Skip to main content

नेपाली बैज्ञानिकको चमत्कार

प्रायः राती अवेरसम्म वत्ती बलिरहने एउटा युवाको कोठामा यसपाली लगातार एक हप्ता वत्ती ननिभेपछि घरवेटी अन्टीले ससंकित हुदै ढोका ढक्ढक् गर्नुभयो– ‘बाबु ऽ ए बाबु ।’ भित्रबाट तुरुन्त आवाज आयो– ‘हजुर भाउजु ।’ एकैछिनपछि त्यो युवक डण्डिफोर आएको नाकमा अड्याएको सेतो पावरवाला चस्माले राताराता आँखा छोपेर देव्रे हातको कान्छी औलामा पालेको नङ्ले गालाको डण्डिफोर कोट्याउँदै अर्को हातले डटपेन र कापी च्यापेर उ बाहिरिंदै थियो ।

‘एतिका दिनपछि बाबु आज ठूलै काम छ जस्तो छ बाहिर ?’ अन्टीले जिस्क्याउँदै फेरि सोध्नुभो ।
‘परिक्षा छ भाउजु’– उसले उत्तर दियो ।
‘अनि एति विहानै हो त परिक्षा?’
‘परिक्षा त १० बजेबाट हो । प्रकट सरकोमा जानु छ । अनि त्यसपछि परिक्षा दिन जाने हो ।’
संवाद सकियो । वत्ति ननिभ्नुको उत्सुकता पनि मेटिएजस्तो भयो । तर त्यही दिनको मध्यान्हतिर फेरि अर्को एउटा अनौठो भयो । १० बजेबाट स्नातक तहको परिक्षा छ भनेर विहान ७ बजे निस्किएको मान्छे १२ नबज्दै घर फर्किएको छ ।

‘हैन बाबु १० बजेबाट परिक्षा भनेको हैन? २ घण्टा नवित्दै घर आउनुभएको छ त ?’

‘प्रकटकोमा गएको भाउजु, प्रकट सर घरमा हुनुहुँदो रहेनछ । आमाले प्रकट बाहिर गएको छ, एकछिन बस बाबु भनेर प्रकटको खाट देखाईदिनु भयो । त्यहीं बसेको । निदाएछु । पछि प्रकट आएपछि निदाएको मान्छेलाई के डिस्टर्व गर्नु भनेर कुरेर बस्नुभएछ । व्यूझिंदा त एतिबेला भैसकेछ !’ अचम्मको कुरा थियो त्यो । तर एस्ता अचम्म भविन्द्रसँग संगतमा परेकाले प्रायः भोगिरहन्थे । यिनी धौलागिरिका क्षमतावान युवा साहित्यकार पनि हुन् । साहित्यमा यिनलाई भवभिन्न भनेर चिनिन्छ । प्रकट भनेका चाहिँ पत्रकार प्रकटकुमार शिशिर । नेपाली साहित्यका धुरन्धर भविन्द्र पछि नेपाली विषय लागेर फेल भए । यो कुरा लामो समयसम्म्म हामीमाझ एउटा किस्सा बनेर रह्यो । सोहि दिन यिनको परिक्षा त सकिएको थियो तर कोठामा वत्ती ननिभ्ने प्रकृया धेरै समय सकिएन ।


कलाकृति: गणेशकुमार

कुरा ०६०–६१ सालतिरको हो । देशमा संकटकाल थियो । एउटा युवा हातमा केही फलामका टुक्राटाक्री बोकेर विहान सवेरै कोठाबाट निस्कन्थ्यो र बेलुका साँझ परेपछि धुलोमैलो हुँदै घर छिथ्र्यो र सामानहरू पोको पारेर खाटमुनि लुकाउँथ्यो । क्याम्पसमा नेपाली साहित्य र गणितको विद्यार्थी उसँग बाँसका दराजभरि आईन्सटाईन, न्यूटन, ग्यालिलियो र आर्किमिडिजका जीवनी र भौतिक विज्ञानसँग सम्वन्धित कितावहरू पाईन्थे । घरमा पुगेपछि उ ति धातुका सामानहरूभन्दा वेसी तिनै कितावहरूसँग लडिरहेको भेटिन्थ्यो भने कतिकति बेला खाटमुनिबाट ति फलामका टुक्राहरू निकाल्थ्यो ।

एक दिन सेनाका जवानहरू हामी वसेको घर तलासी गर्न छिरे । घरलाई वरिपरिबाट घेरा हालिएको थियो । सेनाका जवानहरूसँग उनको प्रश्न–उत्तर भएको मेरो कोठाबाट रातको सन्नाटामा मैले प्रष्टसँग सुन्न सक्थें । उनले भन्दै थिए– ‘सर यो कुनै विष्फोटक पदार्थ बनाउन लागेको होइन । मैले विज्ञानको परिक्षण गरिरहेको छु ।’ पछि वादविवादबीचमा एउटा परिचित आवाज आयो– ‘ए भवभिन्न सर पो । साथी हो । उहाँलाई शंका नगर्दा हुन्छ । उहाँ त्यस्तो मान्छे हैन ।’ त्यसपछि त मेरो मन पनि हल्का भयो । उनी कति हल्का भए होलान् उनैलाई सोध्नुपर्छ ।

तर त्यसपछि उनी कहिल्यै ति फलामका औजारहरूसँग देखा परेनन् । पछि एउटा स्थानीय ग्रीलका एकजना साथीले म पनि त्यही घरमा बस्छु भन्ने थाहा पाएपछि मलाई सोधे– ‘भवभिन्न सर कता जानुभयो हिजोआज । एउटा नयाँ मेशिन बनाउँछु भनेर त्यतिका दिन ग्रीलमा बस्नु भयो । काम नसकिकन आउनै छाड्नु भयो ।’ त्यसपछि बल्ल मैले थाहा पाएँ उनी कुनै मेशिन बनाउन ग्रील जाँदा रहेछन् ।

समय बित्दै गयो । उनको मेशिन खाटमुनिबाट निस्किन छाड्यो अब । त्यसमाथि पनि देशको राजनीति अलि असहज नै हुँदै गयो । यो प्रसङ्ग यतिकै सेलाएर गयो । तर जव देशमा दोश्रो जनआन्दोलन ०६२–६३ सेलायो, यो प्रसङ्ग फेरि तातेर आयो । यतिबेलासम्म उनी काठमाण्डौ बसाई सरिसकेका थिए । अहिले सम्झँदा लाग्छ– हाम्रा नेताले, हाम्रो राजनीतिले आफै केही गर्न नसके पनि गर्ने वातावरण कुण्ठित नगरिदिए मात्र हामी नेपाली मानव विकासको यो दौडमा एति धेरै पछि त पक्कै पर्ने थिएनौं ।

०६२–६३ को राजनीतिक परिवर्तन पछि शाही ‘कू’ले थचारिएको एउटा वैज्ञानिक फेरि उठ्यो । तर यो रोकिएको स्थानभन्दा धेरै माथिबाट उठ्यो । यो बीचमा उसले विज्ञानसम्वन्धि थुप्रै ठेलीहरू सकाएर उठ्यो र भन्यो– अहिले भौतिकविज्ञानमा भएका स्थापित केहि शिद्धान्तहरू पूर्णरुपमा गलत छन् । नेपालको कुल विद्युत उत्पादन क्षमता ८४ हजार मेघावाट छ भन्ने मापन त झन् हाँसोलाग्दो छ । आर्किमिडिजको उध्र्वचापको शिद्धान्त गलत छ । न्यूटनको ‘सेकण्ड ल अफ मोसन’ त्रुटिपूर्ण छ । तर कस्ले पत्याउने ? मैले पनि पत्याइनँ त्यो बेला ।

पछि यिनले यसै विषयमा कितावहरू नै लेखे । म पनि विस्तारै विस्तारै उनका कुराहरूमा आकर्षित हुन थालेको थिएँ । एकदिन मैले कुरा जान्ने उत्सुकता देखाएपछि उनले कागजका दुईओटा गिलास प्रयोग गरेर निकै सहजरुपमा कुनै पनि तरल पदार्थमा कुनै ठोस बस्तु डुवाउदा त्यसले विस्थापन गरेको तरल पदार्थको तौल उक्त वस्तुको तौलसँग वरावरमात्र नभएर घटी वा बढी जे पनि हुनसक्छ भनेर देखाएपछि उनको कुरामा दम छ भन्ने बल्ल मलाई लागेको हो । हाईस्कूलमा पढेको विज्ञानको भरमा मैले योभन्दा बढी जान्ने हैसियत राख्दैनथे ।

समय वित्दै गयो । उनले आफ्ना अनुसन्धान र आविष्कारलाई सबैसामु फैलाउन चाहे । त्रिभुवन विश्वविद्यालयको विज्ञान संकाय, यसअन्तर्गतका विद्यार्थी सबैले यिनलाई पागल भने । तिनीहरूले आजसम्म भगवान् मानेका आइन्सटाईन, आर्किमिडिज, न्यूटन र तिनले प्रतिपादन गरेका ‘अपरिवर्तनीय वैज्ञानिक सत्य’ गलत छन् भनेपछि तिनले निको पनि किन मानुन् ? आजसम्म एकोहोरो रटान लगाएका सुत्रहरू गलत् छन् भनेर मानिहालेमा तिनले आफ्नै भविष्य पनि अन्धकार देखेहुनन् । ‘थ्री इडियटस्’का ‘भाईरस’ प्रवृत्तिका तिनीहरूले भवभिन्नलाई लगातार ४ वर्ष पागल भनिरहे । साँच्चै पढ्नु र जान्नु भनेको अत्यन्तै भिन्न कुरा रहेछ । आफूलाई भौतिक शाष्त्रका दिग्गज मान्नेहरू इश्र्याले जले र भवभिन्नका यि आविष्कारहरूलाई जान्नै नखोजी निरन्तर बहिस्कार गरिरहे र उनको विषयमा गलत प्रचारवाजी समेत ।

आफूले गरेको खोजलाई भौतिकशाष्त्रसँग सम्वन्धित अग्रजहरूले सहयोग गरेर यसको संरक्षण र प्रवर्धन गर्लान् भन्ने सोचेका भवभिन्न माथि अव एउटा नयाँ चुनौति थपिएको थियो । एकातिर कसैले उनको आविस्कारलाई मेरो भनेर प्रचारवाजी गरिदिन सक्थ्यो, अर्कोतिर आफ्ना नयाँ शिद्धान्तहरूमा आधारित भएर कुनै मेशिन बनाउन सकेमात्र आफ्नो दावी प्रमाणित गर्ने प्रशश्त आधारहरू निर्माण हुनसक्थे ।

समय वित्दै गयो । भवभिन्नले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजानिक गरी सोसम्वन्धि पेटेन्ट लिएको र म परदेश लागेको बर्षौं वितिसक्यो । म यतै हराएको छु तर अनौठो लाग्छ– व्यापक प्रतिकूलताका बाबजुद पनि भवभिन्न हराएका छैनन् । उनका प्राज्ञिक समर्थकहरू ह्वात्तै बढेका छन् । झन् महत्वपूर्ण त तिनले मेशिन बनाएका छन् र २०६९ असार ३० गते राती १ बजे यसको सफल परिक्षणसमेत गरेका छन् । यसले विज्ञानसँग चासो राख्ने समुदायमा ठूलै हलचल मच्चाईदिएको छ एतिबेला । उनले मेशिनको प्रदर्शनीमा आर्किमिडिजको उध्र्वचापसँग सन्वन्धित शिद्धान्त प्रस्टरुपमा गलत छ भनेर आफ्ना तर्कहरू प्रमाणित गरेर देखाएका छन् । देशमा उर्जासंकटले विकराल रुप लिएको बेला उर्जा उत्पादनको अझ सहज र संभावनायुक्त सिद्धान्त प्रतिपादन गरेर विश्वले नै एकपटक नियाल्नुपर्ने कार्य उनले गरेका छन् ।

त्यसो भए अव के त? यि अक्षरहरू कोरिरहनुको वास्तविक आशय पनि के हो भने हामी नेपालीहरू एउटा फोहोरी राजनीतिक दलदलमा नराम्रोसँग फसेका छौं । दलीय राजनीति त परै छोडौं व्यक्तिव्यक्तिबीचको रिस, राग र इश्र्याको राजनीति पनि अत्यन्तै डरलाग्दो छ हामीबीचमा । हाम्रो सरकारले यि कुराहरूको विश्वव्यापीरुपमा चर्चा र चासो पाउने गरी प्रवर्धन गर्ला भनेर हामीले आशा गर्नु सर्वथा गल्ती हुनेछ ।

कुनै पनि स्थापीत मूल्य मान्यताको विरुद्ध आवाज उठाउनु नदीको प्रवाहमा उल्टो पौडिए सरह हो । सबैलाई थाहा नहुनसक्छ– सन् १६३३ ताका महान् वैज्ञानिक ग्यालिलियो ग्यालिलिले ‘पृथ्वी चेप्टो हैन गोलाकार छ र व्रम्हाण्डका अन्य ग्रहहरूले पृथ्वीलाई हैन पृथ्वीलगायत ग्रहहरूले सूर्यलाई परिक्रमा गर्दछन्’ भनेर भन्दा क्याथोलिक कट्टरपन्थीहरूले उनलाई जेल हालेका थिए । पछि आफ्नो अडान परिवर्तन नगरे जिन्दगी जेलमा नै सडेर जाने देखेपछि ‘होइन रहेछ पृथ्वी चेप्टो नै रहेछ, अनि सूर्यलगायत ग्रहहरूले पृथ्वीलाईनै घुम्दा रहेछन्’ भनेर झुठो बोलेर जेलमुक्त भएका थिए । एतिबेला भवभिन्नको १०– १२ वर्षदेखिको तपस्या पुरा भएको छ । यसका लागि तिनले के–के गुमाए त्यो उनको चासोको विषय हैन एतिबेला, तर जुनकुरा आज एउटा अकाट्य सत्य भएर स्थापित भएको छ, त्यही कुरा बोल्दा कुनै प्रथम विश्वका वैज्ञानिकले यस्तो नियती भोग्नु परेको थियो भने हामीले विचार नपुराउने हो भने हाम्रा भविन्द्रले भोग्ने नियती अझ भयानक हुनसक्छ ।

एतिबेला जनताकै भरमा थेगिएको छ हाम्रो देस । तसर्थ हामी नेपालीहरूले यस विषयमा आ–आफ्नो ठाउँबाट प्रचार–प्रसार र सम्वद्र्धन गर्न अत्यन्त जरुरि छ । त्यसमाथि पनि विज्ञानसम्वन्धि ज्ञान र चासो राख्ने र मुख्य गरी पहिलो विश्वमा रहेका नेपालीहरूको यस विषयमा अझै ठूलो जिम्मेवारि रहेको छ ।

मलाई थाहा छ– भौतिकशाष्त्रका सिद्धान्तहरूको अध्ययन, मनन् अनि विश्लेषण गर्नसक्ने सकारात्मक सोंच भएका नेपालीहरू देश अनि विदेशमा प्रशस्त छन् । उहाँहरूलाई मेरो एउटा विनम्र अनुरोध छ– कृपया भविन्द्र कुँवरका यि नयाँ बिचार तथा शिद्धान्तहरूको एकपटक चासोपूर्वक मनन् गर्नुहोस् । यो चुनौति हो । यदि उनी गलत छन् भने, गल्ती औल्याईदिनुहोस् । र यदि उनी सहि छन् भने समग्र भौतिकविज्ञान र मानवजातीको उत्थानको यो प्रयासलाई प्रवर्धन गर्नुहोस् । अनि मात्र हामी नेपालीले गर्व गर्नसक्ने कुराहरू बढेर जानेछन् ।

Comments

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...

कविता : कुहिरोको काग

कुहिरोको काग मैले आँखा खोल्दा देखेको यो विशाल पहाडपल्तिर मैले आँखा चिम्म गर्दा देख्ने एउटा संसार छ, जहाँ मान्छेहरु ढुँगामाटोको घरमा हाँसीखुसी सरल जिन्दगी बाँच्छन्, जहाँका खोलानालामा कन्चन चिसो पानी बग्छ, झरनाहरुले गीत गाउँछन्, हिमालहरु हाँस्छन्, पंक्षीहरु नाच्छन्, वर पीपलका पातले ताली बजाउँछन्, जहाँ बाँसका टटेला काटेर केटाकेटीले फिरफिरे नचाउँछन्, मुखुन्डो बनाउँछन्, छाताको करङ् तताएर निगालोमा प्वाल बनाउँछन् र बाँसुरि बजाउँछन्, चौतारिहरुमा खेताला खेताल्निले भारि विसाउँछन्, मुलको पानीमा पिपलको पातलाई ढुँगाले च्यापेर तिरतिरे धारो बनाउँछन्, अनि तिर्खा मेट्छन् अर्मपर्म गरेर बालीनाली लगाउँछन्, ऐचोपैंचो गरेर पनि छाक चलाउँछन्, चकचके केटाकेटीहरु पाखाभरि पल्टिन्छन्, चरनका गाइवस्तुहरुले नुहाउने आहालमा पौडिन्छन्, मकै र भटमासको खाजा कितावसँगै झोलामा हालेर स्कूल जान्छन् र बाँडेर खान्छन्, जहाँ साँझविहान घरको ढोका बन्द गर्नु अशुभ मानिन्छ, जहाँ पाहुना भगवान सरह हुन्छन्, माग्नेहरू साधु हुन्छन्, जहाँ गाईनेको गित सुनेर मान्छेहरु रुन्छन्, जहाँ जनावरहरु छेक्ने अगुलो भए पुग्छ, ढोकामा ताला चाहिँदैन, जहाँ ढुँगा...