Skip to main content

अनेकको राजनीति ...

वर्षौं  वितिसक्दा पनि अझै अनिश्चित् वर्षहरु विदेसमै वित्ने निश्चित् छ । आउँदा पक्कै फर्कन्छु स्वदेस भन्ने नै थियो । अव बुढेशकालमा त के अनुहार लिएर फर्कनु र खै । जिन्दगीको के भर छ र? यतै–यतै मरिएलाजस्तो छ । मरेपछि जमीनमा गाडिनुमा र धुवाँ बनेर उड्नुमा के फरक छ त्यो त थाहा छैन । तर मरिहालेको वखत मलाई चितामा जल्न नै मन छ । धुँवा बनेर उड्न नै मन छ । यो मन, यति अनेकको राजनीति कसले बनायो होला?


बाढीले पछारेको माछालेजस्तो, हुरिले लछारेको हाँगालेजस्तो, उड्दाउड्दै उडिरहँदा गुँड फर्किने बाटो विर्सिएको पंक्षीलेजस्तो मैले कतिन्जेल जोगाईरहन सकुँला मेरो हौसला? फर्किहालेछु कथम्कदाचित भने पनि मलाई पक्कै चिन्ने छैन भत्केको मेरो गुँडले, ईन्कार गर्ने छन् मेरा आफ्नै वचेराहरुले । मेरो शीरमा हात राखेर आशिर्वाद दिएको एउटा सिंगो पुस्ता जस्केलाबाट धुँवा बनेर हराईसकेपछि मैले कस्को सामु निहुराउने मेरो शीर? कस्को अगाडि बगाउने मेरा आँसु? को सामु फुकाउने भक्कानिएको मेरो मनको पोको? म त फर्किन्नँ होला । मरेपछि जमीनमा गाडिनुमा र धुवाँ बनेर उड्नुमा के फरक छ थाहा छैन । तर मरिहालेको वखत मलाई चितामा जल्न नै मन छ । धुवाँ बनेर उड्न नै मन छ ।

हसियाको चुच्चोले खोपेर सयौं पत्थरहरुमा किन नाम लेखेको थिएँ ऊबेला अहिले बुझ्दैछु अलिअलि । यस्तो हुनु रैछ जिन्दगीमा । अचम्म लाग्थ्यो हसियाको चुच्चो दोब्रियो भनेर किन गाली गर्नुभएको होला हजुरवाले । म त चाहन्थें मेरो नाम जुनी-जुनीसम्म नमेटियोस् । हैन रहेछ । मैले बुझेको छु ढुंगा जावोले नामको ओझ थाम्दैन तर शीलोटमा नाम लेखाउन तँछाड-मछाड गरिरहेका मान्छेहरु हेरेर म रुने हो कि हाँस्ने हो अलमल्ल छु।

मन त मान्दैन मेरा अवोध पाईतालाका राता डोवहरु मेटिईसके होलान् आमाले लिपेको पिंढी टेकेर म दगुरेको आगनबाट । तर आगनमा म आफै छैनँ, ऊवेला मैले खोपेका अक्षरहरु होलान् कि नहोलान् ? त्यहाँ त मेरो हजुरवुवा हुनुहुन्छ जसले कहिल्यै ढुँगा खोपेर नाम लेख्ने–लेखाउने सोख गर्नुभएन । हजुरवुवाले त ढुँगा कुँदेर गारो ठडाउनु भयो, घर बनाउनु भयो । उमार्नु भयो आगनछेउमा तुलसी र जानुभयो त्यही तुलसीको पाऊमा शरिर विसाएर । म आफैले आगो लगाएँ मेरो हजुरवुवालाई । हजुरवुवा हुनुहुन्न धरतीमा र पनि गाउँमा हुनुहुन्छ । म सशरिर छु धरतीमा र पनि छैनँ । नाम त लेख्नेभन्दा बढी लेखिने कुरा पो रहेछ । सुनाउनेभन्दा बढी संझिने कुरा पो रहेछ ।

बुझेर नबुझ्नुको पीडा, नबुझेर बुझ्नुको खुसीभन्दा कता हो कता ठूलो हुन्छ । तर घर बनाउने प्रयत्न त मैले पनि गरेकै हो नि । पढ्ने बेला पढेकै हो । स्कुल जीवनमा कहिल्यै म दोश्रो भईनँ । हलो जोतें, डोको बुनें, दाम्लो बाटें, सबै गरें तर खै किनकिन आफूले रोपेको वाली काटेर डोको भरिएन, भकारि भरिने कुरै भएन । मनका डोका र भकारीहरु त झन् कति ठूला–ठूला ! आफूले बाटेको दाम्लोले मन बाँधिएन । म चुँडाउन चाहन्थें मलाई समेटिरहेका वन्धनहरु, उड्न चाहन्थें खुला आकाशमा, हेर्न चाहन्थें एकपटक सारा दुनिया तर मलाई के थाहा कुनै ठाउँमा पुगेपछि फर्कने बाटो बन्दप्रायः भैसकेको हुनेछ । यति अनेकको राजनीति कसले बनायो होला?

ऊ एउटी त थिई मेरो बाटो छेकेर ‘नजाऊ’ भन्ने । ओंठलेभन्दा बढी उसका सजल आँखाहरुले धेरै कुरा भनिरहेका थिए तर मैले मानिनँ । घरतलको पीपलको रुखमुनि उसलाई छोडेर हिँडेपछि एक्लै रोएको थिएँ धेरैवेरसम्म, लगभग बाटोभरि । किन रोएको थिएँ थाहा छैन । आँसुले कदम पडाडि धकेलेनन् । तन मन दुवै अगाडि बढिरहे । खुव कुनै युद्ध लड्न हिँडेको सिपाहिकोजस्तो । ऊ कति रोई हो त्यो उसलाई नै थाहा होला । छुट्ने बेला उसलाई दिएको वचन सम्झन पनि मन छैन । हिजो फेसवुकमा छोरा-छोरीसँग खेल्दै गरेको फोटो हाली उसले । म फेरि रोएँ त्यसरि नै । खै किन रोएँ । आँसुले मन फर्कियो यसपाली तर तन फर्काउन सकिनँ । जति दिनहरु बित्दै जान्छन् त्यति आफ्नै मन र तनबीचको दुरि भने फराकिलो हुँदै गैरहेछ ।

उसले त मलाई ‘नजाऊ परदेश’ भनेकी हो तर उसैले ‘पराईको डोली चढेर जाँदैछु’ भन्दा मैले पो 'नजाऊ' भन्न सकिनँ । साँच्चै हो– उ एक्ली हो मलाई 'नजाऊ' भन्ने । बा, आमा, आफन्त, साथीभाई सबैले 'जा–जा' भनेका हुन् । उसले किन 'नजाऊ' भनी, अरुले किन 'जा–जा' भने सोध्नको लागि कोही बाँकी छैनन् । तर सोच्दैछु नआएको भए के हुँदो हो? के नहुँदो हो ?

म यहाँ नआएको भए मेरो गाउँभन्दा टाढा राजधानीमा मेरो घर हुने थिएन । भाईसँग मोटरसाईकल हुने थिएन । बाबाआमा शहरमा सर्ने थिएनन् । वैनीको विहे धुमधामसँग हुने थिएन । ओहो धेरै कुरा हुने थिएनन् । हुन त मेरो दलिनमा धमिरा पनि हुने थिएनन् सायद । म यति एक्लो त हुँदैहुने थिईन । खेतवारी वाँदर खेल्ने खलो पनि के हुन दिँदो हुँ र?

नआएको भए म जन्मेको मेरो घर घरजस्तै हुँदो हो । म खेल्ने आगन आगनजस्तै हुँदो हो । मेरा खेतवारीमा वालीनाली हुँदा हुन् । घरको भार छोपीने गरी मकैका झोता झुण्डिरहेका हुँदा हुन् । उ मेरी हुँदी हो । साँच्चै घर घरजस्तो हुँदो हो । छाताको करङ तताएर खोरियाबाट काटेको निगालो प्वाल पार्दै मेरो बाबाले बनाएको बासुरि बनाउने कला मैले पनि कसैलाई सिकाउँदै गरेको हुँदो हुँ । वाँसको टटेला काटेर कसैको लागि फिरफिरे, कसैको लागि मुखुन्डो बनाउँदै गरेको हुँदो हुँ ।

अहिले हेर्छु केही महिनाअगाडि मसँग भएका धेरै कुरा मसँग छैनन् । भूकम्पले । नियतिले । सबै भत्किए । भत्केको घर छ । त्योभन्दा बढी भत्केको मन छ । जसलाई आफ्नो भन्थेँ ति सबै पराई  भैसके । मैले पसिनासँग साटेको ईटाको थुप्रोले पुरेर बचेखुचेका केही आफन्तहरु त्यहीं कतै विलिन भए । कमाउन विदेस पसेको म खै के कमाएँ यतिका वर्षसम्म आफैलाई पत्तो छैन । फगत गुमाएको फेहरिस्त पो छ । मैले कति कमाएँ, कति गुमाएँ? मैले कमाएको यो 'सवथोक'सँग गुमाएको त्यो 'केही' साट्न पाए !

केही त छैन मसँग । दौतरिहरुसँग आत्मियताको सम्वन्ध छैन । सवै देखावटी, वनावटी । सहयोग, सहकार्यभन्दा वेसी प्रतिस्पर्धा । कसम डाह लाग्छ कसैले गल्ती गरेका वखत पनि उसका लागि बोलिदिने आफन्त देखेर । त्यस्ता आफन्त कसरी कमाउँछन् मान्छेले?

कुनै समय थियो देसमै केही गरेर खानुपर्छ भन्ने उत्साह थियो मनमा । देसकै गरिमामय विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातकोत्तर उत्तिर्ण गरेको प्रमाणपत्रको बलले शिक्षक भएर हेरें, विद्यालय खोलेर हेरें, सहकारी पनि खोलियो । क्याम्पस–क्याम्पस र ट्युसन सेन्टर चाहारियो झिसमिसेदेखि मिर्मिरेसम्म । नानाथरिका प्रतिस्पर्धा गरियो आफ्नै सहपाठीहरुसँग । गर्न सकेको गरियो ।

गर्न नसकेका पनि धेरै फेहरिस्त छन् त्यो जिन्दगीमा त्यसैले त यहाँ आईपुगियो । स्कूल, क्याम्पसमा माडसा'वको दरवन्दीमा पर्न राजनैतिक दलको टिका लगाउन सहजै सकिएन । टिकै लगाईहाले पनि दलको कोटामा परेका दरवन्दी हत्याउन आफ्नै साथीहरुसँग लुछालुछ गर्न सकिएला जस्तो लागेन । दरवन्दीमै परिहाले पनि बूढीको लागि लेक्चरर श्रीमान् हुन गाह्रो । पसलेसँग लेक्चरर ग्राहक हुन गाह्रो । घरवेटीसँग लेक्चरर भाडावाल हुन गाह्रो । कति गाह्रो–गाह्रो । जताततै गाह्रो । उकुसमुकुस, राप र ताप ।

त्यही उकुसमुकुसले, त्यही राप र तापले तावामा हालिएको मकैको गेडालाईजस्तो उछिट्टाएर पुरायो कतै टाढा जो न खान मिल्छ टप्प टिपेर, न धरतीमा रोपेर उम्रन्छ । मसँग म हुनुको पहिचान छैन, अरु हुन सकेको छैनँ । वगैंचाबाट कसैले निर्ममतापूर्वक उप्काएर पाखामा फ्याँकिदएको विरुवाको जस्तो जिन्दगी छ । मरेपछि जमीनमा गाडिनुमा र धुवाँ बनेर उड्नुमा के फरक छ थाहा छैन । गाडिनै दिए पनि म फेरि पलाउने त हैन । तर पनि मरिहालेको वखत मलाई चितामा जल्न नै मन छ । यति अनेकको मिठो हो कि नमिठो राजनीति कसले बनायो होला?

Comments

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन...

म्याग्दी जिल्लाको दुर्गम गाउँ मराङमा दुनियाँकै सर्वशक्तिमान निर्देशकको एउटा 'रियालिस्टिक' नाटकको 'क्लाईमेक्स' मञ्चन हुदैछ । नाटकको केन्द्रीय भूमिका पाएको त्यही गाउँको एउटा १६ वर्षे अल्लारे युवक ब्रिटिस आर्मीको गल्लाले लिने सबै परिक्षा पास गरेर परदेश लाग्न खुट्टा उचालेको छ । 'वर्षदिन दुःख गरेर ६ महिना खान नपुग्ने' परिवारको ऊ महिनैपिच्छे लाखौं कमाउने आफ्नो लाहुरे सपना साकार हुन लागेको देखेर फुरुङ्ग छ । केहि समय पहिले भारतीय सेनामा झूठो बोल्न नजानेर फालिएको दिनको फ्लासव्याक सम्झेर मनमनै हाँस्दैछ ऊ । अब त अन्तिम पटक गाउँका साईली-माईलीसँग विदावारि हुनै कर लाग्यो । वनतिर एकभारी घाँस काट्न गए मनको यो तिर्सना पुराउन सकिने भो, गोठकी कोरलीको भोक पनि मेटिने भो । निर्देशकले उसलाई हठात् अराएको छ- भार थपेर हलुका हुने अभिनय । 'क्लाईमेक्स' न हो- लामो कसरि होस् - जव पुष महिनाको चिसो दिनमा पनि खुशीले उफ्रदै घर नजिकैको अर्लीभीर पुग्छ ऊ घाँस काट्न, अनि त शुरु भैहाल्छ भयावह 'फ़लिङ् एक्शन' । भीरमा घाँस काट्दै गर्दा अचानक उसको दुवै खुट्टाले सन्तुलन गुमाऊँछन्, समाएको फु...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...