्रस्तुत भई आज ।
‘तिमीले कसरी मलाई वेईमान भन्न सक्छ्यौ ?’ मैले आत्मरक्षाको भाव जाहेर गरें ।
‘तिमीले मेरो परिचय नखुलाउने सर्तमा मसँग कुरा गरेका थियौ ।’ ऊ त झन् कड्किन थाली ।
‘मैले सर्त पुरा गरेको छु । वाई द वे, ईमान्दार भनिदिएकोमा धन्यवाद ।’ मैले विषयलाई हल्का बनाउने असफल प्रयत्न गरें ।
‘बेइमानी त तिमी पत्रकारको रगतमै हुन्छ । तिमी त जिद्दि पनि रहेछौ । मैले तिमीलाई मेरो नाम नलेख भनेकी थिईनँ, परिचय नलेख भनेकी थिएँ । तिमीले किन मैले काम गर्ने रेष्टूराँ र मेरो घरवारे लेख्यौ ? त्यो ‘स्केच’ पनि मजस्तै लाग्छ ।’ उसले मेरो कानमै समाई ।
‘तिमीलाई त्यस्तो लागेको हो । किनभने तिमीलाई थाहा छ । अरु कसैले आजसम्म त्यस्तो प्रतिक्रिया दिएको छैन ।’ म सकेसम्म तर्किने प्रयत्नमा लागें ।
‘तिमी मलाई यसरी चुप गराउन सक्दैनौ । मैले तिमीले जस्तो जाली शव्दहरूको खेती गर्न जानेकी छैनँ । भन तिमीले किन दुनियासामु नाङ्गो पार्‍यौ मलाई ?’ अब त ऊ विषय प्रवेश गरी ।

‘तिमीले त नाङ्गीनुमा गौरव मान्दै थियौ उतिबेला ??’ म तर्कका लागि तर्क गर्न थालें । सायद कुतर्क ।
‘तिमीले किन लुगा नलगाउनुमा र नाङ्गीनुमा भेद देख्न सक्दैनौ ? तिम्रो पनि लुकेको के छ मेरो सामु ? लुगा हामीले सँगै लगाएको हो । तिमी कसरी यत्रो इज्जतदार, साहित्यकार, पत्रकार बन्यौ ? अनि म कसरी...?’ उसले मेरो मर्ममा नै पुग्ने गरी प्रहार गरी । मसीको गन्ध ह्वास्स नाकमा पसेपछि लाजले नाक छोपेछु भनेर चाल पाएँ ।
‘तिम्रो प्रोफेसन...। तर म यसलाई सम्मानित र कानुनसम्मत बनाउन आवाज उठाउन सक्छु ।’ म ठूलो पल्टिन खोजें ।
‘तिमीलाई के लाग्छ चिडियाघर व्यवस्थित गर्न नसक्ने तिम्रो सरकारले यो ‘गुडियाघर’ व्यवस्थित गर्न सक्छ ?’ म निरुत्तरित भएँ एकछिन ।
‘सरकार त तिम्रो पनि उत्तिकै हो । राजनीतिमा चलाखजस्ती देखिन्छ्यौ । यो वारेमा त तिमीले पछिल्लोपटक कुरा गरिनौ ??’
‘म नेताकी छोरी हुँ ।’ उसले मलाई आश्चर्यमा पारी ।
‘कस्तो अचम्म । कुन चाहिँ नेता परे तिम्रा बाबु ?’
‘कुनचाहिँ भनेर चिन्न सकेकी भए मेरी आमाले मलाई मेरो बाबुको थर दिन्थीन् सायद ।’ ऊ अलि भावुक बनी । वेभक्याममा उ घोप्टो परेकी देखिन्थी ।
‘तिमी त खानदानी... रहिछौ ??’ मैले जिस्किएर हल्का पारामा फेरि लेखें ।
‘तिमी फेरि अर्काे समाचार बनाउने सुरमा छौ । तिमीसँग मेरो यसरी उपयोग गर्ने अधिकार छैन । तिमीले आफूले मेरा कुनै प्रश्नहरूको उचित जवाफ दिएनौ ।’ लामो समय लगाएर उत्तर पठाई उसले यसपटक ।
म नाजवाफ भएँ ।
‘तिमी शब्दहरूको प्रयोग गर्छौ तर तिनको मर्मथलो जान्दैनौ । त्यही हो तिम्रो इमान्दारिता ।’ यसपालीको फिचरले उसको मन बढी दुखाएको महसुस गरें मैले ।
‘आरोप लगाउन सजिलो छ । शव्दको सामथ्र्य शव्दहरू स्वयम् सिकाउन सक्दैनन् ।’
‘मैले बुझिनँ ।’
‘मेरो आशय स्पष्ट छ । कसैलाई दुख्दा कसैलाई आनन्द आउने प्रकृतिको नियम हो ।’
‘तिमीले त म र मेरो पेशाबीचको सम्वन्धलाई शब्दमा व्यक्त ग¥यौ । यही क्षमता मन पर्छ मलाई पत्रकारहरूको ।’
‘तिमी सन्तुष्ट छैनौ भनेर बुझें मैले ।’
‘जे भन्न तिम्रो च्याटवक्स् क्लिक गरेकी थिएँ, त्यो तिमीले बल्ल बुझ्यौ । आइन्दा यस्तो धृष्टता नगर्नु ।’
उ पहिले नै ‘इन्भिजिवल’ थिई । मैले प्रतिउत्तर पाउन छोडें । उसले झपारेर छोडी मलाई ।



धेरै समयपछि ऊ अचानक आज अनलाईन देखिई– ‘पानीपित्ते पत्रकार तिमीले जिन्दगीसँग गरेको सम्झौता र मैले गरेको सम्झौतामा केहि फरक पाउन सकेका छौ त ?’ युनिकोडले आजभोली नेपालीमै मनपरि लेखेर च्याट गर्न मिल्ने बनाइदिएको छ ।
‘तिमीले म विदेसीएको जानाकारि कहाँबाट पायौ ?’ म अचम्म परें ।
‘तिमी पथभ्रष्ट, पलायनवादी, वेइमान ।’ ऊ ‘कल’ नै गरेर झगडा गर्न थाली आज ।
‘तिमीजतिको त हैन ।’ मैले ऊभन्दा कम पथभ्रष्ट भएको स्विकारें ।
‘आफ्नो कर्तव्यकर्म भूली सत्य र इमान्दारिताको वाटोबाट स्खलित हाम्रो देसका राडिपदुवा नेताहरूबाट देसभित्र के आस गर्न सकिन्थ्यो र तिमी मलाई यी अपाच्य गालीहरू दिन सकेकी हौ ?’ मैले मेरो कमजोरी अर्काको टाउकोमा थुपार्ने सहज बाटो समाएँ ।
‘रिस त साह्रै उठेको रहेछ नी ?’ ऊ विगत सम्झाउने प्रयत्नमा लागी । ‘तिमी पनि ईमान्दार नेता बनेर देस बनाउने खुवी राख्न सक्थ्यौ !? म परिस्थितिवस यहाँ आइपुगें भन्दा त ‘जीऊ बेच्नुका अरु थुप्रै विकल्प छन्’ भनेर महान् आदर्शवादी बनेका थियौ त ? देख्यौ कस्तो हुँदोरहेछ वाध्यता??’ ऊसले मेरो मर्मस्थलमा थप प्रहार गरी । म अरु कमजोर भएको महसुस गरें ।
‘तिमी र मबीच भिन्नता रहेन भन्न खोजेकी तिमीले ?’ आरोप पहिल्यै स्वीकारेछु मैले ।
‘अफकोर्स ।’
‘प्रष्ट पार्न सक्छ्यौ ?’ मैले प्रमाण खोजें ।
‘आमाले टिका लगाएर आशिर्वाद दिँदासमेत कहिल्यै पाऊमा ननीहुरिएको तिम्रो शीर पराईको शौचालय र फोहोरका थुप्राहरूमा किन निस्फिक्री घोप्टिरहेको छ ? कस्तो अर्थ लगाउँछौ अब स्वाभिमानको ? मैले त बरु शरिर बेचेकी छु, तिमीले स्वाभिमान बेच्दैछौ ।’ उसले त सबै थाहा पाईछ । सत्य जानेपछि ऊ पत्रकारभन्दा तार्किक र बाठी निस्किई यसपाली ।
‘हामी पछि परेको कारण यही रहेछ मालीकनी साहेव । कामलाई सानो ठूलो भनेर ।’ म अझै लाहुरे बन्ने प्रयत्न गरिरहें ।
‘ओ महासय ! तिमीले जिन्दगीमा बल्ल एउटा पाठ नपढिकन सिक्ने अवसर पाएछौ । अब तिमी र मबीचको दूरि नजिकिएको स्वीकार्छाै होला सायद । कस्तो अचम्म तिमी विदेसियौ, दूरि घट्यो !’ उसले जितेर छाडी । उसका कालजयी जीवन अनुभवका अगाडि मेरा ‘रेडिमेड’ उत्तरहरू नतमस्तक बने । ‘समयले सिर्जना गरेका प्रश्नहरूको उत्तर समयसँगै होला । मसँग के सोध्छौ ?’ भनेर भन्ने आँट पलाएन मभित्र ।
‘अब त तिमी पनि ‘देसमा सबै कुरा ठिक्क पारिदेऊ हामी लगानी गरेर नाफा कमाउन आउँछौ’ं भन्ने गैरआवासीय भैसक्यौ होला । तिमी मल्टिनेसनल छेपारो । कृतघ्न । रङफेरुवा ।’ मैले सुन्न मात्रै सकें ।



गरिमाले भनेजस्तै एतिखेर स्वाभिमानको आफूसुहाउँदो अर्थ लगाएर छेपारो झैं रङ फेरिफेरि बाँच्ने मेरो प्रयत्न उदेकलाग्दो छ । संघर्षको नाऊँमा आफूसँग आफैले गरेको सम्झौता आफैलाई दुर्वाेध्य लाग्छ । आफूलाई आफ्नैवारेमा प्रश्न सोधेर अनुत्तरित युवराज सिद्धार्थ जंगल पसे र वुद्ध बनेर निस्किए । म भने धनी हुने सपनाहरूले लखेटेर यो मान्छेहरूको जंगल पसेको वर्षदिन बितिसक्यो झन् धेरै प्रश्नहरूको पहाडले किचिएर उठ्नै नसक्ने भएको छु ।

पहिलो पटकको अन्तर्वार्तामा उसले मलाई सुन्धारादेखिनै डो¥यााएर लगेकी थिई । काठमाडौंभित्र पहिलो पटक मलाई कसैले नयाँ मान्छेलाई झैं डो¥याउँदै थियो । शौचालय छिरेझैं गुप्ती बाटोबाट छिरेर अनेकौं ढोका र तलाहरु नाघेपछि बल्ल उसको रेष्टुराँको मुख्य कोठामा पुगिन्थ्यो । मुख्य कोठाभन्दा पनि भित्र आफ्नै कोठामा पुराएपछि उसले मलाई भनेकी थिई¬ ‘दुःख पर्नु मान्छेको जीवनको ठूलो उपलव्धी हो । यतिबेला जिन्दगीका ठूलाठूला भ्रमहरू भत्किन्छन् । आफन्तवारेका, साथीभाईवारेका ।’

साँच्चै हो जस्तो लाग्छ । कि आफन्तले चेपेको मान्छेले प्रगति गर्छ, कि शत्रुले हेपेको मान्छेले प्रगति गर्छ । म सम्झन्छु– मैले उसलाई बैनी भनेर बोलाएको थिएँ । उसले सिधै ‘शव्दको मर्म नबुझ्ने पत्रकार मेरो छेउ नआऊ’ भनी । त्यसो भए ‘बैनी होइन बैगुनी’– म मात्तिएको थिएँ । त्यतिखेर उसले मलाई घुरेर हेरी र मुसुक्क रिसाई । म डराएँ । ऊ असल चित्रकार हो भन्ने मलाई पहिल्यै थाहा थियो । एकपटक देखेपछि जेसुकैको पनि दुरुस्त चित्र बनाउन सक्ने उसको क्षमता मेरो एउटा समाचारको विषय हुनसक्थ्यो । हाम्रा देशका केही नेताहरूको निर्वस्त्र तस्विर उसले जस्ताको तस्तै बनाएर एल्वम तयार गरेकी छ ।

भन्छे– ‘यीनका भिआईपी देहको छलङ्ग नक्सा छ मसँग ।’ कुनैदिन पत्रकारहरूको लागि बनेको एल्वममा भिआईपी पत्रकारहरुसँगै म पनि पर्नेछु एउटा पृष्ठमा भनेर म डराएको थिएँ । त्यतिखेरको भेटमा ऊ विरामी परेकी थिई । मैले भनें– ‘ठूलाठूला मान्छेहरूलाई चिनेकी छौ, सहयोग माग ।’
‘मुखले ठिक्क, पेटले दिक्क पार्नेहरूलाई मैले राम्रोसँग चिन्न सक्छु ।’ ओंठेजवाफ दिएर अलमल्ल पारी उसले । उसलाई आज पहिलो पटक निराश देखेको थिएँ मैले ।
‘त्यसो भए तिम्रो साहूसँग त माग्न सक्छ्यौ !?’ स्वाभिमानी छौ भन्न खोजें मैले ।
‘दुनियामा मैले सबैभन्दा घृणा गरेको मान्छेसँग ?! बरु हाँकाहाँकी जीउमा सल्किएर रगत चुस्ने जुको जाती । अर्काको पसिनाको आर्जन छलेर खाने त नरभक्षी हो ।’
‘तिमी त साँच्चैकी बैगुनी पो रहिछौ त ।’ म साहूको पक्षमा उभिएँ ।

‘दुःखमा एकवचन ढाडसको बोली त जीवनभरको सम्झना रहन्छ भने दुःखमा लगाएको गुन चाहेर विर्सन सकिन्छ र ? म मासु खान पालेको जनावरजस्तो गुन–बैगुन छुट्टाउन नसक्ने हुँ ? ऊ रुनै आँटी । मैले आफ्नो दृष्टि अन्त कतै लैजाने प्रयत्न गरें । आँखाअगाडि ठूलो सुन्तलाको रुखमा तीते करेला झाङ्गीएको थियो । उसका असन्तुष्ट क्रुद्द आँखाहरूले जमीनमा आगो पार्लान्झैं अचम्मले हेरिरहेका थिए । सुन्तला र तीतेकरेलाको जराले माटोको कुन–कुन भाग निचोरेर रस लिँदा हुन् भनेर सायद ऊ छक्क परेकी थिई । मलाई सुक्दै गएको सुन्तलाको थाँक्रो चढेर झाङ्गिदै गएको तीतेकरेलाले हाम्रो समाज प्रतिविम्वित नगरिदिए हुन्थ्योजस्तो लागिरहन्छ ।

समाप्त

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...

कविता : कुहिरोको काग

कुहिरोको काग मैले आँखा खोल्दा देखेको यो विशाल पहाडपल्तिर मैले आँखा चिम्म गर्दा देख्ने एउटा संसार छ, जहाँ मान्छेहरु ढुँगामाटोको घरमा हाँसीखुसी सरल जिन्दगी बाँच्छन्, जहाँका खोलानालामा कन्चन चिसो पानी बग्छ, झरनाहरुले गीत गाउँछन्, हिमालहरु हाँस्छन्, पंक्षीहरु नाच्छन्, वर पीपलका पातले ताली बजाउँछन्, जहाँ बाँसका टटेला काटेर केटाकेटीले फिरफिरे नचाउँछन्, मुखुन्डो बनाउँछन्, छाताको करङ् तताएर निगालोमा प्वाल बनाउँछन् र बाँसुरि बजाउँछन्, चौतारिहरुमा खेताला खेताल्निले भारि विसाउँछन्, मुलको पानीमा पिपलको पातलाई ढुँगाले च्यापेर तिरतिरे धारो बनाउँछन्, अनि तिर्खा मेट्छन् अर्मपर्म गरेर बालीनाली लगाउँछन्, ऐचोपैंचो गरेर पनि छाक चलाउँछन्, चकचके केटाकेटीहरु पाखाभरि पल्टिन्छन्, चरनका गाइवस्तुहरुले नुहाउने आहालमा पौडिन्छन्, मकै र भटमासको खाजा कितावसँगै झोलामा हालेर स्कूल जान्छन् र बाँडेर खान्छन्, जहाँ साँझविहान घरको ढोका बन्द गर्नु अशुभ मानिन्छ, जहाँ पाहुना भगवान सरह हुन्छन्, माग्नेहरू साधु हुन्छन्, जहाँ गाईनेको गित सुनेर मान्छेहरु रुन्छन्, जहाँ जनावरहरु छेक्ने अगुलो भए पुग्छ, ढोकामा ताला चाहिँदैन, जहाँ ढुँगा...