Skip to main content

आउनुस् एकपटक प्रतिगामि बनौं

मलाई थाहा छ– यि कुराहरू गर्ने हो भने मलाई प्रतिगामीको बिल्ला लाग्नेछ । लागे लागोस् न त । जिन्दगी म्याराथुन होईन जो बेस्करि कुद्यो उसैले जित्यो । जिन्दगी त हिसाव दौड हो । अरु कुदे भन्दैमा हिसाव नमिलाई कुद्नुभन्दा पछाडि फर्केर फेरि हिसावकिताव गरेको जाति । ढिलै सही, हिसाव मिलाएर गन्तव्यमा पुगेपछि नतिजा आफ्नो पक्षमा हुन्छ ।

उसो भए कुनै आग्रह–पूर्वाग्रहबिना फर्कौं न त एकपटक ०६२-६३ साल तिर । तपाईं–हामीले जीवन दाउमा चढाएर आन्दोलनमा निस्कँदा ति संघर्षमयी दिनहरूमा कहीं कतै धर्मनिरपेक्षता भन्ने शव्द सुनेका थियौं? भनेका थियौं? पछाडि यो हठात् कसरि, कहाँबाट थोपरियो हामीमाथि? अधिकांश जनसंख्या हिन्दू भएको देश हिन्दू धर्मसापेक्ष हुँदाभन्दा नहुँदा के चाहीं प्रगति भएको छ ? उत्तर खोज्दा थाहा हुन्छ हामी परिवर्तनको नाममा हिसाव विगारेर कुदेका छौं ।

हामीले त्यतिबेला धर्मनिरपेक्षता सहर्ष स्वीकार गरियो किनभने हामीले यसलाई 'सबै धर्मको सम्मान” भनेर बुझ्यौं, 'सहिष्णुताको अझ विकसित रुप” भनेर बुझ्यौं । हिसाव त्यहींनेर विग्रेको हो । हाम्रो आगनमा हाम्रो आस्थाको भगबानको वध गरेर मासु खानेहरू नै उल्टो हामीलाई पो असहिष्णु 'सैतान’ भनिरहेका छन् । त्यही हिसाव सच्याउन आउनुस् तपाईं हामी केहिवेर 'प्रतिगामी” विवेचना गरौं ।


Photo: www.sodahed.com

हाम्रो समाज तहतहमा विभाजित भएका कारण केही कहाली लाग्दा विभेदहरू अझै पनि विद्यमान छन् । हाम्रो यही कमजोरिलाई अश्त्र बनाएर यतिबेला धनी–गरिवबीचको विभेद, लैङ्गिक विभेद, जातिय विभेद सबै हिन्दू धर्म हुन् भनेर बुझाउने दुस्प्रयास धेरै अगाडि बढिसकेको छ । हामी स्वयम्लाई आफ्नो संस्कारको ज्ञान नहुनु, आफ्नो पहिचानमा गर्व गर्न नसक्नु र धर्मलाई अन्धविश्वासको पर्याय बनाएर खुन्खार क्रान्तिकारि शिद्धान्त जवर्जस्ती कोचाउनेहरू यसका असली अपराधीहरू हुन् । हाम्रो अज्ञानता, अशिक्षा, गरिवी र पारिवारिक–सामाजिक असन्तुष्टिलाई हतियार बनाएर केहिले राजनैतिक स्वार्थप्राप्तिका लागि हामीविरुद्ध नै प्रहार गरिरहेका छन् । हामी तिनका चङ्गुलमा फसेका छौं ।

हामीभित्रैका केही समस्यामा परेकाहरूको संवेदना र केही अभिमानिहरूको अहम् प्रयोग गरी दोष जति हाम्रो धर्म, संस्कृति र परम्परालाई थोपरेर धर्म परिवर्तन गराई हामीलाई पहिचानशून्य बनाउने खेल पनि धेरै अगाडि बढिसकेको आभाष भैरहेछ । त्यसैले हाम्रा मिथकहरूको अपव्याख्या गरी हाम्रो इम्युनिटि कमजोर पारेर धर्म परिवर्तन गराउने माहामारिविरुद्ध अव ओखति खोज्नै पर्छ ।

आफ्नो इच्छाअनुसारको धर्म मान्न पाउनु मानिसको नैसर्गिक अधिकार हो । अव यसमा दुईमत रहेन । हामी अन्धाधुन्ध यति अगाडि बढिसकेछौं कि कसैले चाहेर पनि यो कुरा अव परिवर्तन हुन सक्दैन । तर अरुलाई उसकै धर्मको अपव्याख्याले सम्मोहित पारेर, उसका संवेदना र असन्तुष्टिहरूमाथि टेकी संस्थागतरुपमा धर्म परिवर्तन गराउनु किमार्थ स्विकार्य हुन सक्दैन ।

अझ सोच्नुपर्ने कुरा त के छ भने संसारमा जो शक्तिशाली छन् तिनको धर्म मान्नेहरू बहुसंख्यक हुन्थे भने विश्वव्यापी मानवअधिकारको कितावमा धर्मवारे अवश्य यस्तो लेखिएको हुन्थ्यो– 'धर्म भनेको बाबुआमाको रगतबाट सन्तानमा आउने कुरा हो । धर्म रगतमा हुन्छ । जसरि रगत परिवर्तन गर्न सकिदैन त्यसरि नै धर्म पनि अपरिवर्तनिय छ । यदि कसैले कुनै व्यक्तिको सनातनी धर्मविरुद्ध उस्क्याएर उसको धर्म परिवर्तन गराउने प्रयत्न गर्दछ भने त्यो प्राकृतिक नियमविरुद्धको जघन्य कसूर मानिने छ ।’

यि धर्मका ठेकेदारहरूलाई राम्रोसँग थाहा छ, अवको जमाना भौगोलिक अतिक्रमणको होईन । यो त साँस्कृतिक अतिक्रमणको जमाना हो । हाम्रो पहिचान, संस्कृति र धर्म अन्योन्याश्रीत छन् भन्ने बुझेर नै हाम्रो धर्म आक्रमण तारो बनिरहेको छ । अझै पनि हामिले यो कुनै व्यक्ति विशेषको लहड हो भनेर बुझ्यौं भने धेरै ढिलो भैसक्ने छ ।

हालसालै अञ्जु पन्त रोएको भिडियो समुद्रकिनारको गोहीलाई देखाईदिने हो भने अवश्य पनि लाजले वालुवामुनि टाउको लुकाउँथ्यो होला । तिनले स्वेच्छाले अन्र्तहृदयदेखि नयाँ धर्म अङ्गालेकी भए माफी मागिरहनुपर्ने कुनै विषय नै थिएन । अथवा तिनको भनाईको मर्म कसैले तोडमोड गरिदिएको भए घरेलु हिंशाजस्तो विषय घुसाएर सहानुभुतिको भिख पनि मागिरहनु पर्ने थिएन । तिनको मनोविज्ञान र ढीपीबाटै प्रष्ट हुन्छ कि धर्म परिवर्तनको जरो कहाँ छ । तिनले चर्चमा दिएको अभिव्यक्तिले यो संस्थागत षडयन्त्र हो भनेर प्रष्ट गर्छ । भिडियोमा तिनले कसैसामु उसले दिएको निर्देशन पालन गरेको बयान दिएकी छन्– 'अर्कै धर्मको नामको गीतलाई मैले 'प्रभू”को नामको बनाईदिएँ । उसले चालै पाएन ।’

अञ्जु पन्तको अभिव्यक्तिको वारेमा सामाजिक सञ्जालमा भएका वाद प्रतिवाद हेर्ने हो भने धर्म परिवर्तनले नेपालको जनजाति समुदायमा ठूलै स्थान पाईसकेको देखिन्छ । जो सजिलै दिग्भ्रमित हुन्छन्, जसलाई उसकै कमजोरिहरू देखाएर स्खलित गरी आफूअनुरुप प्रयोग गर्न सकिन्छ, जो समाजका भएगरेका प्रचलनसंग वाक्कदिक्क छन् ति व्यक्ती तथा समुदायलाई वशमा पारी प्रयोग गर्र्नु जनयुद्धताका माओवादी रणनीति थियो ।

भलै समग्र माओवादी आन्दोलनका सकारात्मक पाटाहरू पनि थिए, नेपालका जनजातिहरूले भने तिनताका आफूलाई प्रयोग गरिएको माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि बल्ल थाहा पाए । एतिबेला फेरि जनजातिहरूको पहिचानको शुद्ध संवेदनालाई समाएर तिनिहरूलाई कसैको राजनैतिक स्वार्थ पुरा गर्ने फोहोरि हतियार बनाईंदै छ । विश्लेषणशून्य एकोहोरो मगजले 'लिंडेढिपी” गरेर सौताको रिसले पोईको काख चिसो पार्दा 'मुतुराको स्वास्नी” भनेर पहिचान स्थापित हुन्छ । यति त जनजातिहरू आफै जानेका होलान् । हामी 'बाठा वाहुन”हरूले सम्झाईरहन परोइन । अचम्म छ– हामीलाई कसैले तिमीहरु त बाठो भन्दै ढोका अगाडि खाडल खनिरहेछ । हामी वाठो टोपलिंदैमा मख्ख छौं ।

एकपटक एउटा 'नकटो” एउटा सुन्दर गाउँ पसेछ । गाउलेहरू उसलाई हेर्दै हाँस्दै गर्न थालेछन् । नकटोलाई साह्रै रिस उठेछ र बदला लिने जुक्ति निकालेछ । उसले एकजना सोझो मान्छेलाई भनेछ– 'नाक काट्ने हो भने त स्वर्ग देखिन्छ । यै नाक त हो नि स्वर्ग छेक्ने ।’ सोझो मान्छेले 'उसो भए म पनि नाक काट्छु” भनेछ । नकटोले तत्काल उसको नाक चट् पारिदिएछ । त्यसपछि त्यो नयाँ नकटोलाई गाउँलेले सोधेछन्– 'नाक काटेपछि स्वर्ग देखिदोरहेछ त ?’ नकटो विलखवन्दमा परेछ । स्वर्ग त के देखिन्थ्यो र? तर देखिंदैन भनौं दुनियाले गिज्याउने भए । उसले भनेछ– 'अँ देखिन्छ नि । कठै ! हाम्रो पापको सजाएँ परेश्वरले पो सहिरहनुभएको छ । थुक्क हामी पापीहरू !” त्यसपछि त के चाहियो । एकपछि अर्को गर्दै पुरै गाउँ 'नकटो गाउँ” बनेछ । हामीले यतिबेला नेपाललाई नकटो देश बन्नबाट जोगाउनु छ ।

यो विकृति रोक्न सवभन्दा पहिले हामीले आफ्नै वारेमा जान्नु आवश्यक छ । काट्नुभन्दा पहिले नाकले पनि स्वर्ग छेक्छ र भनेर प्रश्न गर्नु जरुरि छ । यसका लागि हाम्रा मिथक र पौराणिक शाष्त्रहरूको सकारात्मक र समयसान्दर्भिक व्याख्या समाजमा पुराउनु पर्छ । हाम्रा चालचलनमा कुरितिहरू, विभेदहरू र असमानताहरू रहुञ्जेल यिनीहरू हाम्रा अस्तित्वविरुद्धमा हतियार बनेर यो वा त्यो तरिकाले प्रहार भैरहने छन् ।

यसको लागि राज्यसंयन्त्र नै गम्भिर हुन जरुरि छ । संसारमा आफूलाई लोकतन्त्रका मसिहा ठान्ने देशहरू चर्चको गतिविधीका लागि औपचारिकरुपमा निती तथा कार्यक्रम निर्माण गर्छन् भने हामीले किन गर्नुहुँदैन ? ध्रुवसत्य त यो हो कि– लोकतान्त्रिक समाज बहुमतसापेक्ष हुन्छ । नेपाल त दुईतिहाईभन्दा बढी हिन्दूहरू भएको देस हो । यही आधारमा पनि, चाहे भन्नेहरू हामीलाई प्रतिगामी भनुन्, लोकतन्त्रको आधारभूत मान्यतानुसार अन्य धर्म मान्नेहरूको पूर्ण सम्मान र कदर गर्दै नेपाल न्यूनतम् पनि हिन्दु धर्मसापेक्ष घोषणा गरिनु आवश्यक छ ।

Comments

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन...

म्याग्दी जिल्लाको दुर्गम गाउँ मराङमा दुनियाँकै सर्वशक्तिमान निर्देशकको एउटा 'रियालिस्टिक' नाटकको 'क्लाईमेक्स' मञ्चन हुदैछ । नाटकको केन्द्रीय भूमिका पाएको त्यही गाउँको एउटा १६ वर्षे अल्लारे युवक ब्रिटिस आर्मीको गल्लाले लिने सबै परिक्षा पास गरेर परदेश लाग्न खुट्टा उचालेको छ । 'वर्षदिन दुःख गरेर ६ महिना खान नपुग्ने' परिवारको ऊ महिनैपिच्छे लाखौं कमाउने आफ्नो लाहुरे सपना साकार हुन लागेको देखेर फुरुङ्ग छ । केहि समय पहिले भारतीय सेनामा झूठो बोल्न नजानेर फालिएको दिनको फ्लासव्याक सम्झेर मनमनै हाँस्दैछ ऊ । अब त अन्तिम पटक गाउँका साईली-माईलीसँग विदावारि हुनै कर लाग्यो । वनतिर एकभारी घाँस काट्न गए मनको यो तिर्सना पुराउन सकिने भो, गोठकी कोरलीको भोक पनि मेटिने भो । निर्देशकले उसलाई हठात् अराएको छ- भार थपेर हलुका हुने अभिनय । 'क्लाईमेक्स' न हो- लामो कसरि होस् - जव पुष महिनाको चिसो दिनमा पनि खुशीले उफ्रदै घर नजिकैको अर्लीभीर पुग्छ ऊ घाँस काट्न, अनि त शुरु भैहाल्छ भयावह 'फ़लिङ् एक्शन' । भीरमा घाँस काट्दै गर्दा अचानक उसको दुवै खुट्टाले सन्तुलन गुमाऊँछन्, समाएको फु...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...