Skip to main content

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन ।

अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई ।

पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरोस्- नहेरोस् !। पार्कमा मेरो छेउछाउ अरु कोही नभएकोले उसले मलाई नै हेरेको हुनुपर्थ्यो । नदेखेको जस्तो गरिदिएँ। हिजो राती अचानक बिजुलिको झड़का लागेकोले एउटा हातले उतिसारो काम गरिरहेको थिएन । तैपनी झोलाबाट जुसको बोतल झिकें र त्यही हातले बिर्को घुमाएँ । निद्रामा दूध चुसेको बच्चाले जस्तो काम गरे-नगरेको चाल पाएन। हात हेरें । बच्चाको जस्तो मायालाग्दो थिएन । मुठ्ठीका प्राय: जोर्नीहरुमा घाऊ लागेको थियो । असलमा घाऊ त अनुभूत हुँदो रहेछ । लागेको घाऊ त समयांतरसंगै पुरिन्छ । असल र मीठा कुरा त मेटिदै जान्छन् नि ! आमाले भनेर भात पकाउनको लागि दाउरा चिर्दा उठेको हत्केलाको ठेला नमेटीएको भए अहिले कती मीठो हुँदो हो ! तर आज पहिलो पटक आफ्नो माया लागेको थियो यसरी । आफैलाई माया गर्दोरहेछु भनेर थाहा पाउंदा पनि आनन्द आउदो रहेछ ।



दिउसो समुन्द्रको किनारमा गएको थिएँ । बलियो छाल किनारमा आउथ्यो र कमजोर बालुवालाई लघार्थ्यो । मान्छेहरु खुट्टामा लामा तैरिने वस्तु जोडेर छालसंग जिस्किन्थे । मान्छेहरु बलिया थिए या छालहरू मलाई अनुमान लगाउन गाह्रो पर्थ्यो । कहिले पानी, कहिले मान्छे तल-माथी परीरहन्थे । कुन साहसी हुन् त्यो पनि मैले अनुमान लगाउन सकिनँ । मलाई दुबिधा छ- शिंहसंग लड़ेर मर्ने बहादुर हो की, ज्यान जोगाउन रुख चढ़ने ? मान्छेहरु पक्कै पनि खुसी थिए होलान् । त्यसैले युद्ध तिनिहरू नै जित्दाहुन् । समुन्द्र पस्न डराउने हो भने घाम त आख़िर सहनै पर्छ किनारामा । मलाई अझै स्पस्ट छैन- समुन्द्र पस्ने साहसी हुन् की किनारामा घाम खप्ने ? मैले आफूलाई बिशाल समुन्द्रको किनारामा उभ्याएको छू । र हेर्दै छू रमिता- बनिरहेको छू रमिता । घरीघरी निरीह पाएको छू आफूलाई । साच्चै यो मानवसमाज निरिहहरुको लागि त्यही निर्जिब, निस्मायी समुन्द्रजस्तै हो र ? नहुन पर्ने । हुन त अरुमाथि पौडी खेल्न चाहने मान्छेको स्वाभाव नै त हो नि । के मान्छेले मलाई छालले जस्तै निर्मम हुत्याउन हुन्थ्यो?

मान्छेको हुल पहिलोपटक बिदेसमा निर्जन लाग्दै थियो । धेरैलाई मैले चिन्नूपर्ने आबश्यकता थियो । थोरैले मलाई चिने । बुझ्ने गरी चिनिन प्राय: इन्कार गरिएँ म । लाग्यो यो बिदेस भन्दा बढ़ी परदेस पो हो । मलाई नेपाली मान्छे हुनुको गौरव हराएर जाला भनेर डर लाग्यो । कल्पनासुन्य भएर टोलाएँ केहिबेर । फेरी कताबाट बेगिएर आयो एउटा कल्पना र पछारियो अन्त:करणमा- कतै मान्छेको आँसुले बनेको त हैन यो समुन्द्र ? ऊ बेला श्रबणकुमारका बाबुआमाको आँसुले बनेको आंधिखोला हाम्रोमा पनि त छ । हाम्रोमा डांडाकांडा छ र पो त्यों खोला बनेको त । यस्तै समथर हुँदो हो त समुन्द्रै बन्थ्यो नि । फेरि यो नूनिलो पनि त छ । मानवीय सम्बन्ध नभएर पैसाको नाता हुने यो ठाऊंका मान्छे नरोए को रोए होलान् र ? गजव लाग्यो यस्तो सम्झंदा । पर्वते चित्रकार गणेशकुमार हुन्थ्यो भने मेरो अनुहारको प्रसन्नताको रेखा अरुलेभन्दा गजवसंग उतार्थ्यो होला क्यानभासमा । तर उसले मेरो रेखाकृति मभन्दा पनि कालो बनाउंदो हो । मलाई कालो भनेर जिस्काउन पाए ऊ खुसीले सेतो हुन्छ ।

आंधिखोला सम्झंदा अतीत संगसंगै पस्यो स्मृतिको ढोकाबाट । मैले बल्जफ्ती घचेट्न सकिनँ बाहिर । तर किनकिन मन परेन त्यो अतित पनि । त्यसले मलाई हातमा निस्कने ठेला र घाऊ दु:ख हुन् भनेर सिकायो । पसीना निसृत हुनमा पाइने सुख सधैं बेकाम डांडापाखा, चौतारी डुल्नुमा कहाँ रहेछ र ? जे होस् यो बिरानो भूमीले आफ्नै पाखुरिमा बाँच्न संघर्ष गर्ने जिन्दगी सिकाएको छ । व्यक्तित्व स्थानसापेक्ष पनि बन्दो रहेछ दुनियामा । यस्तै भूमिमा भएको भए म पनि डार्बिनको पनाती हुन्थें होला । आफ्नो असली औकात थाहा पाउनु सायद जिन्दगीको ठुलो उपलब्धि हो । आँखा उठाएर केही पर हेरें, समुन्द्र बिजुली बत्तीको प्रकाशले एकतमासको नीलो अनि कालो देखियो । अहिले भने मन केहि ओभानो भएजस्तो सीतल मिल्यो । टोपी फुकालेर मुख पुछें । पसिनाको गन्ध ह्वास्स नाकमा पस्यो । दिउस हात काट्दा पनि यही टोपीले रगत पुछेको थिएँ । रगत-पसिनाको नुनिलो गन्ध अमिलो लाग्यो मलाई । फेरि कल्पनाहरू मडारिन थाले मगजमा- यो समुन्द्र कहाँ आँसुले मात्रै बनेको होला र ? मैले समुन्द्रमा आंसुभन्दा बेसी सायद रगत-पसिनाको रंग देखें यतिबेला । सम्झें- हामीले रुन जान्यौं, आँसु, रगत र पसीनाको मूल्य जानेनौं । त्यसैले आंधीखोलामा अचेल त्यो आँसु, रगत र पसिनाको रंग मात्रै छ । गन्ध हराउदै गएको छ । बिशाल आंधिखोला पनि यहीं समुन्द्रमा बिलिन हुदै देखेर म लाटो भएँ ।

नेपाल छोडेर हिंड्दा अनौठो अनुभूतिले म भावरहित झै भएको थिएँ । हास्ने हो की रुने मैले केही सोच्ने क्षमता गुमाएको थिएँ । डोली अन्माउन लागेको बेहुलिलाई सायद यस्तै हुन्छ । यस्तो खुसी हुन्छ या दु:ख मैले दुलहिलाई सोध्ने मौका पर्खेर बसेको छु । बिमानस्थलमा बिदाई गर्न आएका आफन्तजन छोरी डोली चढाएपछिका माइतीजस्ता देखिन्थे । सायद तिनिहरुमा पनि ममाजस्तै गुज्रीईरहेको हुनुपर्थ्यो । विमान उडिसकेपछि भने मैले उनिहरुको अवस्था याद गर्ने फुर्सद नै पाईनँ। झ्यालबाट हेर्दा मेरी आमाका थरिथरिका मुहारको कल्पना आउथ्यो । कतिबेला तिनको अनुहार आसाले धप्प बलेकोजस्तो देख्थें। कतिबेला न्यानो काखले धिक्कारेजस्तो लाग्थ्यो । आमाकै काखमा पनि अबसर र चुनौतीको कमी थिएन सायद । मैले नै तिनलाई चिन्न सकिनँजस्तो अनुभूति हुन्थ्यो कतिकति बेला । मैले मेरी आमालाई त्यो बेलाजस्तो राम्री अरुबेला देखेको थीईनँ । त्यही अनुहारको सम्झनाले बेचैन गरिरहन्छ मलाई । बेचैनी बाच्नुको अर्को रूप हो । मान्छेले चैन बांच्दैन, म यतिकुरा ठोकेर भन्नसक्छु अब ।

बाटोमा मोटरगाडीहरू पातलिँदै गएको आभास हुन थाल्यो । गाडीहरू ढिलो गरी आउथे तर चर्को आवाज गर्थे । किराहरू कराउन थाले । किराहरू सायद दिउसमा पनि कराउंदा हुन् । अहिले भने ति कराएको सुनिन्थ्यो । छालहरू गर्जिएजस्तो लाग्न थाल्यो । आफैले सास फेरेको आवाज जिन्दगीमा मैले पहिलो पटक सुनेको थिएँ । बाँच्दै रहेछु भन्ने अनुभूति मिठो लाग्यो । अचानक मलाई उसको याद आयो । सायद उ तिर्खाएको मलाई पानी दिन सक्थी । मैले पनि चाहिंदा मात्रै मान्छे देख्ने रहेछु, चिन्ने रहेछु । अनुभूति अनौठो लागेन । मैले देखें- पछाडीपट्टीको बेन्चमा उ ब्यस्त थिई । मैले उसको साथिको कैलो कपाल मात्र पहेंलो बत्तीको सहारामा देख्न सकें । अध्यारोमा उसका साथीका खैरा आँखा बिरालुको जस्तै भयरहित टल्कीरहेका थिए । पानी माग्ने अधिकार मैले गुमाईसकेको थिएँ । म उठें । उसले मलाई परिचित आँखाले हेरी । ऊ मलाई मेरी बहिनी जस्तो त पटक्कै लागेन । कोठा खासै टाढा थिएन । सिड्नीमा घरकै क्षेत्रफलको हाराहारीमा पार्क होलान् भनेर म छक्क परें । हरियो वनसम्बन्धी हाम्रो उखान सम्झिएछु । लाज लागेको अनुभूतिले सायद म रातो भएको थिएँ । पार्कमा ऐना थिएन ।

कोठा अस्तब्यस्त थियो । कोठामा पस्दासाथ लुकाउन कुनामा राखेका अनगिन्ति शैक्षिक योग्यताका प्रमाणपत्रहररू पाहिले नै तछाडमछाड गर्दै आँखामा पसे । तिनीहरूले आज पनि काम नपाएको मेरो बिबशता जान्दथे । तिनीहरूसामू हिजोअस्तीजस्तै नतमस्तक बनें । क़लेज फी कसरी तिर्ने होला? मगज भक्भकी उम्ल्यो । ऋण सम्झें । छातिमा फलामले बेस्करी अठाएजस्तो लाग्यो । म उफ्रिएँ- 'अधुरो छौ तिमीहरू, अपूरो छौ ।' उचालेर फालिदिएँ भुईभरी । तर तिनीहरूले मलाई सरमलाग्दो गरी कुरिकुरी गरे मानौ रिसले खुट्टा बजार्दा मेरा शरिरका लुगाहरू एकएक गरी जमिनमा थुप्रिएका छन् । अनायासै म निहुरिएँ । एकएक गरेर हेरें तिनिहरुलाई । देशमै राजनितिक नियुक्तिमा पर्ने योग्यताको प्रमाणपत्र थिएन त्यो हुलमा । 'बिदेसमा काम पाउने सिप जानेको छु' तिमध्ये कसैले पनि भन्न सकेनन् । घरबेटीले झुंडाइदिएको ऐनामा मेरो अनुहार साँच्चै निरीह र मायालाग्दो देखियो । प्रमाणपत्रहरुको अग्रभागमा त्रिभुवन विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातकोत्तर गरेको मेरो फोटो कुन्नी किन अझै पनि गम्भिर, आशा र कर्तब्यवोधले धपक्क बलेकै देखिन्थ्यो ।

समाप्त

Comments

  1. Really a nice story... TOUCHING

    ReplyDelete
  2. धेरै धन्यवाद अनि संझना नीराजन सर ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...

कविता : कुहिरोको काग

कुहिरोको काग मैले आँखा खोल्दा देखेको यो विशाल पहाडपल्तिर मैले आँखा चिम्म गर्दा देख्ने एउटा संसार छ, जहाँ मान्छेहरु ढुँगामाटोको घरमा हाँसीखुसी सरल जिन्दगी बाँच्छन्, जहाँका खोलानालामा कन्चन चिसो पानी बग्छ, झरनाहरुले गीत गाउँछन्, हिमालहरु हाँस्छन्, पंक्षीहरु नाच्छन्, वर पीपलका पातले ताली बजाउँछन्, जहाँ बाँसका टटेला काटेर केटाकेटीले फिरफिरे नचाउँछन्, मुखुन्डो बनाउँछन्, छाताको करङ् तताएर निगालोमा प्वाल बनाउँछन् र बाँसुरि बजाउँछन्, चौतारिहरुमा खेताला खेताल्निले भारि विसाउँछन्, मुलको पानीमा पिपलको पातलाई ढुँगाले च्यापेर तिरतिरे धारो बनाउँछन्, अनि तिर्खा मेट्छन् अर्मपर्म गरेर बालीनाली लगाउँछन्, ऐचोपैंचो गरेर पनि छाक चलाउँछन्, चकचके केटाकेटीहरु पाखाभरि पल्टिन्छन्, चरनका गाइवस्तुहरुले नुहाउने आहालमा पौडिन्छन्, मकै र भटमासको खाजा कितावसँगै झोलामा हालेर स्कूल जान्छन् र बाँडेर खान्छन्, जहाँ साँझविहान घरको ढोका बन्द गर्नु अशुभ मानिन्छ, जहाँ पाहुना भगवान सरह हुन्छन्, माग्नेहरू साधु हुन्छन्, जहाँ गाईनेको गित सुनेर मान्छेहरु रुन्छन्, जहाँ जनावरहरु छेक्ने अगुलो भए पुग्छ, ढोकामा ताला चाहिँदैन, जहाँ ढुँगा...