Skip to main content

म कुन पार्टी प्रवेश गरुँ?

म घरै भएको भए कुन पार्टी प्रवेश गर्दो हुँ? रिंगरोड वरिपरि गाडि घुमेजस्तै यो प्रश्न केही दिनयता मेरो मनमा फन्को मारिरहेछ । कतिले ‘तँजस्तो पढेलेखेको, वुद्धिजिवी मान्छे त नेता भएर देश बनाउनुपर्छ’ भनेको पनि सम्झन्छु । पढेलेखेको त म हुँ तर वुद्धिजिवी भन्ने शव्दमाथि मेरो ‘रिजर्भेसन’ नै रह्यो । पढ्नुलेख्नु र वुद्धिजिवी हुनु फरक कुरा । २ वटा कविता लेखे साहित्यकार, २ ओटा गीतमा ढाड हल्लाए कलाकार, २ ओटा सर्टिफिकेट बटुले वुद्धिजिवी– म मान्दिनँ । कमसेकम आफ्नो पेशामा ‘कार’ फूली कमाउन केही न केही विशिष्टता, केही न केही लगानी र त्याग त चाहिन्छ नै, जुन ममा मैले देख्दिनँ यतिखेर । यो कुरामा अर्को बहस हुनसक्छ, म मेरो मूलप्रश्न छोडेर बहकिन थालेछु । साँच्चै घरै भएको भए कुन पार्टी प्रवेश गर्दो हुँ गाँठे?

Photo: www.dreamstime.com 
चुनाव होस् नहोस्– चुनावको माहौल त गाउँमा छ । नेताजीहरुको सरम पचेको अनुहार जनताको दैलोतिर देख्न थालेपछि न हो चुनाव आएछ कि भन्ने गाउँलेले । यस्तो वेलामा घरै भएको भए त म पक्कै कुनै न कुनै पार्टी प्रवेश त गर्दो हुँ वा गराईदो हुँ । जीविकाको सवाल छ ।  मलाई थाहा छ नेता हुने गुण त ममा पक्कै छैन । नेता हुन अडान चाहिन्छ रे । आफ्नै जिन्दगीको अडानमा उभिन नसकेको म मान्छेले राजनीतिमा केको अडान लिंदो हुँ र नेता बन्दो हुँ ।

आत्मसमिक्षा गरिरहेछु आफ्नै विगतको । एस.एल.सि. दिनुभन्दा पहिले हो कि लगत्तै हो, एउटा चुनावमा परदेश हुनुभएको बाबाको नाममा कसैले भोट हाल्न अह्राए । मैले हालें, खासै अडान थिएन । एस.एल.सि.पछि सवैले डाक्टर, ईन्जिनियर बन्नुपर्छ भन्थे । मैले भनें- 'हैन म पत्रकार बन्नी हो ।' पहिलो चोटि अडान लिएको थिएँ होला जिन्दगीमा । त्यहीअनुसार क्याम्पसमा आर्टस् भर्ना भएको थिएँ तर म कहिल्यै 'पत्रकार’ बन्न सकिनँ । कुनै प्रकाशनले पत्याउने योग्यता पुगेन मेरो । त्यो अडानले पनि थेगेन समयको बाढी । त्यसपछि खासै अरु काम नभएपछि पढियो मास्टर्ससम्म, कोहीकोही डवल पनि । अलिअलि शिद्धान्त, आदर्शका कुरा जानियो । गफ पनि पाएको बेला गर्न थालियो । त्यही कुरा स्कूलमा केटाकेटीलाई पनि रटाईयो । यसबीचमा धेरै कुरा भए । ‘ब्रेन ड्रेन’ भनेको निकै राष्ट्रघाती हो, विदेस जानु हुँदैन भनेर रटाउँदा–रटाउँदै हो मेरो अष्ट्रेलियाको भिषा लागेको । अव अरु बाँकी के नै रह्यो र? ढोंगी जिन्दगी कुनै महत्वपूर्ण अडानमा पनि अडिएन । खोला जता बग्यो, म उतै बगें । यस्तो मान्छे नेता हुने कुरै भएन, मैले गर्न सक्ने भनेको एउटै कुरा हो चुनावको मुखमा नेताजीको हातबाट अविर लगाएर पार्टी प्रवेश गर्ने ।

प्रवेश त गर्नी, तर कुन?
नेपाली काँग्रेस?
किन?
मेरा धेरै नातापाता, अधिकांश साथिभाई नेपाली काँग्रेस छन् । कति त नेता नै छन् । म काँग्रेस प्रवेश गर्थें होला ? दुइचार दिनअघि माननीयज्यू नै गाउँ पुगेर अलिकति जनालाई अविर लगाउनुभएछ । प्रवेश गर्नेहरुले अर्को पार्टी प्रवेश गर्दा लगाएको अविर नपुछिएकाले माननीयले धेरै अविर खर्च गर्न परेन रे भन्ने हल्ला व्यापक छ गाउँमा । म पनि तिमध्ये एक हुन्थें होला? अड्कल काट्ने हो । खै के हुन्थ्यो । समयले मलाई अहिले यस्तो बनाएको छ । घरै भएको भए कस्तो हुन्थें । यस्तो हुन्छु, उस्तो हुन्छु भनेर हुनसकेको भए पो, यस्तो त म हुन्थिनँ होला भनेर भन्न सुहाउला । नत्र त म पनि कुन वारिको मुला हो र? त्यसमाथि म गगन थापाको फ्यान । मेरै साथिहरु उनको टिममा अहिले पनि मज्जैले काम गरिरहेछन् भन्दा अझै पनि मन खुसी हुन्छ । कताकता हराएको आशाको किरण भेटिन्छ । म काँग्रेस हुन्थें होला । मेरो तर्क हुन्थ्यो होला देशको पुरानो अनि निरंकुश व्यवस्था परिवर्तनमा पटकपटक नेतृत्व लिएको, प्रजातान्त्रिक पार्टी । ह्यान-त्यान, आदि इत्यादी ।

होईन म एमाले पो प्रवेश गर्थें होला । एमाले भनेको कम्यूनिष्ट, सर्वहाराको पार्टी भन्छन् अरु त सामन्त हुन् रे । अस्ति भर्खर भारतले नाकावन्दी लगाउँदा केपी ओलीले कस्तो डटेर सामना गरे । अहिले पनि उनी नेपाली शीर कसैसामु झुक्नु हुँदैन भनेर कस्तो भाषण गर्छन् । म त एमाले पो प्रवेश गर्थें होला । जे भए पनि राष्ट्र रहे पो जनता रहिएला नत्र त कसैको गुलाम पो हुनुपर्छ त बाबै । फेसवुक हेर्दा यस्तो लाग्छ एमाले नभएको भए त एतिबेला हरु पार्टीले देश बेचि पो सक्थे होला । अरु पार्टीमा लागे त माहापाप लाग्छ । मैले मबाट त्यस्तो अन्याय हुन दिने थिइनँ होला ।

हैन-हैन, म माओवादी पो हुन्थे नि । त्यत्रो त्याग र बलिदानबाट आएको पार्टी । निरंकुश राजतन्त्र उसकै बलमा फालियो । देशमा परिवर्तको यत्रो हौवा पिटाउने पार्टी त माओवादी पो हो त । अरु त हो-मा-हो मिलाएर खाने बेला भाग बसेका ।  कुनै समय क्रान्तिविना परिवर्तन असंभव छ भन्ने निष्कर्षमा सहमत भएर रगतजस्तै रातो रंगले भित्तामा ‘किलोशेरा टू बन्द गर’ भन्दै लखेर राँको बाल्दै हिंडेको ज्यान पो हो त । म त माओवादी हुन्थें होला नि ?

होईन, केको माओवादी हुने हो । म त नयाँ शक्ति पो । उ वेला माओवादीहरुसँग कुरा हुँदा सात-सात वटा विषयमा पि.एच.डि. गरेका बाबुराम भटराई त माओवादीमा लागेका छन् । तिमरु भूराहरुले यस्तो र उस्तो भनेर हुन्छ भन्दै ‘कन्भिन्स’ गर्थे कामरेडहरु । तिनै भटराई त माओवादीमा छैनन् अचेल । म त उनकै पार्टीमा लाग्थें होला नि ।

उफ् म कुन पार्टीमा लाग्थें होला ? कमल थापाले हामी हिन्दूहरुलाई अन्याय भो भन्दै छन्, हो कि जस्तो लाग्छ । रविन्द्र मिश्र त झन् पत्रकार हुने रोईलो पुरा नभएको ‘म’को  रोल मोडल । उनी साझा पार्टी भन्छन् । जति सोच्छु उति अन्यौलग्रस्त पो हुँदै छ त मेरो पार्टी प्रवेश गर्ने कुरो । एकमन सोच्छु– म जावो ‘भगौडो’ सुरुसुरु एकमानो कमाउन लागे भैगो नि, केको राजनीतिमा यतिविधी चासो राखेर टाउको दुखाउनु परेको होला । तर मन मान्दै मान्दैन । भन्छ मेरो एक भोट मैले अव मेरै विवेकले हाल्छु, त्यसका लागि मैले एउटा चिन्ह त चुनावको लागि रोज्नैपर्छ ।
तर पुरानो तरिकाले निष्कर्ष आएन गन्थनको ।
अव फरक तरिकाले सोच्न पर्ने भो ।

दशकौं भैसक्यो स्थानीय निकायको चुनाव रोकिएको । यो के कारण भयो त्यतापट्टिको अर्कै वहस हुन्छ फेरि । चुनाव रोकिए पनि स्थानीय निकाय त रोकिएन, चलिरह्यो । जसरि चल्नुपर्थ्यो चलेन होला तर चल्न त चल्यो । गाउँमा विविध घटनाक्रमहरु त भए । अलिकति संसदिय चुनावहरु पनि भए । मान्छेहरु सत्तामा, केन्द्रमा त पुगिरहे । यसबीचमा गाउँगाउँमा मोटरबाटोको नाममा डोजर त पुग्यो । विजुलीको नाममा पोलहरु गाडिए, तारहरु गाडिए । विकासको सानोतिनो वजेट गाउँमा त पुगिरह्यो । सोच्दैछु अव यिनै घटना वरिपरिबाट मैले मेरो प्रश्नको हल खोज्नुपर्छ ।

म स्थानिय निकाय पुनर्संरचना हुनभन्दाअघि पर्वत जिल्लाको माझफाँट गा.वि.स.को मतदाता । स्थानीय निकायको चुनाव रोकिएपछि, गा.वि.स.ले पाउने बजेटबाहेक मेरो गाउँमा विकासका नाममा २ ओटा महत्वपूर्ण काम भएका छन् ।  ति हुन् विजुलीवत्ती र मोटरबाटो । मैले आफैलाई सोधिरहेछु त्यो घना सालको वर्खेवनको भित्रभित्र १२ घुम्ती बनाएर हिंड्दाभन्दा ढिलो हुने गरी कस्ले कुन प्रयोजनको लागि मोटरबाटो बनायो होला ? कुहिएको एक पाथी चामल दिएर दिनभर गैचिवेल्चा चलाउन हामिलाई कस्ले लगायो होला? फेरि त्यो मोटरबाटोलाई सुधारेर थोरै बजेटमा गाउँको सवैभाग समेट्ने गरी लैजान सक्ने संभावना हुँदाहुँदै अर्को बाटोको लागि भूर्तूलामुनि पहिरो कस्को स्वार्थले चलायो होला ? यिनै मोटरबाटोको सेरोफेरोमा निर्माण र मर्मत शिर्षकमा आएको बजेट ककस्को घडेरिसम्म पुगेर टुँगियो होला?

विजुलीको पोल र तार बोक्ने, खाडल खन्ने र तार टाँग्नेसम्म काम जनताको भएपछि ति शिर्षकमा आएका रकमले क–कस्को के विकास भए होला? गावैभरि धुरन्धर राजनीतिज्ञहरु भएको हाम्रो गाउँले विजुलीको विल तिर्न महिनैपिच्छे जिल्ला सदरमुकाम जान किन परेको होला?

म छक्क छु, मेरा मूल प्रश्नको हल उत्तर खोज्दा भेटिएन । उल्टो सवैलाई उत्तर थाहा भएका यि सामान्य प्रश्नहरुले समाधान निकाल्दै छन् मेरो हुटहुटीको ।

गाउँका यतिका वर्ष आएको बजेट के–के शिर्षकमा कहाँकहाँ खर्च भयो होला? बजेट कति समतामूलकरुपमा बाँडियो होला? दलित तथा पिछडिएका वर्गलाई क–कस्ले प्राथमिकतामा राखे होलान् ? क–कस्ले बाँडे होलान् बजेट? गाउँमा सचेतना जगाउने स्कूलहरुलाई सुधार गर्न कसैले अभियान चलाए होलान् कि नीजि स्कूलको आडम्वर देखाएर सरकारि स्कूल वन्द गर्नुपर्ने अवस्थामा पुराए होलान् । नीजि स्कूल पनि पार्टिविशेषका खुले होलान् कि नहोलान् । गाउँका प्राकृतिक सम्पदा जोगाउन कसैले वल गरे होलान् कि, गाउँका बीचमा रहेका वरपिपलका रुख काटेर इट्टाका डंगूर खडा गरे होलान् । किन गरे होलान्?

अहो ! दल जुनसुकै होस्, नयाँ– पुरानो, जुन–जुन मुन्छे बाटो, विजुली, स्वास्थ्यचौकी, स्कूल, वन, खानेपानी, कुलो आदि इत्यादीमा टाउके वनिरहे, तिनै मुन्छे त हुन् अहिले हाम्रो नेता बन्न खुट्टो उचालेका । अरु त कोही छैनन्, देखिँदैनन् । हामीले चिन्न बाँकी कोही–केही छ जस्तो त लाग्दैन ।

अव मेरो प्रश्नको बोझ विस्तारै घट्दै गएको छ  । संभावित नेताहरुको अनुहार र तिनको इतिहास हेर्दा पुरै निराश हुनपर्ने अवस्था देखिदैन, खुसिको कुरा । दुधले धोएको कोही व्यक्ति छैन, दल छैन तर कलंक लागेको फोहोरि टाउको निर्वाचित नहोस्, त्यही हेरेर पार्टी प्रवेश गर्नु छ म र महरुले ।

जोसँग परिवर्तनको लागि केही समयका लागि अप्रिय भए पनि साँघुरा परिधीहरु तोड्न सक्ने आँट, जोश र उमेर छ, जसले आफ्नो निर्वाचन क्षेत्र र सिंगो देशलाई समतामूलक आँखाले हेर्नसक्छ, जसले गाउँपालीकाको बजेट सबै वडाहरुमा न्यायोचितरुपमा पुराउन सक्छ, जसले पिछडिएको वर्ग समुदायलाई प्राथमिकतामा राख्न सक्छ, जसले दलितहरुलाई पार्टी होईन मन्दिर प्रवेश गराउन सक्छ, जसले दलित मन्दिर प्रवेश गर्नु बाहुनहरुको अधिकार खोसिनु होईन भनेर बुझाउन सक्छ, जसले गाउँका ढुँगामाटो, वन जंगललगायतका प्राकृतिक सम्पदा र साँस्कृतिक धरोहरलाई जोगाईराख्ने हिम्मत राख्छ र जसले गाउँमा अवसरको सिर्जना गर्न ल्याकत राख्छ, म त्यही नेताको पार्टीमा प्रवेश गर्ने हो । चुनावको चिन्ह जेसुकै लिएर आउन् मलाई बाल मतलव ।
***

Comments

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन...

म्याग्दी जिल्लाको दुर्गम गाउँ मराङमा दुनियाँकै सर्वशक्तिमान निर्देशकको एउटा 'रियालिस्टिक' नाटकको 'क्लाईमेक्स' मञ्चन हुदैछ । नाटकको केन्द्रीय भूमिका पाएको त्यही गाउँको एउटा १६ वर्षे अल्लारे युवक ब्रिटिस आर्मीको गल्लाले लिने सबै परिक्षा पास गरेर परदेश लाग्न खुट्टा उचालेको छ । 'वर्षदिन दुःख गरेर ६ महिना खान नपुग्ने' परिवारको ऊ महिनैपिच्छे लाखौं कमाउने आफ्नो लाहुरे सपना साकार हुन लागेको देखेर फुरुङ्ग छ । केहि समय पहिले भारतीय सेनामा झूठो बोल्न नजानेर फालिएको दिनको फ्लासव्याक सम्झेर मनमनै हाँस्दैछ ऊ । अब त अन्तिम पटक गाउँका साईली-माईलीसँग विदावारि हुनै कर लाग्यो । वनतिर एकभारी घाँस काट्न गए मनको यो तिर्सना पुराउन सकिने भो, गोठकी कोरलीको भोक पनि मेटिने भो । निर्देशकले उसलाई हठात् अराएको छ- भार थपेर हलुका हुने अभिनय । 'क्लाईमेक्स' न हो- लामो कसरि होस् - जव पुष महिनाको चिसो दिनमा पनि खुशीले उफ्रदै घर नजिकैको अर्लीभीर पुग्छ ऊ घाँस काट्न, अनि त शुरु भैहाल्छ भयावह 'फ़लिङ् एक्शन' । भीरमा घाँस काट्दै गर्दा अचानक उसको दुवै खुट्टाले सन्तुलन गुमाऊँछन्, समाएको फु...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...