धर्म इमान्दारिताको निरन्तरता हो



हाईस्कूल पढ्दाताकाको कुरा हो जव हिउँदको चिसो सुरु हुन्थ्यो तव मेरो मन भने त्यसैत्यसै न्यानो र फुरङ्ग भएर आउँथ्यो । कारण यतिवेला महिनाभरसम्म श्रीस्वस्थानी व्रतकथा चल्छ । साँझ भयो कि त्यही स्वस्थानी सुन्ने निहुँले वाहिर निस्कन पाईन्थ्यो । स्वस्थानीमा शीवजी र पार्वतीका प्रेमलापका कथाले मेरो किशोर मन वास्तवमै चङ्गा हुन्थ्यो । बुझ्ने टोपलिँदै गएपछि न हो अलिअलि जिम्मेवारिको कुरा थपिएको नत्र भने मैले श्रीस्वस्थानी व्रतकथाको किताव दर्जनभन्दा बढी पटक शीव–पार्वतीको ‘लभ स्टोरि’का लागि पढेको छु । लभस्टोरिवाहेकका अध्यायहरुमा मेरो खासै ‘इन्ट्रेस्ट’ भएन । चाँडोचाँडो पढेर सकिदिन्थें ति अध्यायहरु म । यो मेरो मात्रै कथा होईन: मेरा सहपाठिहरु कृष्ण, वाबुराम, भुवन, क्षेत्रे, मेखे, दीपक, प्रताप सवैले यसै भन्थे ।

प्रसङ्ग फेरि पनि हाम्रो हिन्दु धर्मको हो र यसको व्याख्या–अपव्याख्या कै हो । स्वस्थानीको कथाअनुसार बूढो शीवजीले एउटी निर्दोष वालिकालाई झेलपूर्वक विहे गर्छन् । कृष्णचरित्रअनुसार श्रीकृष्णले खोलामा नुहाईरहेका गोपिनीहरुको लुगा लुकाएर तिनीहरुको वैंश हेर्छन् । माहाभारतले एउटी द्रौपदीलाई पाँच पाण्डवकी श्रीमती हुनु वाध्य वनाएको छ । रामायणमा रामले सीताजस्ती पतिव्रता श्रीमतीलाई अग्नीपरिक्षा लिन्छन् । त्यसैले हिन्दुधर्मले नारिहरुको सम्मान गर्दैन । यही विषयलाई लिएर मैले आजभोलि कैयन् दिदीवहिनीहरुले आफ्नो धर्मको अनादर गरेको देखेको छु । धर्म परिवर्तन गराउनेहरुलाई त हामीलाई बसिभूत गर्ने योभन्दा सजिलो तर्क अरु के हुनसक्ला?

व्यवहारिक तथा समाजशाष्त्रिय दृष्टिकाणबाट हेर्दा यसको गुदी स्पस्टरुपमा फरक छ । आफू र आफ्नो अधिकारको वारेमा सचेत हुनु पक्कै पनि राम्रो कुरा हो तर कुरै नबुझी उमठिएर त कहिं पुगिदैन । मैले यसो भन्दै गर्दा कट्टर पण्डितहरुको मनले सायद नमान्ला तर हाम्रा पौराणिक ग्रन्थहरु भनेका त्यो समयका साहित्यिक सिर्जनाबाहेक अरु केही होईनन् । त्यो समयमा साहित्यका मुख्यपात्र राजा माहाराजा नै हुनुपर्थ्यो  । कथा–कवितामा सर्वसाधारण मान्छे मुख्यपात्र भएर आएको त कति नै भयो र? वाकस्वतन्त्रता त्यो वेलाको समाजमा ठालूहरुको गुणगानको सेरोफेरोमा समित थियो । यस्तो परिस्थितिमा लेखकहरु शाशक वर्गले जस्तो रुचाउँछन् त्यस्तै सिर्जना गर्न वाध्य थिए । समाज पुरुषप्रधान थियो । सम्भवतः हाम्रा धार्मीक ग्रन्थका लेखकहरु पनि प्रायः पुरुष नै थिए । त्यस्तो अवस्थामा ति मिथकहरुमा नारिहरुलाई समान हैसियतमा चित्रण गरिएन भनेर चित्त दुखाएर समग्र हिन्दु धर्मलाई नै घृणा गर्नु कति तर्कसंगत होला ?

Photo: www.commskillsgroup.com 

अरुहरुसँग नारिपात्र नै सिर्जना गर्ने साहस नभएको समयमा माहालक्ष्मी, सरस्वती जस्ता शक्तिशाली नारिहरुको परिकल्पना गरेको सुनौलो इतिहास हाम्रो मात्रै त हो । त्यसैले बुझ्न जरुरि छ– दोष धर्म मान्ने समाजको होइन, पितृसत्तात्मक सामाजिक संरचनाको हो । विरोध धर्मको होइन, व्यवस्थाको गरेको ठिक छ ।

पढेलेखेका मान्छे थोरैमात्र हुने त्यो समयमा मनोरञ्जनका लागि पण्डितको घरमा जम्मा भई कथा सुन्ने प्रचलनको नयाँ संस्करण हो अहिलेको श्रीस्वस्थानी व्रतकथाको एक महिने कर्मकाण्ड । त्यो समाजमा हाम्रा प्रारम्भिक धर्मग्रन्थहरु र पण्डितहरुले गर्ने तिनको व्याख्या समाजको संविधान थियो । हाम्रा धर्मग्रन्थहरुले हाम्रो समाजलाई शुसासन, अनुशाशन र इमान्दारिता सिकाएर विकासको यो युगसम्म ल्याईपुराउन महत्वपूर्ण भूमिका खेले । पछि समाजको विकासक्रमसँगै तिनै पण्डितहरु नयाँ ग्रन्थहरुको रचना गरे । नयाँ ग्रन्थहरुमा तिनले आफूअनुसारको मसला मिसाए र समाजलाई अन्धाधुन्ध अनुसरण गराए । अनि धर्म विकृत हुँदै गयो । जव साहित्य दैवीपात्रहरुको दासत्वबाट उम्क्यो  तव ति हाम्रा पौराणिक ग्रन्थहरु झन् अन्धरुपमा अनुसरण हुन थाले ।

काम, क्रोध, लोभ, मोहलाई मानिसले वली दिनुसक्नु पर्छ भन्ने मान्यता राख्ने हाम्रो धर्मलाई पथभ्रष्ट गरी पञ्चवली र मूर्तिपूजासम्म ल्याएर निर्दोष प्राणीहरुको रगतको खोला बगाउने विन्दुसम्म ल्याईपुराउने यिनै रक्तपिपासु पण्डितहरु हुन् । धर्मात्मा बन्ने निहुँमा त्यो युगसान्दर्भिक घटनाक्रमहरु तत्पश्चातका युगमा जस्ताको तस्तै अनुसरण गर्दै, गराउँदै आउँदा अहिले आएर पुरै धर्म नै असान्दर्भिकजस्तो भएको हो । हाम्रा पौराणीक पात्रहरुको तिनीपछिका पुस्ताले आख्यान सिर्जना गर्दा लेखकको दृष्टिकोणसहित ग्रन्थहरु प्रकाशित भएका हुन् । ति ग्रन्थहरु त्यो बेलाको मनोरञ्जनका साधन हुन्, उपन्यास हुन् । अव उपन्यास पढेर मनोरञ्जन र शिक्षा लिने कि त्यसको विरोध गर्ने त्यो पाठकको मगजको स्तरअनुसार भरपर्ने कुरा हुन् । आजको युगमा लेखिएका आत्मवृतान्तहरु त झूठा हुनसक्छन् भने त्यो बेला लेखिएका ग्रन्थहरुको भरमा आफ्नै धर्ममाथि हिलो छ्याप्नु केवल मूर्खता मात्र हो ।

त्यो समयमा पुस्तकमा जे छापिन्थ्यो त्यो सहि मानिन्थ्यो । लेखकले पाठकलाई वशमा पार्न उसको आख्यानकल्पनामा केहि सत्यघटनाहरु मिसाईदिन्छ । अनि त्यसको सार आफूअनुसारको बनाउन काल्पनिक घटनाक्रमहरुको मिश्रण गरिदिन्छ । हाम्रा पौराणीक पात्रहरु राम, कृष्ण, शीव, आदि त्यो युगका आदर्श पात्रहरु हुन् । तिनले सारमा सिकाएको आदर्श हामीले सदियौंदेखि मान्दै आएको हाम्रो धर्म हो । धर्मले सँधै असल कुरा भन्छ । भेदभाव भन्दैन, उचोनिचो गर्दैन । योसँग हाम्रो भावनात्मक सम्वन्ध स्थापित छ । त्यसैले कसैले अपव्याख्या गरिदिंदा हामी अपमानित हुन्छौं ।

समाजमा वसेपछि सहिष्णुताको लक्ष्मणरेखा कसैले पनि पार गर्नु हुँदैन । बाबुआमाले आफ्नो छोराछोरीको विहे गरिदिएपछि कसैसँग शारिरीक सम्वन्ध स्थापित हुन्छ भनेर जानेका हुन्छन् । तर त्यही छोरा छोरीले आफ्नो श्रीमान् श्रीमतिसँग बाबुआमाको अगाडि 'रोमान्स' गरे भने तिनीहरु अपमानित भएको महसुस गर्छन् । ठिक त्यस्तै हो हिन्दूहरुको बहुलता भएको समाजमा हामीले भगवान भनेर पूजा गर्ने गाईलाई खुलेआम काटेर खानु भनेको । उसो त संसारमा भएका सम्पूर्णको अस्तित्व एकअर्कासँग अन्योन्याश्रीत छ भन्ने वैज्ञानिक तथ्य उवेलै बुझेर रुखविरुवा, जनावर, पृथ्वीलाई भगवान् मानेर पूजा गर्ने धर्म हाम्रो मात्रै त हो ।

आफ्नो धार्मीक पहिचानको रक्षासँगै यिनै विकृतिहरुलाई हटाउनु आजको आवश्यकता हो । हाम्रो धर्मको पछिल्लो विकृतिहरुको मूलजरो राजसंस्था हो । जसले हामिलाई विष्णु भगवानको अवतार भनेर सदियौं शाशन गरिरह्यो उ नै हिन्दु होईन भन्ने कुरा अर्को वहसको विषय हुनसक्छ । तर अहिले हाम्रो समाजमा भएका जातिय, लैङ्गिक, वर्गीय तथा सामाजिक विभेदहरु त्यही राजसंस्थाको कारण थालनी र मलजल भएको हो भन्नेमा कुनै शंका छैन । नेपाली समाजमा जातिय कुप्रथाको वीउ हाल्ने राजाहरु नै हुन् । राजाको जेठो छोरा राजा हुने पद्धतिले पुरुषप्रधान समाजलाई नै मलजल गरेको हो  । जसले राजाको चाकडी गर्नसक्यो उसैका सन्तान मुखिया, जिम्मावाल, त्यही धनी अरु गरिवको गरिव । नेपाली समाजमा चाकडि, चाप्लुसीलाई संस्थागत गरी विभेदकारि सोंचको मलजल गर्ने राजसंस्था नै हो । यसमा हिन्दुधर्मको कहाँनेर दोष छ? बरु हामीले ध्यान दिन नसक्दा हाम्रो धर्म पटकपटक पाखण्डिहरुको दुरूपयोग र अपव्याख्याको प्रहारले थिलोथिलो भएर मरणासन्न हुन पुगेको छ ।

राजावादीहरुले हिन्दु धर्मलाई जोडेर राजनीति गर्नुको कारण नेपालमा हिन्दुहरुको अत्याधिक बहुमत जनसंख्या हुनु मात्रै हो । इतिहास साक्षी छ हाम्रा देशको राजसंस्था कुनै पनि हिन्दु धर्मको प्रसङ्गसँग जोडिएको छैन । यसको इतिहास नै हत्या, हिंशा, दमन, मुढेवल, विश्वासघात, कुटिल कुटनीति र अत्याचारसँग जोडिएको छ । अवको युगमा कसैको सन्तान भएर जन्म लिँदैमा सम्पूर्ण देसमाथि राज्य गर्ने दुस्वप्न कसैले नदेख्दा हुन्छ । मुढेवलको जमानामा अरुलाई मारेर, लुटेर गरेको शाशन अवको युगमा अवश्य टिक्दैन । उवेला धर्मकै नाममा कसैले हामीमाथि सदियौं शाशन गरिरह्यो । एतिवेला फेरि कमल थापाहरुले गणेश थापालाई मन्त्रि बनाउन हिन्दु धर्मको भजन गाउँदै छन् । अव हामीले बुझ्न र बुझाउन जरुरि छ कि धर्म मान्नु अन्धविश्वासी हुनु होईन, कसैको दासत्व स्विकार गर्नु पनि होईन । यो ईमान्दारिताको निरन्तरता हो । र हाम्रो पहिचान र अस्तित्व रक्षाको लागि हामीले यो इमान्दारितालाई परिवर्तन होईन निरन्तरता दिन आवश्यक छ ।

Comments

Popular posts from this blog

कथा- परदेश