Skip to main content

धर्म इमान्दारिताको निरन्तरता हो

हाईस्कूल पढ्दाताकाको कुरा हो जव हिउँदको चिसो सुरु हुन्थ्यो तव मेरो मन भने त्यसैत्यसै न्यानो र फुरङ्ग भएर आउँथ्यो । कारण यतिवेला महिनाभरसम्म श्रीस्वस्थानी व्रतकथा चल्छ । साँझ भयो कि त्यही स्वस्थानी सुन्ने निहुँले वाहिर निस्कन पाईन्थ्यो । स्वस्थानीमा शीवजी र पार्वतीका प्रेमलापका कथाले मेरो किशोर मन वास्तवमै चङ्गा हुन्थ्यो । बुझ्ने टोपलिँदै गएपछि न हो अलिअलि जिम्मेवारिको कुरा थपिएको नत्र भने मैले श्रीस्वस्थानी व्रतकथाको किताव दर्जनभन्दा बढी पटक शीव–पार्वतीको ‘लभ स्टोरि’का लागि पढेको छु । लभस्टोरिवाहेकका अध्यायहरुमा मेरो खासै ‘इन्ट्रेस्ट’ भएन । चाँडोचाँडो पढेर सकिदिन्थें ति अध्यायहरु म । यो मेरो मात्रै कथा होईन: मेरा सहपाठिहरु कृष्ण, वाबुराम, भुवन, क्षेत्रे, मेखे, दीपक, प्रताप सवैले यसै भन्थे ।

प्रसङ्ग फेरि पनि हाम्रो हिन्दु धर्मको हो र यसको व्याख्या–अपव्याख्या कै हो । स्वस्थानीको कथाअनुसार बूढो शीवजीले एउटी निर्दोष वालिकालाई झेलपूर्वक विहे गर्छन् । कृष्णचरित्रअनुसार श्रीकृष्णले खोलामा नुहाईरहेका गोपिनीहरुको लुगा लुकाएर तिनीहरुको वैंश हेर्छन् । माहाभारतले एउटी द्रौपदीलाई पाँच पाण्डवकी श्रीमती हुनु वाध्य वनाएको छ । रामायणमा रामले सीताजस्ती पतिव्रता श्रीमतीलाई अग्नीपरिक्षा लिन्छन् । त्यसैले हिन्दुधर्मले नारिहरुको सम्मान गर्दैन । यही विषयलाई लिएर मैले आजभोलि कैयन् दिदीवहिनीहरुले आफ्नो धर्मको अनादर गरेको देखेको छु । धर्म परिवर्तन गराउनेहरुलाई त हामीलाई बसिभूत गर्ने योभन्दा सजिलो तर्क अरु के हुनसक्ला?

व्यवहारिक तथा समाजशाष्त्रिय दृष्टिकाणबाट हेर्दा यसको गुदी स्पस्टरुपमा फरक छ । आफू र आफ्नो अधिकारको वारेमा सचेत हुनु पक्कै पनि राम्रो कुरा हो तर कुरै नबुझी उमठिएर त कहिं पुगिदैन । मैले यसो भन्दै गर्दा कट्टर पण्डितहरुको मनले सायद नमान्ला तर हाम्रा पौराणिक ग्रन्थहरु भनेका त्यो समयका साहित्यिक सिर्जनाबाहेक अरु केही होईनन् । त्यो समयमा साहित्यका मुख्यपात्र राजा माहाराजा नै हुनुपर्थ्यो । कथा–कवितामा सर्वसाधारण मान्छे मुख्यपात्र भएर आएको त कति नै भयो र? वाकस्वतन्त्रता त्यो वेलाको समाजमा ठालूहरुको गुणगानको सेरोफेरोमा समित थियो । यस्तो परिस्थितिमा लेखकहरु शाशक वर्गले जस्तो रुचाउँछन् त्यस्तै सिर्जना गर्न वाध्य थिए । समाज पुरुषप्रधान थियो । सम्भवतः हाम्रा धार्मीक ग्रन्थका लेखकहरु पनि प्रायः पुरुष नै थिए । त्यस्तो अवस्थामा ति मिथकहरुमा नारिहरुलाई समान हैसियतमा चित्रण गरिएन भनेर चित्त दुखाएर समग्र हिन्दु धर्मलाई नै घृणा गर्नु कति तर्कसंगत होला ?



Photo: www.commskillsgroup.com

अरुहरुसँग नारिपात्र नै सिर्जना गर्ने साहस नभएको समयमा माहालक्ष्मी, सरस्वती जस्ता शक्तिशाली नारिहरुको परिकल्पना गरेको सुनौलो इतिहास हाम्रो मात्रै त हो । त्यसैले बुझ्न जरुरि छ– दोष धर्म मान्ने समाजको होइन, पितृसत्तात्मक सामाजिक संरचनाको हो । विरोध धर्मको होइन, व्यवस्थाको गरेको ठिक छ ।

पढेलेखेका मान्छे थोरैमात्र हुने त्यो समयमा मनोरञ्जनका लागि पण्डितको घरमा जम्मा भई कथा सुन्ने प्रचलनको नयाँ संस्करण हो अहिलेको श्रीस्वस्थानी व्रतकथाको एक महिने कर्मकाण्ड । त्यो समाजमा हाम्रा प्रारम्भिक धर्मग्रन्थहरु र पण्डितहरुले गर्ने तिनको व्याख्या समाजको संविधान थियो । हाम्रा धर्मग्रन्थहरुले हाम्रो समाजलाई शुसासन, अनुशाशन र इमान्दारिता सिकाएर विकासको यो युगसम्म ल्याईपुराउन महत्वपूर्ण भूमिका खेले । पछि समाजको विकासक्रमसँगै तिनै पण्डितहरु नयाँ ग्रन्थहरुको रचना गरे । नयाँ ग्रन्थहरुमा तिनले आफूअनुसारको मसला मिसाए र समाजलाई अन्धाधुन्ध अनुसरण गराए । अनि धर्म विकृत हुँदै गयो । जव साहित्य दैवीपात्रहरुको दासत्वबाट उम्क्यो तव ति हाम्रा पौराणिक ग्रन्थहरु झन् अन्धरुपमा अनुसरण हुन थाले ।

काम, क्रोध, लोभ, मोहलाई मानिसले वली दिनुसक्नु पर्छ भन्ने मान्यता राख्ने हाम्रो धर्मलाई पथभ्रष्ट गरी पञ्चवली र मूर्तिपूजासम्म ल्याएर निर्दोष प्राणीहरुको रगतको खोला बगाउने विन्दुसम्म ल्याईपुराउने यिनै रक्तपिपासु पण्डितहरु हुन् । धर्मात्मा बन्ने निहुँमा त्यो युगसान्दर्भिक घटनाक्रमहरु तत्पश्चातका युगमा जस्ताको तस्तै अनुसरण गर्दै, गराउँदै आउँदा अहिले आएर पुरै धर्म नै असान्दर्भिकजस्तो भएको हो । हाम्रा पौराणीक पात्रहरुको तिनीपछिका पुस्ताले आख्यान सिर्जना गर्दा लेखकको दृष्टिकोणसहित ग्रन्थहरु प्रकाशित भएका हुन् । ति ग्रन्थहरु त्यो बेलाको मनोरञ्जनका साधन हुन्, उपन्यास हुन् । अव उपन्यास पढेर मनोरञ्जन र शिक्षा लिने कि त्यसको विरोध गर्ने त्यो पाठकको मगजको स्तरअनुसार भरपर्ने कुरा हुन् । आजको युगमा लेखिएका आत्मवृतान्तहरु त झूठा हुनसक्छन् भने त्यो बेला लेखिएका ग्रन्थहरुको भरमा आफ्नै धर्ममाथि हिलो छ्याप्नु केवल मूर्खता मात्र हो ।

त्यो समयमा पुस्तकमा जे छापिन्थ्यो त्यो सहि मानिन्थ्यो । लेखकले पाठकलाई वशमा पार्न उसको आख्यानकल्पनामा केहि सत्यघटनाहरु मिसाईदिन्छ । अनि त्यसको सार आफूअनुसारको बनाउन काल्पनिक घटनाक्रमहरुको मिश्रण गरिदिन्छ । हाम्रा पौराणीक पात्रहरु राम, कृष्ण, शीव, आदि त्यो युगका आदर्श पात्रहरु हुन् । तिनले सारमा सिकाएको आदर्श हामीले सदियौंदेखि मान्दै आएको हाम्रो धर्म हो । धर्मले सँधै असल कुरा भन्छ । भेदभाव भन्दैन, उचोनिचो गर्दैन । योसँग हाम्रो भावनात्मक सम्वन्ध स्थापित छ । त्यसैले कसैले अपव्याख्या गरिदिंदा हामी अपमानित हुन्छौं ।

समाजमा वसेपछि सहिष्णुताको लक्ष्मणरेखा कसैले पनि पार गर्नु हुँदैन । बाबुआमाले आफ्नो छोराछोरीको विहे गरिदिएपछि कसैसँग शारिरीक सम्वन्ध स्थापित हुन्छ भनेर जानेका हुन्छन् । तर त्यही छोरा छोरीले आफ्नो श्रीमान् श्रीमतिसँग बाबुआमाको अगाडि 'रोमान्स' गरे भने तिनीहरु अपमानित भएको महसुस गर्छन् । ठिक त्यस्तै हो हिन्दूहरुको बहुलता भएको समाजमा हामीले भगवान भनेर पूजा गर्ने गाईलाई खुलेआम काटेर खानु भनेको । उसो त संसारमा भएका सम्पूर्णको अस्तित्व एकअर्कासँग अन्योन्याश्रीत छ भन्ने वैज्ञानिक तथ्य उवेलै बुझेर रुखविरुवा, जनावर, पृथ्वीलाई भगवान् मानेर पूजा गर्ने धर्म हाम्रो मात्रै त हो ।

आफ्नो धार्मीक पहिचानको रक्षासँगै यिनै विकृतिहरुलाई हटाउनु आजको आवश्यकता हो । हाम्रो धर्मको पछिल्लो विकृतिहरुको मूलजरो राजसंस्था हो । जसले हामिलाई विष्णु भगवानको अवतार भनेर सदियौं शाशन गरिरह्यो उ नै हिन्दु होईन भन्ने कुरा अर्को वहसको विषय हुनसक्छ । तर अहिले हाम्रो समाजमा भएका जातिय, लैङ्गिक, वर्गीय तथा सामाजिक विभेदहरु त्यही राजसंस्थाको कारण थालनी र मलजल भएको हो भन्नेमा कुनै शंका छैन । नेपाली समाजमा जातिय कुप्रथाको वीउ हाल्ने राजाहरु नै हुन् । राजाको जेठो छोरा राजा हुने पद्धतिले पुरुषप्रधान समाजलाई नै मलजल गरेको हो । जसले राजाको चाकडी गर्नसक्यो उसैका सन्तान मुखिया, जिम्मावाल, त्यही धनी अरु गरिवको गरिव । नेपाली समाजमा चाकडि, चाप्लुसीलाई संस्थागत गरी विभेदकारि सोंचको मलजल गर्ने राजसंस्था नै हो । यसमा हिन्दुधर्मको कहाँनेर दोष छ? बरु हामीले ध्यान दिन नसक्दा हाम्रो धर्म पटकपटक पाखण्डिहरुको दुरूपयोग र अपव्याख्याको प्रहारले थिलोथिलो भएर मरणासन्न हुन पुगेको छ ।

राजावादीहरुले हिन्दु धर्मलाई जोडेर राजनीति गर्नुको कारण नेपालमा हिन्दुहरुको अत्याधिक बहुमत जनसंख्या हुनु मात्रै हो । इतिहास साक्षी छ हाम्रा देशको राजसंस्था कुनै पनि हिन्दु धर्मको प्रसङ्गसँग जोडिएको छैन । यसको इतिहास नै हत्या, हिंशा, दमन, मुढेवल, विश्वासघात, कुटिल कुटनीति र अत्याचारसँग जोडिएको छ । अवको युगमा कसैको सन्तान भएर जन्म लिँदैमा सम्पूर्ण देसमाथि राज्य गर्ने दुस्वप्न कसैले नदेख्दा हुन्छ । मुढेवलको जमानामा अरुलाई मारेर, लुटेर गरेको शाशन अवको युगमा अवश्य टिक्दैन । उवेला धर्मकै नाममा कसैले हामीमाथि सदियौं शाशन गरिरह्यो । एतिवेला फेरि कमल थापाहरुले गणेश थापालाई मन्त्रि बनाउन हिन्दु धर्मको भजन गाउँदै छन् । अव हामीले बुझ्न र बुझाउन जरुरि छ कि धर्म मान्नु अन्धविश्वासी हुनु होईन, कसैको दासत्व स्विकार गर्नु पनि होईन । यो ईमान्दारिताको निरन्तरता हो । र हाम्रो पहिचान र अस्तित्व रक्षाको लागि हामीले यो इमान्दारितालाई परिवर्तन होईन निरन्तरता दिन आवश्यक छ ।

Comments

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...

कविता : कुहिरोको काग

कुहिरोको काग मैले आँखा खोल्दा देखेको यो विशाल पहाडपल्तिर मैले आँखा चिम्म गर्दा देख्ने एउटा संसार छ, जहाँ मान्छेहरु ढुँगामाटोको घरमा हाँसीखुसी सरल जिन्दगी बाँच्छन्, जहाँका खोलानालामा कन्चन चिसो पानी बग्छ, झरनाहरुले गीत गाउँछन्, हिमालहरु हाँस्छन्, पंक्षीहरु नाच्छन्, वर पीपलका पातले ताली बजाउँछन्, जहाँ बाँसका टटेला काटेर केटाकेटीले फिरफिरे नचाउँछन्, मुखुन्डो बनाउँछन्, छाताको करङ् तताएर निगालोमा प्वाल बनाउँछन् र बाँसुरि बजाउँछन्, चौतारिहरुमा खेताला खेताल्निले भारि विसाउँछन्, मुलको पानीमा पिपलको पातलाई ढुँगाले च्यापेर तिरतिरे धारो बनाउँछन्, अनि तिर्खा मेट्छन् अर्मपर्म गरेर बालीनाली लगाउँछन्, ऐचोपैंचो गरेर पनि छाक चलाउँछन्, चकचके केटाकेटीहरु पाखाभरि पल्टिन्छन्, चरनका गाइवस्तुहरुले नुहाउने आहालमा पौडिन्छन्, मकै र भटमासको खाजा कितावसँगै झोलामा हालेर स्कूल जान्छन् र बाँडेर खान्छन्, जहाँ साँझविहान घरको ढोका बन्द गर्नु अशुभ मानिन्छ, जहाँ पाहुना भगवान सरह हुन्छन्, माग्नेहरू साधु हुन्छन्, जहाँ गाईनेको गित सुनेर मान्छेहरु रुन्छन्, जहाँ जनावरहरु छेक्ने अगुलो भए पुग्छ, ढोकामा ताला चाहिँदैन, जहाँ ढुँगा...