Skip to main content

एनआरएनमा राजनीति हुनुपर्छ...


राजनीति गर्नुपर्छ । राजनीति हुनु हुँदैन भनेर नहुने र गर्दिनँ भनेर नगरिने चिज रहेन अव । राजनीति गर्दिनँ भन्नु अर्को खतरानाक राजनीति हो ।

सरसर्ति हेर्दा राजनीति गर्नुहुँदैन भन्ने मुख्यतः तीन थरिका देखिन्छन् । धेरैजसो 'आरिसे'हरू हुन् जुन आफूले गर्न नसकेको कारण अरुको रिस गर्छन् ।  यी आफूले पनि सिन्को भाँच्ने प्रयत्न गर्दैनन् र अरुले गरेको देख्न पनि सक्दैनन् । दुसरा हुन् जसलाई विद्यमान वेथितिप्रति चरम चासो, रिस र घृणा छ तर वेथितिको जड मालुम छैन; यिनलाई असलमा राजनीतिको अर्थै था'छैन । तिसरा हुन् जो खतरानाक हुन् र मूख्य पनि हुन् । यि तिसरावाला गर्नुहुँदैन भनेर झन् खतरानाक र फोहोरी राजनीति गर्छन् । राजनीति गर्नेहरू नै 'गर्छु' भन्न डराउने हो भने यि दुसरावाला र आम मानिसको राजनीतिप्रतिको नकारात्मक धारणा कसरि परिवर्तन होला?

व्यवहारमा त हामी सबै विदेशिएकाहरू एनआरएन हौं । गैरआवासिय नेपाली । परदेशमा खोलिएका हाम्रा सबै संस्थाहरू 'एनआरएन'का संस्था हुन् । जस्तै एनआरएन मगर समाज, एनआरएन महिला समाज, एनआरएन 'फलानो' समाज । सवै समाज ।

तर सन्दर्भ हो अहिले चुनाबका कारण चर्चामा रहेको 'एनआरएन'को । यो संस्थावारे आम गैरआवसिय नेपालीहरूमा ठूलो भ्रम रहेको देखिन्छ । असलमा यो संस्था सम्पूर्ण परदेशी नेपालीहरूको छाता संस्था होईन र गैरराजनैतिक संस्था पनि होईन भनेर बुझाउन किन कञ्जुस गरिएको हो बुझिनसक्नु छ ।



अस्ट्रेलियाको सन्दर्भमा 'एनआरएन' यहाँको स्थायी वसोवासको अनुमति लिएका र  नागरिकता लिएका पूर्वनेपालीहरूको मात्र साझा संस्था हो । बिशेष गरी कुनै समय नेपाली कहलिएका विदेशी नागरिकहरूमात्र यो संस्थाको सदस्य र पदाधिकारि बन्न सक्छन् । यसका लक्ष र उद्देश्यहरू संस्थाको प्रकृतिअनुरुप आफ्नो ठाउँमा जायज पनि छन् ।

यो संस्थाले देस वा विदेसमा नेपाल र नेपालीका लागि केही गर्नेभन्दा पनि मुख्यतः कुनै समयका नेपालीहरूले नेपालबाट अझै पनि पाउनसक्ने अधिकारहरूको लागि आवाज उठाउने संस्था हो । जस्तै दोहोरो नागरिकताको पहल गर्ने, नेपालमा लगानीमैत्री वातवारणको लागि आवाज उठाउने, तत्कालका लागि लगानीमा कर छुटको माग गर्ने आदिइत्यादि ।

नेपालमा अहिलेको विपतको अवस्थामा केहि परोपकारी काम गरेको छ भन्दैमा यो बिसुद्ध परोपकारी संस्था होईन । गाई चराउन जाँदा काफल खायो भनेर गोठालो न्याउली कहलाउँदैन । भुइंचालो पिडितको लागि राहत त चौधरी ग्रुपले पनि बाड्यो । जसरि चौधरी ग्रुप 'परोपकारी' संस्था होइन, त्यसरी नै एनआरएन परोपकारी संस्था होइन ।

दोश्रो कुरा यो गैरराजनैतिक चरित्रको संस्था पनि होईन । नेपाल सरकारको मातहतमा दर्ता भएर आएपछि त झन् यसका मुख्य लक्ष र उद्देश्यहरू पुरा गर्न पनि यसभित्र राजनीति हुन अत्यावश्यक छ किनकी दोहोरो नागरिकता र कर छुटजस्ता मागहरू प्रत्यक्षरुपमा नेपालको राजनीति, राजनैतिक दल, तिनका शिद्धान्त र तिनले बनाउने सरकारको रणनीतिमा भर पर्ने कुरा हो । यथार्थमा एनआरएनले आफ्नो लक्ष पुरा गर्नको लागि पनि नेपालका राजनीतिक दलहरूमध्येबाट रोजेर एउटा यस्तो दलको वकालत गर्न आवश्यक छ जसले दोहोरो नागरिकता र कर छुटजस्ता मागहरूमा प्रतिवद्धता जनाउन सक्छ ।

तत्कालको समाचार र उपलब्धिलाई आधार मान्ने हो भने त एनआरएन जति सबैले 'नेपाली कांग्रेस' को राजनीति गर्न आबश्यक छ! किनकि सुनेअनुसार कांग्रेस मात्रै अहिलेको संबिधानसभाको एस्तो दल हो जसको बलमा 'दोहोरो नागरिकता' दिने प्रावधानको मसौदा तयार भएको छ । खैर! को कुन पार्टीका हुन् , आफूलाई को हो भन्दा फाइदा हुने हो त्यो चुनाब लड्नेहरुले बुझ्न पर्ने कुरा हो । को 'अधिकारबादी' हुन्, को 'राष्ट्रबादी' सिड्नी महानगरको 'तिगडम' सबैलाई झैँ मलाई पनि अलिअलि त 'मालुम' छ । तर गरेर पनि गरेको छैन, भएर पनि भएको छैन भन्नु पर्ने यो कुन खालको बाध्यता हो कुरीकुरी गरिनसक्नु छ ।

देसमा लालवावु, परदेसमा ट्रम्प हावी भैरहेछन् । चिम्म गरेर हेर्दा भोली अलिअलि आजै देखिन्छ । मान्छेहरू एनआरएनले राजनीति गर्नै हुँदैन भन्छन् । म सोच्छु- यो यस्तो संस्था होस् जसले नेपालमा प्रवासीको, प्रवामा आप्रवासीको आवाज  स्थानीय राजनैतीक दलहरूको कानसम्म पुराउन सकोस् ।  ति दलका हामिप्रतिका धारणाअनुसारका एजेन्डा बोकेर संस्थामा उमेदवारी घोषणा होस् । भोटकै लागि भए पनि दुवै देसका दलहरूले हाम्रो आवाज सुनून् । अनि पो भोली टेकेको धरातल काँपिहाले हाम्रो समुदायले टेक्ने अखेटो, समाउने डाली पाउला । हाम्रा सन्ततिले  पनि राजनीतिमा प्रवेश गर्ने प्लेटफर्म पाउलान् । जसले समुदायलाई अझ वलियो बनाउला । खै के खै के ।

म त भन्छु- कलियुगमा सहमतीले भरिपूर्ण रामराज्य रटानको सान्दर्भिकता हुँदैन । रामराज्य हुनको लागि त वाँदर पनि हनुमान र सुग्रीवजस्तो हुनुपर्छ । यहाँ त मान्छे पनि रावणजस्ता भैसके !!!!

मैलै वर्षौदेखि सुन्दै आएको छु- एनआरएनमा चुनाव हुनु हुँदैन । सहमतिमा नेतृत्व चयन हुनपर्छ । म ठोकेर भन्न सक्छु- सहमति अत्यन्तै निरंकुश शव्द हो । सहमतिमा निर्धाहरू सुनिँदैनन् । सहमति ठालूहरूद्वारा लादिन्छ, थोपरिन्छ । प्रजातन्त्रमा त बहुमतको कदर हुनुपर्छ, जसको लागि चुनाब हुन्छ । अचम्म छ बा ! के हो यो सहमति भनेको? ‘काले–काले मिलेर खाम भाले’ भनेको हो? 'आफैले $२० तिरेर सदस्य बनेका' हरूको भोट हाल्न पाउने नैसर्गिक अधिकार खोसेर गर्ने भनेको यो सहमति पनि नेपालका राजनैतिक दलहरूको आकार हेरेर यो दललाई यो पद, यो दललाई एति भाग भनेर गर्ने अंशवण्डा होईन ?

मुखिया- जिम्मावाल पाराको सहमति भन्दा चुनाव हुनु त कति जाति-जाति । कमसेकम काकतालिले गतिला पनि भर्ति हुने सम्भावना त रहन्छ । जव चुनाव हुन्छ राजनीति हुनुहुँदैन भनेर राग अलापेर राजनीति हुँदैन? पक्कै हुन्छ । र गर्दिनँ भनेर गरेको राजनीति हाँकाहाँकी गरेको राजनीतिभन्दा दुषित र खतारानक हुन्छ । अहिले भएको एहि त हो ।

अर्को महत्वपूर्ण कुरा- विदेशी स्थायी वसोवास नलिएकाहरू र एनआरएनका मागहरूप्रति सहमति नजनाउनेहरूले यसमा चासो राखिराख्नु पर्ने कुनै आवश्यकता छैन । वरु मन लागे दोहोरो नागरिकता दिनु हुँदैन, लागानीमा कर छुट हुनु हुँदैन भनेर आवाज उठाउन सकिन्छ । तर कुवा फोहोर भएकोमा चिन्ता लाग्छ भने किनाराबाट हेरेर केही परिवर्तन हुँदैन । कुवा सफा गर्न कुवामा हात हाल्नैपर्छ । त्यसैले एनआरएनको काम, लक्ष, शिद्दान्त र कार्यशैली आदि कुराहरूमा चासो राख्नेहरू यसको सदस्य भएर भित्रैबाट हस्तक्षेप गर्न आवश्यक छ । नत्र पधेर्नीको गफ जति चुटे पनि गाग्री भरुञ्जेलको लागि मात्रै हो ।

विगतमा एनआरएनलाई सम्पूर्ण नेपालीहरूको छाता संगठन भनिन्थ्यो । अव यो प्रकृयाबाट अष्ट्रेलियाको सन्दर्भमा त अधिक संख्यामा रहेका विद्यार्थीलगायतमा अन्य समुदायहरू बाहिर परेका छन् । साधारण सदस्यताको अवधि २ वर्षको हुन्छ तर ५ वर्षको भिषा भएको बिद्यार्थी किन यो संस्थाको परिधिभित्र नपरेको हो त्यो नेपाल सरकारको 'क्राइटेरिया'ले उत्तर देला! नेपाल सरकारको मातहतमा दर्ता हुनुलाई उपलब्धिको रूपमा व्याख्या गर्ने 'महान नेगोसिएटर'हरू संग भने यसको जवाफ पक्कै हुनु पर्छ ।

अन्त्यमा- राजनीति नगर्ने विन्दूभन्दा हामी अव निकै टाढा पुगिसकेका छौं । वकीलहरुले राजनीति गर्न हुन्छ, डाक्टरहरुले गर्न हुन्छ, पत्रकारले गर्न हुन्छ, गैरआवासिय नेपालीले गर्न किन हुँदैन ? अव राजनीति नगर्ने भन्दा पनि कसरि व्यवस्थित राजनीति गर्ने भन्नेतर्फ सोच्नु सान्दर्भिक छ ।फेरि भन्छु-  राजनीति गर्नेहरू नै 'गर्छु' भन्न डराउने हो भने आम मानिसको राजनीतिप्रतिको नकारात्मक धारणा कसरि परिवर्तन होला?
ooo

Comments

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन...

म्याग्दी जिल्लाको दुर्गम गाउँ मराङमा दुनियाँकै सर्वशक्तिमान निर्देशकको एउटा 'रियालिस्टिक' नाटकको 'क्लाईमेक्स' मञ्चन हुदैछ । नाटकको केन्द्रीय भूमिका पाएको त्यही गाउँको एउटा १६ वर्षे अल्लारे युवक ब्रिटिस आर्मीको गल्लाले लिने सबै परिक्षा पास गरेर परदेश लाग्न खुट्टा उचालेको छ । 'वर्षदिन दुःख गरेर ६ महिना खान नपुग्ने' परिवारको ऊ महिनैपिच्छे लाखौं कमाउने आफ्नो लाहुरे सपना साकार हुन लागेको देखेर फुरुङ्ग छ । केहि समय पहिले भारतीय सेनामा झूठो बोल्न नजानेर फालिएको दिनको फ्लासव्याक सम्झेर मनमनै हाँस्दैछ ऊ । अब त अन्तिम पटक गाउँका साईली-माईलीसँग विदावारि हुनै कर लाग्यो । वनतिर एकभारी घाँस काट्न गए मनको यो तिर्सना पुराउन सकिने भो, गोठकी कोरलीको भोक पनि मेटिने भो । निर्देशकले उसलाई हठात् अराएको छ- भार थपेर हलुका हुने अभिनय । 'क्लाईमेक्स' न हो- लामो कसरि होस् - जव पुष महिनाको चिसो दिनमा पनि खुशीले उफ्रदै घर नजिकैको अर्लीभीर पुग्छ ऊ घाँस काट्न, अनि त शुरु भैहाल्छ भयावह 'फ़लिङ् एक्शन' । भीरमा घाँस काट्दै गर्दा अचानक उसको दुवै खुट्टाले सन्तुलन गुमाऊँछन्, समाएको फु...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...