Skip to main content

कथा- सहयात्रा

२०६० चैत्र १० गतेको त्यो विहान वेनीबजारको आकाशमा उदाएको घाम भयाक्रान्त युद्धले ओकलेको कालो बादलको थुप्राहरूसँग निरिह देखिन्थ्यो । बाटोभरि जताततै विष्फोटक पदार्थहरू छरपस्ट थिए । थोरै मान्छेहरू वाघको मुखबाट फुत्किएको पाठो झैं भत्केको अनुहार लिएर यताउता गरेका देखिन्थे । रातारात सुन्दर बजार खरानीको थुप्रोमा परिवर्तन भएको थियो । जलेका घरहरू ! पोलिएका मान्छेहरू ! रगतमा पाकेको माटोको अमिलो गन्ध ! यत्रतत्र छरिएका मान्छेका अङ्गहरू ! रगतले मात्तिएका वाघजस्ता सिपाहीहरू ! मैले हेर्न नचाहेर पनि देखेकी थिएँ ति भयावह दृष्यहरू ।


पारिपट्टि जलेको पाखो धेरैपटक पलाईसक्यो तर युद्धले भत्काएको एउटा मन कहिल्यै पलाएन । त्यही कथा हो मेरो जुन तिमी बुझ्दैनौ अव । तिमी टाढा, धेरै टाढा छौ र कहिल्यै सार्थक भेट हुँदैन सायद । अझै पनि पड्किन बाँकी बाल्टिन बम, कुकर बम, सकेट बमहरूलाई ति कलिला खुट्टाहरूले पन्छाउँदै म त्यहाँ पत्रकारझै सहानुभूतिशून्य भएर रिपोर्टिङ् गर्न पुगेकी थिइनँ । त्यहाँ पुग्नुको पछाडि तिमी पनि थियौ एउटा कारण भनेर अब भन्नु बेकार छ ।

मेरा निजामती जागिरे बाबु ज्यूँदा होलान् कि युद्धको अग्नीमा भस्म भैसके भन्ने पीर थियो एकातिर मसँग भने तिनलाई तलमाथि भैहालेको रहेछ भने तिमीसँग टाढिनु पर्छ भन्ने पीर पनि म मूर्ख केटीसँग उत्तिकै थियो भनेर तिमीले अब पत्याउँदैनौ । कालीगण्डकीमाथिको झोलुंगे पुल अधिकाँश मैले उल्टो हिँडेर काटेकी हुँ त्यो दिन । तिमीलाई देख्दिनँ भन्ने थाहा हुँदाहुँदै पनि तिमीलाई पिठ्यूँ फर्काएर हिँड्न नसक्दाको त्यो पल अझै पनि मनमुटुमा खिल बनेर बसिरहेको छ । तिमी त पत्रकार बनेछौ । आफ्ना मनका कुण्ठाहरू दुनियाँसामु यो वा त्यो तरिकाले पोख्यौ र सायद हल्का छौ होला यतिबेला तर म त दिनदिनै आँसुले भिजेर गहु्रङ्गिएका तिनै थाङ्ना यादहरूसँग बाँच्न विवश छु... ।

बाग्लुङको धौलागिरी एफ. एम.बाट कवी मोहराज शर्माको मीठो आवाजमा अनलाईनमा प्रसारित ‘गरिमाको गीतिकथा’ अस्ट्रेलियाको ट्रेनमा यात्रा गर्दैगर्दा सुनेपछि एउटा पुरानो याद फेरि उकल्चिएर आयो । उसले अगाडि भन्दै थिई– ‘त्यसपछि के भयो? म किन तिमीले पढ्ने स्कूलमा पढ्न सकिनँ? किन तिमीलाई त्यसपछि नभेटी हिँडें? यि कुराहरू तिमीलाई सुनाउनुको अर्थ रहेन । परदेसीएका तिमीले सायद आफ्नो धरातल पनि विर्सिसक्यौ होला यतिखेरसम्म त !’ ऊ सुँक्कसुँक्क गर्न थाली ।
मान्छेले आफ्नो पीडा विर्सन अर्कालाई घाउ बनाउन खोज्छ, उसले पनि अरुलाई धरातल विर्सिएको आरोप लगाएर आफ्नो पीडा शान्त गरी । एउटा तरङ्ग उत्पन्न गराई मनभित्र । उसले जे सुकै भनोस् आफ्नो नचाहेर पनि विर्सनु पर्ने र अर्काको चाहेर पनि लिन नसक्नुको पीडा म मात्रैको त कहाँ हो र ?

तर मैले बाँचेको धरातल चाहे जुनसुकै होस्, जव साँझपख चराहरुको चिरविर सुरु हुन्छ, जव मन्दमन्द वतास चल्दा शान्त पोखरीमा कमलको पातहरूले उत्पन्न गराउने दुर्लभ तरङ्गहरू किनारा नछुँदै विलाउँछन्, तिनीहरूले मैले छुन नसकेका उसका मुस्कानहरू ताजा गराएर मेरोअगाडि ओछ्याईदिन्छन् । म यतिवेला पनि उहि असाहाय, उहि किंकर्तव्यविमूढ, उहि लाचार, उहि नामर्द, उहि पानीमरुवा पाउँछु आफूलाई ।

अभिमानी दुनियाँको अघिल्तिर एउटा सानो जिन्दगी बाँचिदिन गरेका सवै बाहानावाजीहरू शिशिरको बूढो रुखबाट पातहरू खसेझैं निखारिएपछि एउटा असली ‘म’ देखिन्छु पोखरीको पानीमा । अनि ऊ आउँछे आँखा अघिल्तिर पोखरीका चञ्चल छालहरूको बीचमा सुन्दर कमलको पत्रदलहरू उघार्दै... । यस्तोबेला चराहरूको चिरविर, पानीको कलकल, समुद्रका छाल, चिसो वतास, फूलका कोपिला, पानीमुनिका भूरा सवै छुट्टै देखिन्छन् सधैभन्दा । दिमागमा भएका तनाव चिसो वतासले पखालेर फेरि नयाँ उर्जा थपिदिएजस्तो हुन्छ । म फेरि एउटा नयाँ मान्छे हुन्छु त्यसपछि । आशाका नयाँ मुनाहरू पलाउँछन् । फेरि जीवन रमाईलो र सुन्दर लाग्छ ।

ऊ वास्तवमै अत्यन्तै सुन्दर र शालिन थिई । उसको उमेर र स्वभावको बेमेल कताकता अनौठो लाग्थ्यो मलाई । चकचके उसका स्कूले साथीहरूमाझ ऊ मङ्गले फूलहरूको माझमा गमक्क फूलेकी सयपत्रीजस्ती देखिन्थी । उत्ताउला उसका साथीहरू उमेरसुहाउँदो चकचक गरिरहन्थे । ऊ भने जब हेर्थी आँखाका कुनै कुनाबाट पराग तप्प चुहिएर जाला कि भनेर डराउँथें म । गोधुलीमा विरानो गाँउको झुपडिको कुनै कुनामा एक्लै पग्लिरहेकी कहिल्यै नसकिने मैनवत्तीजस्ती । कसैले जलाएर विर्सिएकी झैं । पुतलीहरूले नहानेकी । वतासले नपीरेकी ।

मेरो स्मृतिपटमा अहिले पनि ऊ उस्तै कञ्चन, स्वच्छ, पवित्र छे । मलाई थाहा छैन मानिसहरूले सुन्दरताको परिभाषा कसरि लगाउँछन् । मैले बुझेको सुन्दरताको अर्थ सहि छ या गलत छ भनेर पनि थाहा छैन । तर उसलाई देखेपछि मैले सुन्दरताको परिभाषा बनाएँ या ऊ मेरो परिभाषा झैं थिई म स्पष्ट छैन । धेरै समयअघिकोे कुरा हो । तर म के कुरामा ढुक्क छु भने मजस्ता हजारौंले बनाएका सुन्दर स्त्रीमा हुनपर्ने गुणहरूले ऊ सुसज्जित छे ।

ऊ सृष्टिको सुन्दरभन्दा सुन्दर सिर्जनाहरूमध्येकी एउटी । मैले सँधै भन्छु मैले उसको सुन्दरताको बयान गरें भने ऊ नराम्री होली भनेर डर लाग्छ मलाई । चित्र बनाउने कला भगवानले मलाई दिएका भए उसले अर्काे दा भिन्ची जन्माएको श्रेय पाउँथी । म पनि दुनियाका भाग्यमानीहरूमा गनिन्थें ।

हिजोजस्तै लाग्छ मैले पहिलोपटक स्पर्श गरेको उसलाई । शरदको मिर्मिरे साँझ, दसैं तिहारको उल्लास, मैले पिङ खेल्ने पालो सकिएपछि उसको पालो । पिङको लठो ठानेर उसको चञ्चल पाखुरी झुक्किएर समाएको सम्झँदा अझै पनि कताकता काँडा उम्रिएलाजस्तो हुन्छ मनमा । उसलाई भने मैले पाखुरी समाउनुको कुनै वास्ता थिएन । उसको वास्ता अन्यत्र कतै चिमोटिनबाट जोगिनु तिर हुदो रहेछ भनेर म लाटोले बल्ल चाल पाएको छु । उसै त पर्वको उमङ्ग उसमा पनि उसले चढेको पिङले उसलाईभन्दा बेसी मेरो मनलाई मच्चाउँथ्यो । लठाहरू फट्टाएर साँझपख उ मच्चिँदा पिङमा भन्दा बढी झट्का मलाई लाग्थ्यो । तर ऊ थाकेपछि पिङ रोकेर उसलाई ओराल्न अरु नै पुग्थे । म त्यति साहसी कहिल्यै हुन सकिन।



परदेशमा रहेर पनि नेपाली रेडियो प्रायः सुनिरहने म मात्रै होइन होला । इन्टरनेटको साहायताले मैले मोवाईलमा सुनिरहेको रेडियो म चढेको रेलले गती लिँदा रोकिन्थ्यो र स्टेसन नजिक हुँदा चर्किन थाल्थ्यो । कामबाट फर्कंदै गर्दा सुन्दैथिएँ म उसलाई । रेडफर्न र स्ट्राथफिल्डको बीचमा रेडियो अस्पस्ट भैरह्यो । स्ट्राथफिल्ड स्टेशन पुगेपछि ऊ फेरि बोली– ‘एकवारको जीवनमा घुम्तीहरू अनेकवार आउँदा रहेछन् । घुम्तीहरूमा अगाडि हिंडिरहेको मान्छे पनि पछाडि फर्किएकोजस्तो देखिँदो रहेछ । पछाडि फर्किंदा पनि बोलाउने आफन्तहरू हुन् भनेर बल्ल बुझेको छु मैले । तिमी त सँधै पराई भएका आफन्त मेरानिम्ति । के मर्दा मलामी जानुमात्रै आफन्तको अर्थ हो तिम्रा लागि ?’

उसको दार्शनिक प्रश्नले मेरो टाउकोदेखि पैतालासम्म एउटा अनौठो कम्पन उत्पन्न गराएर गयो मानौं यतिबेला ऊ मेरो आँखाअगाडि सशरिर उपस्थित थिई र मलाई गल्ती गर्दागर्दै रङ्गेहात समातेर झपार्दै थिई ।
म अक्क न बक्क परें उतिबेला जस्तै । जव ऊ मेरोसामु हुन्नथी, मैले धेरैथरिका योजनाहरू बुन्थें । जव सामु ऊ हुन्थी, सबैकुरा पुगेर आएजस्तो लाग्थ्यो, भन्ने कुराहरू आफै विलाएर जान्थे । भगवान् स्वयम् अगाडि पाएको तपस्वीजस्तो !

एउटा साँझ थियो । ठूलै साहस निकालेर भनेको थिएँ उसलाई– ‘यू आर माई गुडेस्ट फ्रेन्ड ।’ उ मु्सुक्क हाँसेकी थिई । साह्रै मीठो लागेको थियो उसले हाँसेको मलाई । त्यही हाँसो मेरो प्रेमको स्वीकारोक्ति ठानेर लामै समय मीठो भ्रममा ढुक्कले बाँचेको थिएँ म । भोलिपल्ट उसले पनि मेरा साथीहरूको माझ मलाई ‘यू आर माई गुडेस्ट फ्रेन्ड’ भन्दै फेरि हाँसेकी थिई । तरुनी फकाउन कनीकुथी बोलेको अँग्रेजी सुनेर ऊ हाँसेकी रहीछ भन्ने मैले धेरै पछि बल्ल थाहा पाएको हुँ । उसलाई त ‘यू आर माई वेष्ट फ्रेन्ड’ कन्ठ थियो । उसले दिनमै धेरै पटक सुन्दी हो त्यो वाक्य भनेर अहिले म अनुभूत गर्नसक्छु । तर जुन भाषा बोले पनि मैले भन्न खोजेको उसले बुझेकी हो । भनेको बुझे भैगयो नि । मलाई लाज लाग्दैन अझै पनि ।

परदेसमा आफूले पार गरिरहेको समय उत्तिकै अनौठो छ वर्तमानमा पनि । अनौठो संक्रमण चलिरहेको छ जिन्दगीमा । काम गर्दागर्दै मेनेजरले बोलाउँदा हिजो मैले ‘हजुर’ भनेँ । नजीकैकी नेपाली सुपरभाईजरले म झुक्किएकोमा लाज मानी । मलाई कताकता सङ्कोच लाग्यो उसको । फेरि मैले सोचें– जति अंग्रजी बोले पनि, सुने पनि आखिर म बुझ्छु नेपालीमा । मेरो यथार्थ यही हो । मैले गर्व गर्नसक्ने धरातल यही हो ।

मनबाट सङ्कोच हटेर छर्लङ्ग भएपछि आफ्नो विर्सनुमा अनि अर्काको अनुकरण गर्नुमा गौरव कसरी गर्ने हो भनेर मैले मेरी सुपरभाईजरबाट जान्न खोजिनँ । मनमनै हाँसो उठेर आयो । फेरि उसले बोलाई मलाई, नसुनेकोजस्तो गरिदिएँ । के म अर्काको खरवारीमा चोर्न पसेको गोरु हो जतिबेला पनि तर्सिनुपर्ने?

‘तिमीलाई व्यहोर्न गाह्रो छ... ।’ रोकिएको रेडियो फेरि एक्कासी बज्न थाल्यो । ‘...तिम्रा बैगुनहरूले भरिएको एउटा किताव लेख्न मन छ मलाई ।’ ऊ बगिरहेकी थिई र उसको वाण निशानामै लागेको थियो आज । उसको सफलतामा म कताकता खुसी भएँ । आफैलाई वाण लागेर खुसी हुने अनौठो क्षण जिन्दगीमा भाग्यमानीहरूलाई मात्र विरलै उपलव्ध हुँदोरहेछ । खुसीले हाँस्न खोज्दा ऐनामा मेरो प्रतिविम्व पनि हाँस्यो । उसको हाँसो सहज नदेखिएपछि मैले हाँसेको मिलेन भनेर थाहा पाएँ मैले ।

मनमा कताकता अप्ठ्यारोमा परेकी ऊलाई सबै दोष थुपारेर म टाढीएको रहेछु भन्ने मीठो आत्मग्लानीले पोल्यो । तर त्यो ग्लानी निमेषभरको थियो मेरो लागि । सम्झें– उसको गीतिकथाको ‘तिमी’ म नहुन पनि त सक्छु ! आज पनि फेरि भ्रममा परें कि भन्ने मनमा आएपछि आफूभित्रको मूर्खताको मापन गरें मनमनै । तर ऊ आफ्ना सिर्जनाहरूमा अरुलाई आरोपित गर्नसक्ने गरी कलम चलाउन सक्ने भईछ भनेर म साँच्चैको खुसी भएँ । ऊ भने कथाको अन्त्यमा परदेसीहरूलाई घर फर्कन आग्रह गर्दै थिई । भन्दै थिई ऊ अझै कुनै परदेसीको व्यग्र प्रतिक्षामा छे । म पनि किनकिन मैले यात्रा गरिरहेको ट्रेन मलाई घर पुराउने विमानस्थलसम्म पुग्नसक्छ भनेर वास्तवमै तरङ्गित छु यतिबेला ।

अस्तु ।


Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन...

म्याग्दी जिल्लाको दुर्गम गाउँ मराङमा दुनियाँकै सर्वशक्तिमान निर्देशकको एउटा 'रियालिस्टिक' नाटकको 'क्लाईमेक्स' मञ्चन हुदैछ । नाटकको केन्द्रीय भूमिका पाएको त्यही गाउँको एउटा १६ वर्षे अल्लारे युवक ब्रिटिस आर्मीको गल्लाले लिने सबै परिक्षा पास गरेर परदेश लाग्न खुट्टा उचालेको छ । 'वर्षदिन दुःख गरेर ६ महिना खान नपुग्ने' परिवारको ऊ महिनैपिच्छे लाखौं कमाउने आफ्नो लाहुरे सपना साकार हुन लागेको देखेर फुरुङ्ग छ । केहि समय पहिले भारतीय सेनामा झूठो बोल्न नजानेर फालिएको दिनको फ्लासव्याक सम्झेर मनमनै हाँस्दैछ ऊ । अब त अन्तिम पटक गाउँका साईली-माईलीसँग विदावारि हुनै कर लाग्यो । वनतिर एकभारी घाँस काट्न गए मनको यो तिर्सना पुराउन सकिने भो, गोठकी कोरलीको भोक पनि मेटिने भो । निर्देशकले उसलाई हठात् अराएको छ- भार थपेर हलुका हुने अभिनय । 'क्लाईमेक्स' न हो- लामो कसरि होस् - जव पुष महिनाको चिसो दिनमा पनि खुशीले उफ्रदै घर नजिकैको अर्लीभीर पुग्छ ऊ घाँस काट्न, अनि त शुरु भैहाल्छ भयावह 'फ़लिङ् एक्शन' । भीरमा घाँस काट्दै गर्दा अचानक उसको दुवै खुट्टाले सन्तुलन गुमाऊँछन्, समाएको फु...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...