कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ। सात महिना भैसकेछ बिदेसिएको । आफैंसंग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसंग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन ।

अतितको यादले मुटु चीमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई ।

पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरोस-नहेरोस । पार्कमा मेरो छेउछाउ अरु कोही नभएकोले उसले मलाई नै हेरेको हुनुपर्थ्यो । नदेखेको जस्तो गरिदिएँ। हिजो राती अचानक बिजुलिको झड़का लागेकोले एउटा हातले उतिसारो काम गरिरहेको थिएन । तैपनी झोलाबाट जुसको बोतल झिकें र त्यही हातले बिर्को घुमाएँ । निद्रामा दूध चुसेको बच्चालेजस्तो काम गरे-नगरेको चाल पाएन। हात हेरें । बच्चाजस्तो मायालाग्दो थिएन । मुठ्ठीका प्राय: जोर्नीहरुमा घाऊ लागेको थियो । असलमा घाऊ त अनुभूत हुँदो रहेछ । लागेको घाऊ त समयांतरसंगै पुरिन्छ । असल र मीठा कुरा त मेटिदै जान्छन् नि । आमाले भनेर भात पकाउनको लागि दाउरा चिर्दा उठेको हत्केलाको ठेला नमेटीएको भए अहिले कती मीठो हुँदो हो ! तर आज पहिलो पटक आफ्नो माया लागेको थियो यसरी । आफैलाई माया गर्दोरहेछु भनेर थाहा पाउंदा पनि आनन्द आउदो रहेछ ।

दिउसो समुन्द्रको किनारमा गएको थिएँ । बलियो छाल किनारमा आउथ्यो र कमजोर बालुवालाई लघार्थ्यो । मान्छेहरु खुट्टामा लामा तैरिने वस्तु जोडेर छालसंग जिस्किन्थे । मान्छेहरु बलिया थिए या छालहरू मलाई अनुमान लगाउन गाह्रो पर्थ्यो । कहिले पानी, कहिले मान्छे तल-माथी परीरहन्थे । कुन साहसी हुन् त्यो पनि मैले अनुमान लगाउन सकिनँ मलाई दुबिधा छ- शिंहसंग लड़ेर मर्ने बहादुर हो की, ज्यान जोगाउन रुख चढ़ने । मान्छेहरु पक्कै पनि खुसी थिए होलान् । त्यसैले युद्ध तिनिहरू नै जित्दाहुन् । समुन्द्र पस्न डराउने हो भने घाम त आख़िर सहनै पर्छ किनारामा । मलाई अझै स्पस्ट छैन- समुन्द्र पस्ने साहसी हुन् की घाम खप्ने । मैले आफूलाई बिशाल समुन्द्रको किनारामा उभ्याएको छू । र हेर्दै छू रमिता । बनिरहेको छू रमिता । घरीघरी निरीह पाएको छू आफूलाई । साच्चै यो मानवसमाज निरिहहरुको लागि त्यही निर्जिब, निस्मायी समुन्द्रजस्तै हो र ? नहुन पर्ने । तर अरुमाथि पौडी खेल्न चाहने मान्छेको स्वाभाव नै त हो नि । के मान्छेले मलाई छालले जस्तै निर्मम हुत्याउन हुन्थ्यो?

मान्छेको हुल पहिलोपटक बिदेसमा निर्जन लाग्दै थियो । धेरैलाई मैले चिन्नूपर्ने आबश्यकता थियो । थोरैले मलाई चिने । बुझ्ने गरी चिनिन प्राय: इन्कार गरिएँ म । लाग्यो यो बिदेस भन्दा बढ़ी परदेस पो हो । मलाई नेपाली मान्छे हुनुको गौरव हराएर जाला भनेर डर लाग्यो । कल्पनासुन्य भएर टोलाएँ केहिबेर । फेरी कताबाट बेगिएर आयो एउटा कल्पना र पछारियो अन्त:करणमा- कतै मान्छेको आँसुले बनेको त हैन यो समुन्द्र ? ऊ बेला श्रबणकुमारका बाबुआमाको आँसुले बनेको आंधिखोला हाम्रोमा पनि त छ । हाम्रोमा डांडाकांडा छ र पो त्यों खोला बनेको त । यस्तै समथर हुँदो हो त समुन्द्रै बन्थ्यो नि । फेरि यो नूनिलो पनि त छ । मानवीय सम्बन्ध नभएर पैसाको नाता हुने यो ठाऊंका मान्छे नरोए को रोए होलान् र ? गजव लाग्यो यस्तो सम्झंदा । पर्वते चित्रकार गणेशकुमार हुन्थ्यो भने मेरो अनुहारको प्रसन्नताको रेखा अरुलेभन्दा गजवसंग उतार्थ्यो होला क्यानभासमा । तर त्यसले मेरो रेखाकृति मभन्दा पनि कालो बनाउंदो हो । मलाई कालो भनेर जिस्काउन पाए ऊ खुसीले सेतो हुन्छ ।

आंधिखोला सम्झंदा अतीत पनि संगसंगै पस्न खोज्यो स्मृतिको ढोकाबाट । मैले बल्जफ्ती घचेटिदिएँ बाहिर । मलाई पटक्कै मन पर्दैन त्यो उल्टो अतीत । त्यसले मलाई हातमा निस्कने ठेला र घाऊ दु:ख हुन् भनेर सिकायो । पसीना निसृत हुनमा पाइने सुख अल्लारिदै बेकाम डांडापाखा, चौतारी डुल्नुमा कहाँ रहेछ र ? जे होस यो बिरानो भूमीले आफ्नै पाखुरिमा बाँच्न संघर्ष गर्ने जिन्दगी सिकाएको छ । स्थानसापेक्ष व्यक्तित्व बन्दोरहेछ दुनियामा । यस्तै भूमिमा भएको भए म पनि डार्बिनको पनाती हुन्थें होला । आफ्नो असली औकात थाहा पाउनु सायद जिन्दगीको ठुलो उपलब्धि हो । आँखा उठाएर केही पर हेरें, समुन्द्र बिजुली बत्तीको प्रकाशले एकतमासको नीलो अनि कालो देखियो । अहिले भने मन केहि ओभानो भएजस्तो सीतल मिल्यो । टोपी फुकालेर मुख पुछें । पसिनाको गन्ध ह्वास्स नाकमा पस्यो । दिउस हात काट्दा पनि यही टोपीले मुख पुछेको थिएँ । रगत-पसिनाको नुनिलो गन्ध मीठो लाग्यो मलाई । फेरि कल्पनाहरू मडारिन थाले मगजमा- यो समुन्द्र कहाँ आँसुले मात्रै बनेको होला र ? मैले समुन्द्रमा आंसुभन्दा बेसी सायद रगत-पसिनाको रंग देखें एतिबेला । सम्झें- हामीले रुन जान्यौं, आँसु, रगत र पसीनाको मूल्य जानेनौं । त्यसैले आंधीखोलामा अचेल त्यो आँसु, रगत र पसिनाको रंग मात्रै छ । गन्ध हराउदै गएको छ । बिशाल आंधिखोला पनि यहीं समुन्द्रमा बिलिन हुदै देखेर म लाटो भएँ ।

नेपाल छोडेर हिंड्दा अनौठो अनुभूतिले म भावरहित झै भएको थिएँ । हास्ने हो की रुने मैले केही सोच्ने क्षमता गुमाएको थिएँ । डोली अन्माउन लागेको बेहुलिलाई सायद यस्तै हुन्छ । यस्तो खुसी हुन्छ या दु:ख मैले दुलहिलाई सोध्ने मौका पर्खेर बसेको छु । बिमानस्थलमा बिदाई गर्न आएका आफन्तजन छोरी डोली चढाएपछिका माइतीजस्ता देखिन्थे । सायद तिनिहरुमा पनि ममाजस्तै गुज्रीईरहेको हुनुपर्थ्यो । विमान उडिसकेपछि भने मैले उनिहरुको अवस्था याद गर्ने फुर्सद नै पाइन । झ्यालबाट हेर्दा मेरी आमाका थरिथरिका मुहारको कल्पना आउथ्यो । कतिबेला तिनको अनुहार आसाले धप्प बलेकोजस्तो देख्थे । कतिबेला न्यानो काखले धिक्कारेजस्तो लाग्थ्यो । आमाकै काखमा पनि अबसर र चुनौतीको कमी थिएन सायद । मैले नै तिनलाई चिन्न सकिनजस्तो अनुभूति हुन्थ्यो कतिकति बेला । मैले मेरी आमालाई त्यो बेला जस्तो राम्री अरुबेला देखेको थीईन । त्यही अनुहारको सम्झनाले बेचैन गरिरहन्छ मलाई । बेचैनी बाच्नुको अर्को रूप हो । मान्छेले चैन बांच्दैन, म यतिकुरा ठोकेर भन्नसक्छु अब ।

बाटोमा मोटरगाडीहरु पातलिँदै गएको आभास हुन थाल्यो । गाडीहरु ढिलो गरी आउथे तर चर्को आवाज गर्थे । किराहरू कराउन थाले । किराहरू सायद दिउसमा पनि कराउंदा हुन् । अहिले भने ति कराएको सुनिन्थ्यो । छालहरू गर्जिएजस्तो लाग्न थाल्यो । आफैले सास फेरेको आवाज जिन्दगीमा मैले पहिलो पटक सुनेको थिएँ । बाँच्दै रहेछु भन्ने अनुभूति मिठो लाग्यो । अचानक मलाई उसको याद आयो । सायद उ तिर्खाएको मलाई पानी दिन सक्थी । मैले पनि चाहिंदा मात्रै मान्छे देख्ने रहेछु, चिन्ने रहेछु । अनुभूति अनौठो लागेन । मैले देखें- पछाडीपट्टीको बेन्चमा उ ब्यस्त थिई । मैले उसको साथिको कैलो कपाल मात्र पहेंलो बत्तीको सहारामा देख्न सकें । अध्यारोमा उसका साथीका खैरा आँखा बिरालुको जस्तै भयरहित टल्कीरहेका थिए । पानी माग्ने अधिकार मैले गुमाईसकेको थिएँ । म उठें । उसले मलाई परिचित आँखाले हेरी । ऊ मलाई मेरी बहिनी जस्तो त पटक्कै लागेन । कोठा खासै टाढा थिएन । सिडनीमा घरकै क्षेत्रफलको हाराहारीमा पार्क होलान् भनेर मा छक्क परें । हरियो वनसम्बन्धी हाम्रो उखान सम्झिएछु । लाज लागेको अनुभूतिले सायद म रातो भएको थिएँ । पार्कमा ऐना थिएन ।

कोठा अस्तब्यस्त थियो । कोठामा पस्दासाथ लुकाउन कुनामा राखेका अनगिन्ति शैक्षिक योग्यताका प्रमाणपत्रहरु पाहिले नै तछाडमछाड गर्दै आँखामा पसे । तिनीहरूले आज पनि काम नपाएको मेरो बिबशता जान्दथे । तिनीहरूसामू हिजोअस्तीजस्तै नतमस्तक बनें । क़लेज फी कसरी तिर्ने होला? मगज भक्भकी उम्ल्यो । ऋण सम्झें । छातिमा फलामले बेस्करी अठाएजस्तो लाग्यो । म उफ्रिएँ- 'अधुरो छौ तिमीहरु, अपूरो छौ ।' उचालेर फालिदिएँ भुईभरी । तर तिनीहरूले मलाई सरमलाग्दो गरी कुरिकुरी गरे मानौ रिसले खुट्टा बजार्दा मेरा हरका लुगाहरू एकेक गरी जमिनमा थुप्रिएका छन् । अनायासै म निहुरिएँ । एकएक गरेर हेरें तिनिहरुलाई । देशमै राजनितिक नियुक्तिमा पर्ने योग्यताको प्रमाणपत्र थिएन त्यो हुलमा । 'बिदेसमा काम पाउने सिप जानेको छु' तिमध्ये कसैले पनि भन्न सकेनन् । घरबेटीले झुंडाइदीएको ऐनामा मेरो अनुहार साँच्चै निरीह र मायालाग्दो देखियो । प्रमाणपत्रहरुको अग्रभाग ओगटेको स्नातकोत्तर उपाधिको प्रथम श्रेणीको मार्कशीटमा मेरो फोटो कुन्नी किन अझै पनि गम्भिर अनि आशा र कर्तब्यवोधले धपक्क बलेकै देखिन्थ्यो ।

                                                                     समाप्त

Popular posts from this blog

कथा- परदेश